सुन र पैसाको लोभमा वृद्ध र एकल महिला छानी–छानी हत्या गर्ने गिरोहको पर्दाफास, यसरी भयो ३ महिनामा ३ बीभत्स हत्या

ओखलढुंगामा लुटपाटको उद्देश्यसहित शृंखलाबद्ध रूपमा हत्या गर्दै आएको संगठित गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त अनुसन्धानबाट तीन महिनाभित्र तीन जनाको बीभत्स हत्या गरेको चार जनाको गिरोह पक्राउ परेको हो।

पक्राउ पर्नेहरूमा चिशंखुगढी गाउँपालिका–३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, चिशंखुगढी–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८ माम्खाका ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन्। विनोद राईलाई शुक्रबार दियालेबाट पक्राउ गरिएको थियो भने अन्य तीन जनालाई शनिबार राति माटे क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अनुसन्धानअनुसार यो गिरोहले गत पुस १५ गते राति चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको निर्मम हत्या गरेको थियो। दम्पतीमाथि कोदालो तथा अन्य धारिलो हतियार प्रयोग गरी कन्चट र कानको भागमा प्रहार गरिएको थियो। हत्या पश्चात् शव गोठमा लगेर स्याउलाले छोपिएको र पसल तथा घरबाट करिब एक लाख रुपैयाँ नगद, दुई तोला सुनका गरगहना र करिब छ तोला काँचो सुन लुटेर अभियुक्त फरार भएको अनुसन्धानबाट खुलेको छ।

यस घटनाको गहिरो अनुसन्धानकै क्रममा अभियुक्तहरूले तीन महिनाअघि अर्काे हत्या पनि गरेको स्वीकार गरेका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी मदन केशीका अनुसार गत असोज २६ गते राति सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला ५२ वर्षीया रत्नकुमारी कटवालको पनि यो गिरोहले हत्या गरेको पुष्टि भएको छ। कटवालमाथि बन्चरो प्रहार गरी हत्या गरी नगद र सुनका गरगहना लुटिएको थियो।

प्रहरीले अभियुक्तहरूको साथबाट चार्खु घटनामा प्रयोग गरिएको बन्चरो, लुटिएको सुन गालेर बनाइएको औंठी, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक, मोबाइल फोनलगायत सामग्री बरामद गरेको छ। बरामद सामग्री र अभियुक्तका मोबाइलहरू फरेन्सिक तथा प्राविधिक परीक्षणमा रहेको र थप अनुसन्धानका लागि म्याद थप गरी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानले अभियुक्तहरूको मुख्य उद्देश्य धनमाल लुट्ने रहेको देखाएको छ। उनीहरू मादक पदार्थ सेवन गर्ने, आर्थिक रूपमा कमजोर अवस्था रहेको र सुन–पैसा हुने, एक्लो वा वृद्ध दम्पती बस्ने घर पहिचान गरेर योजनाबद्ध रूपमा हत्या गर्ने गरेको प्रहरीको निष्कर्ष छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार अभियुक्तहरूले सम्भावित लक्ष्यका फोटोसमेत संकलन गरेको प्रमाण भेटिएको छ, जसले उनीहरू थप अपराधको तयारीमा रहेको संकेत गर्दछ।

लगातारको हत्या र लुटपाटपछि ओखलढुंगाका विभिन्न बस्तीमा गहिरो त्रास फैलिएको थियो। प्रहरीले गिरोह नै नियन्त्रणमा लिइसकेको भन्दै अब जिल्लामा सुरक्षा अवस्था क्रमशः सहज हुने विश्वास व्यक्त गरेको छ। तथापि, यसरी ग्रामीण क्षेत्रमा लगातार जघन्य अपराध हुनु सुरक्षा संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाउने विषय बनेको स्थानीयको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट