‘गरिबलाई राजनीतिमा ल्याए भ्रष्टाचार गर्छन’ भन्ने रास्वपा नेतृ विनिता कठायतको विवादास्पद अभिव्यक्तिले सामाजिक तनाव बढायो

राजविराज— ‘पैसा नभएकालाई राजनीतिमा ल्याएपछि घुस खान्छन्, त्यसमा गुनासो गर्न आवश्यक छैन’ भन्ने आशयको अभिव्यक्ति सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा निवर्तमान सांसद विनिता कठायत तीव्र विवादमा तानिएकी छन्।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त भीडीओले उनको व्यक्तिगत विचार मात्र होइन, रास्वपाले दाबी गर्दै आएको ‘वैकल्पिक राजनीति’को नैतिक धरातलमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।

कठायतले च्यातिएका चप्पल लगाउने र घरमा भात खान नपाउने अवस्थाका मानिसलाई राजनीतिमा ल्याउँदा उनीहरू घुसतर्फ उन्मुख हुने दाबी गर्दै त्यसपछि भ्रष्टाचार भयो भनेर गुनासो गर्नु निरर्थक हुने टिप्पणी गरेकी छन्। उनले उल्टै आफूजस्ता आर्थिक रूपमा सबल, विभिन्न क्षेत्रमा लगानी गरेका व्यक्तिहरू राजनीतिमा आए मात्र घुस नखाने तर्क प्रस्तुत गरेकी छन्। गरिबीलाई नै भ्रष्टाचारको कारणका रूपमा चित्रण गर्ने यो अभिव्यक्तिलाई धेरैले वर्गीय घमण्ड र सामाजिक विभाजनलाई वैधता दिने खतरनाक सोचका रूपमा व्याख्या गरेका छन्।

नेपालजस्तो गरिबी, बेरोजगारी र असमानतासँग जुधिरहेको मुलुकमा यस्तो अभिव्यक्तिले राजनीतिक नैतिकताको मापदण्ड झन् कमजोर बनाउने टिप्पणी भइरहेको छ। सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले ‘गरिब जन्मिनु अपराध होइन, भ्रष्टाचार सोचको उपज हो’ भन्दै कठायतको भनाइको कडा आलोचना गरेका छन्। कतिपयले रास्वपाले ‘जान्नेलाई छान्ने’ नारा अघि सारे पनि व्यवहारमा वर्गीय दृष्टिकोण बोकेको नेतृत्व अघि सारिएको आरोप लगाएका छन्।

यो विवाद यतिमै सीमित छैन। यसअघि एक पोडकास्ट अन्तर्वार्तामा ‘मेरो ब्वाइफ्रेण्ड छ तर बिहे गर्दिन’ र विवाह नगरी बच्चा जन्माउने सम्भावनाबारे बोलेपछि पनि विनिता आलोचनामा परेकी थिइन्। सार्वजनिक पदमा बसेको व्यक्तिले निजी जीवनका विषयलाई यसरी प्रस्तुत गर्नु अराजकता फैलाउने अभिव्यक्ति भएको भन्दै सामाजिक सञ्जालमा व्यापक टिप्पणी भएको थियो।

कतिपयले यसलाई व्यक्तिगत स्वतन्त्रताको विषय भने। तर, अधिकांशले भने धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सामाजिक संस्था मानिने विवाहलाई यति सस्तो रुपमा प्रस्तुत गर्नु सार्वजनिक व्यक्तित्वको हैसियतले बोलीको जिम्मेवारी बिर्सिएको आरोप लगाएका थिए।

विनिता कठायतको जीवनयात्रा भने सामान्य छैन। जुम्लामा जन्मिए पनि काठमाडौँमा हुर्किएकी उनी फिल्ममेकिङ अध्ययनका लागि भारत पुगिन्, सिनेमा र टेलिभिजन क्षेत्रमा सक्रिय रहिन्। ग्यालेक्सी टेलिभिजनमा काम गर्ने क्रममा रवि लामिछानेसँग नजिकिएकी उनी रास्वपा गठनसँगै राजनीतिमा प्रवेश गरिन्। समानुपातिक प्रणालीमार्फत सांसद बनेकी उनले आफू आकस्मिक रूपमा राजनीतिमा आएको र सांसद भएपछि व्यवस्थाको यथार्थ बुझेको बताउँदै आएकी छन्।

सांसद बनेपछि कर्णालीको आवाज बुलन्द गर्ने सपना देखेकी कठायतले संसद्भित्र र बाहिर खरो अभिव्यक्ति दिँदै आएको दाबी गरे पनि पछिल्ला विवादहरूले उनको छविलाई गम्भीर धक्का पुर्‍याएको छ। विशेषतः गरिबी र भ्रष्टाचारलाई एउटै तराजुमा जोडेपछि उनले प्रतिनिधित्व गर्ने भनिएको अल्पसंख्यक र पिछडिएको वर्ग नै आहत बनेको देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो प्रकरण केवल एक नेतृको विवादास्पद अभिव्यक्ति मात्र होइन, नयाँ भनिने राजनीतिक शक्तिहरूभित्र लुकेको वर्गीय सोचको झल्को पनि हो। भ्रष्टाचारको मूल कारण प्रणाली, राजनीतिक संरक्षण र दण्डहीनता हो कि आर्थिक अवस्था ? भन्दै धेरैले प्रश्न उठाएका छन्।

विनिता कठायतमाथि उठेको प्रश्न अब व्यक्तिगत सीमाभन्दा बाहिर गएको छ। प्रश्न रास्वपामाथि पनि छ। के पार्टी साँच्चिकै सबै वर्गको प्रतिनिधित्व गर्ने वैकल्पिक शक्ति हो, कि आर्थिक हैसियतका आधारमा नैतिकता मापन गर्ने पुरानै सोचको नयाँ संस्करण? यो विवादले रास्वपाको राजनीतिक यात्रा र विश्वसनीयतामाथि दीर्घकालीन प्रभाव पार्ने संकेत देखिन थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट