हर्क साम्पाङको पार्टीका जिल्लासचित परस्त्रीसँग रङ्गेहात पक्राउ, ‘कान्छी श्रीमती’ स्वीकारेपछि रिहा
विराटनगर — हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका भोजपुर जिल्ला सचिव भीम राई एक विवाहित महिलासहित शंकास्पद अवस्थामा फेला परेका छन्। सोही अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएर एक रात हिरासतमा राखेको घटना सार्वजनिक भएको छ।
भोजपुर नगरपालिका–१० का स्थायी बासिन्दा राईलाई महिलाका आफन्तले देउराली प्रहरी चौकीमा बुझाएका थिए। ती महिलाका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने राई स्वयं पनि विवाहित व्यक्ति हुन्।
इलाका प्रहरी कार्यालय दिङ्लाका अनुसार २२ वर्षीया महिलासँग राईको पुरानो चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। महिलाका आफन्तले शंकास्पद गतिविधि देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुवैजनालाई दिङ्ला इप्रकाको हिरासतमा एक रात राखेर परिवार तथा आफन्तको जिम्मा लगाई छाडिएको इन्स्पेक्टर नवराज खड्काले जानकारी दिए।
प्रहरी कार्यालय बाहिर भएको छलफलका क्रममा राईले ती महिलालाई ‘कान्छी श्रीमती’को रूपमा स्वीकार गरेको बताएपछि महिलाका आफन्तले थप उजुरी नगरी जिम्मा लिएको बताइएको छ। सो स्वीकारोक्तिपछि तत्काल कुनै फौजदारी मुद्दा दर्ता नभई दुवै पक्षलाई आफन्तको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ।
घटना बाहिरिएसँगै पार्टीभित्र पनि तरंग उत्पन्न भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै घटनाबारे जानकारी लिइसकेको र सम्बन्धित व्यक्तिलाई सम्पर्क गरेर पार्टी विधानअनुसार आवश्यक कारबाही गरिने बताएका छन्।
उनले यो व्यक्तिगत गल्ती भएको र संगठनको कुनै निर्देशन वा नीतिसँग यसको सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। पार्टीको नाम र मर्यादामा आँच आउने कुनै गतिविधि स्वीकार्य नहुने संकेतसमेत अध्यक्ष साम्पाङले दिएका छन्।
स्थानीयस्तर र सामाजिक सञ्जालमा घटनाले व्यापक चर्चा पाएको छ। जिम्मेवार राजनीतिक पदमा रहेका व्यक्तिबाट आएको यो प्रकरणले श्रम संस्कृति पार्टीको नैतिक मापदण्ड र आन्तरिक अनुशासनमाथि प्रश्न उठाएको छ।

