सिरहामा ऐलानी जग्गा खाली गराउने क्रममा अजमुद्दीन शेखको मृत्यु, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

लहान– सिरहाको कर्जन्हा नगरपालिका–१० अन्तर्गत मनहर्वा चोक–पर्याकपुर क्षेत्रमा सार्वजनिक (ऐलानी) जग्गा खाली गराउने क्रममा एक जनाको ज्यान गएको छ। करिब ३५ वर्षदेखि सो स्थानमा बसोबास गर्दै आएका स्थानीय अजमुद्दीन शेखको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्, जसका कारण सयौँ सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन्।

प्रहरीका अनुसार, सार्वजनिक जग्गामा संरचना निर्माण भइरहेको भन्दै स्थानीयकै उजुरीपछि अदालतमा रिट दायर भएको थियो। अदालतले उक्त स्थानमा कुनै पनि भौतिक संरचना निर्माण नगर्न आदेश दिएपछि निर्णय कार्यान्वयनका लागि आइतबार दिउँसो प्रहरी पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेश पालले सम्झाइबुझाइ गरेर फर्कने क्रममा शेख अचानक लडेको र त्यसै क्रममा उनको मृत्यु भएको दाबी गरेका छन्।

तर घटनाको प्रत्यक्षदर्शी र स्थानीयको आरोप भने फरक छ। उनीहरूका अनुसार प्रहरी र केही प्रभावशाली छिमेकी व्यक्तिहरू मिलेर जबरजस्ती संरचना हटाउने प्रयास गर्दा धक्का–मुक्की भएको थियो। सोही क्रममा अजमुद्दीन शेखमाथि कुटपिट भएको र त्यसै कारण उनको मृत्यु भएको स्थानीयको आरोप छ। स्थानीयले रकमको चलखेलमा प्रशासन प्रयोग गरिएको दाबीसमेत गरेका छन्।

अझ गम्भीर कुरा के छ भने, कर्जन्हा नगरपालिकाका प्रमुख भोला पोखरेल र वडा अध्यक्ष सागिर मिया शेख दुवैले यसबारे आफूहरूलाई कुनै जानकारी नआएको बताएका छन्। सार्वजनिक जग्गा, अदालतको आदेश र प्रहरी परिचालनजस्तो संवेदनशील विषयमा स्थानीय सरकारलाई नै बेखबर राखेर कारबाही हुनु प्रशासनिक गैरजिम्मेवारीको गम्भीर उदाहरण बनेको छ।

मृतकका आफन्तका अनुसार, ऐलानी जग्गामा दशकौँदेखि सुकुम्बासीका रूपमा बस्दै आएका परिवारहरूले पछिल्लो समय फुसको घरलाई पक्की बनाउँदै थिए। तर पछाडिको जमिनका केही व्यक्तिले घर बनाउन नदिन दबाब दिँदै आएका थिए। अदालतबाट काम रोक्ने आदेश आए पनि, प्रहरीकै उपस्थितिमा संरचना तोडफोड भएको र रोक्न खोज्दा अजमुद्दीनमाथि कुटपिट भएको उनीहरूको भनाइ छ।

घटनापछि आक्रोशित भीडले राजमार्गमै शव राखेर चक्काजाम गरेपछि स्थिति तनावग्रस्त बनेको छ। प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको भए पनि स्थानीयको आक्रोश नियन्त्रणमा आउन सकेको छैन। इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीले घटनामा संलग्नहरूको खोजी, अनुसन्धान र अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट