त्रासको भुमरीमा फस्यो ओखलढुङ्गाः एक महिनामै फेरि दोहोरियो वृद्ध दम्पतीको लुटपाटपछि हत्या

ओखलढुङ्गा — ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा एक महिनाको अन्तरालमै पुनः वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ। गत पुसमा मगर दम्पतीको हत्या भएको घटनाको घाउ अझै खाटा नबस्दै सोही वडामा राई दम्पतीको उस्तै प्रकृतिमा हत्या भएको छ।

भदौरे–६ को बोहोरे टोलमा बस्दै आएका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी अन्दाजी ८० वर्षीया पत्नी चन्द्रमाया राईको गएराति अज्ञात समूहले हत्या गरेको हो। स्थानीयका अनुसार किराना पसल सञ्चालन गर्दै आएका वृद्ध दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार राई दम्पतीको शव घरको दोस्रो तलास्थित सुत्ने कोठामा फेला परेको हो। श्रीमान चन्द्रविक्रम राईको शव खाटमै सिरक ओढिएको अवस्थामा भेटिएको थियो भने श्रीमती चन्द्रमाया राईको शव खाटको छेउमा भुइँमा, सिरकले छोपिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको प्रकृतिले योजनाबद्ध रूपमा हत्या गरिएको संकेत गर्ने प्रहरीको प्रारम्भिक आकलन छ।

आज बिहान करिब ७ बजेर ४० मिनेट जाँदा प्रहरी चौकी निशंखेमा घटनाबारे सूचना पुगेको थियो। सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको र क्षेत्रलाई नियन्त्रणमा लिई सुरक्षा व्यवस्था कडा बनाइएको डीएसपी मदन केसीले जानकारी दिए। उनका अनुसार घटनास्थल सुरक्षित राखिएको छ र थप अनुसन्धानका लागि आवश्यक प्रहरी परिचालन गरिएको छ।

भदौरे क्षेत्र यसअघि पनि यस्तै घटनाले तर्सिएको थियो। गत १५ पुसमा सोही वडाको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो। त्यसअघि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को हत्या भएको थियो। ती घटनामा संलग्न भएको आरोपमा मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ परेर अनुसन्धानको दायरामा छन्।

लगातार उस्तै प्रकृतिका हत्याका घटनाहरू दोहोरिनुले ओखलढुङ्गामा शृंखलाबद्ध अपराधको आशंका बलियो बन्दै गएको छ। एकपछि अर्को गर्दै वृद्ध र एकल व्यक्तिलाई लक्षित गरी लुटपाटपछि हत्या भइरहँदा आमनागरिकमा गहिरो त्रास फैलिएको छ। स्थानीयवासीले गाउँघरमा नागरिकको ज्यानै सुरक्षित नहुने अवस्था सिर्जना भएको भन्दै दोषी तत्काल पहिचान गरी कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।

शान्त क्षेत्रका रूपमा चिनिँदै आएको ओखलढुङ्गामा लगातार भइरहेका यस्ता जघन्य घटनाले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीले घटनाको पर्दाफास चाँडै गर्ने दाबी गरे पनि स्थानीय भने अब अर्को घटना नदोहोरियोस् भन्ने आशामा रात काट्न बाध्य छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट