एमाले वडाध्यक्षको घर जलाउने महिलाको घरमा बालेनको कार्यालय, सिंहदरबार जलाउने युवती श्रीमतीसँगै भोट माग्दै

राजविराज — प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) साहको चुनावी प्रचार अभियान दिनप्रतिदिन नयाँ विवादको घेरामा पर्दै गएको छ।

झापामा श्रीमती सविना काफ्लेको नेतृत्वमा घरदैलो अभियान चलिरहँदा स्वयं बालेन भने झापाबाट फर्केर सुदूरपश्चिम र कर्णालीमा कार्यक्रम गर्दै ‘हात हल्लाउँदै’ घुमिरहेका छन्। यहीबीच झापा–५ को प्रचारसँग जोडिएका केही पात्र र गतिविधिले गम्भीर प्रश्नहरू जन्माएका छन्।

सविना काफ्लेको टोलीसँगै भोट माग्दै हिँड्ने स्थानीय एक महिलालाई लिएर दमक क्षेत्रमा व्यापक चर्चा सुरु भएको छ। ती महिला लक्की सिटौला नै भएको दाबी गरिएको छ, जसले भदौ २४ गतेको विध्वंसका क्रममा दमक नगरपालिका–१ का एमाले वडाध्यक्ष हरि न्यौपानेको घरमा आगजनी गराउने घटनाको नेतृत्व गरेको आरोप खेपिरहेकी छन्। यससँगै अर्को तथ्यले विवादलाई झन् चर्काएको छ—उनीकै घरमा अहिले बालेन साहको सम्पर्क कार्यालय सञ्चालनमा रहेको बताइन्छ।

यसैसँग जोडिएको अर्को प्रसंगमा, बालेनको प्रचारमा संलग्न अर्को महिलाको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ, जहाँ उनी सिंहदरबारमा आगजनीपछि मूलगेटअगाडि सेल्फी खिच्दै रमाएको देखिन्छ। यस्ता दृश्यहरू सार्वजनिक भइरहँदा बालेन साहको अभियानमा संलग्न व्यक्तिहरूको पृष्ठभूमिबारे प्रश्न उठ्नु स्वाभाविक बनेको छ।

यही पृष्ठभूमिमा ‘अरूलाई प्रश्न गर्ने तर आफूचाहिँ जवाफदेही नबन्ने?’ भन्ने आलोचना पनि चर्किएको छ। सामाजिक सञ्जालमा तीव्र उपस्थिति जनाउँदै अरूलाई कठोर प्रश्न गर्ने बालेनमाथि आफू र आफ्नो टोलीसँग जोडिएका यस्ता आरोपमा किन मौन भन्ने प्रश्न उठाइएको छ। भावी प्रधानमन्त्रीका दाबेदारका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका बालेनमाथि उठेका यिनै प्रश्नमा उनी जवाफ दिनबाट पन्छिएको आरोप लाग्दै आएको छ।

चुनावी प्रचारका क्रममा बालेन आठ करोड मूल्य पर्ने ल्यान्ड रोभर डिफेन्डर गाडीमा यात्रा गरिरहेको विषयले पनि विवाद थपेको छ। बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको उक्त कालो डिफेन्डर त्रिमूर्ति इण्डष्ट्रिज प्रा.लि.का कमलकिशोर मालपानीको नाममा दर्ता रहेको खुलेपछि यसबारे प्रश्न गर्दा पत्रकारमाथि आक्रोश पोखिएको आरोप छ। ‘यही हो गाडी’ भन्दै पत्रकारलाई हप्काएको घटनाले पारदर्शितामाथि थप प्रश्न खडा गराएको छ।

स्रोतका अनुसार उक्त गाडी ‘उपहार’ वा ‘जबरजस्ती’ प्रयोगमा ल्याइएको विषयमा भित्री असन्तोष छ। मालपानीले नदिने भनेको गाडी बालेनको समूहले दबाब दिएर लिएको दाबी गरिएको छ। चुनावताका तोडफोडको जोखिम देखाएर अन्य गाडी प्रयोग गर्न सुझाए पनि नमानेको, ‘भावी प्रधानमन्त्री जस्तो मान्छेले जस्तो पायो त्यस्तो गाडी चढ्छ?’ भन्दै जबरजस्ती लगिएको आरोप स्रोतले लगाएका छन्।

गाडीको सेटिङ मिलाउन बिचौलिया दिपक भट्टको भूमिका रहेको र यशोदा फुड्सका सीईओ रघुनाथ घिमिरेमार्फत दबाब परेको दाबी पनि सार्वजनिक छन्। यिनै कारणले मालपानी तनावमा परेको र गाडी प्रयोगपछि उनका व्यापारिक काण्डहरू सार्वजनिक हुँदै गएको चर्चा छ, जसमा अन्तःशुल्क तथा राजस्व ठगी र नक्कली स्टिकर प्रयोगका मुद्दाहरू पनि उल्लेख गरिन्छ।

यता, बालेन साह सुदूरपश्चिमबाट कर्णाली प्रवेश गर्ने कार्यक्रमअनुसार अछामपछि कालिकोटको मान्म, दैलेख र सुर्खेत पुग्दैछन्। उनको रात्रिबास वीरेन्द्रनगरमा हुने बताइएको छ। तर झापा–५ मा भने पत्नी सविना काफ्ले नेतृत्वको टोली, आगजनी आरोप खेपिरहेकी महिलाको घरमा खुलेको सम्पर्क कार्यालय र सिंहदरबार आगजनीसँग जोडिएका तस्बिरहरूले बालेनको चुनावी अभियानमाथि गहिरो प्रश्नचिह्न खडा गरिदिएको छ।

आरोपहरूको सत्यता र घटनाक्रमबारे बालेन साह, सविना काफ्ले वा रास्वपाको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। तर झापा–५ मा चुनावी तापक्रम चर्किँदै जाँदा यी विवादहरूले बालेन साहको ‘नयाँ राजनीति’को दाबी कत्तिको विश्वसनीय छ ? भन्ने बहसलाई केन्द्रमा ल्याइदिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट