काठमाडौंमा सुन चोरीको आतंकः श्रृंखलाबद्ध चोरीका मुख्य खेलाडीमाथि प्रहरीको गोली, ६५ तोला सुनसहित पक्राउ
काठमाडौँ– काठमाडौं उपत्यकामा पछिल्लो समय लगातार बढिरहेका सुन तथा गरगहना चोरीका घटनाले सर्वसाधारण त्रसित भइरहेका बेला प्रहरीले विशेष अपरेसन चलाएर एक जना मुख्य आरोपीलाई गोली प्रहार गरेर पक्राउ गरेको छ।
महानगरपालिका–६ टुसालस्थित रिन्जी लामाको घरबाट एक करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुनचाँदी चोरी भएको घटनाबाट सुरु भएको अनुसन्धान अन्ततः नागार्जुन नगरपालिका–६ महाँकालसम्म पुगेर नाटकीय मोडमा टुंगिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार गएराति विशेष सूचनाको आधारमा खटिएको टोलीले चोरीमा संलग्न प्रेम थारू उर्फ प्रेम चौधरीलाई पक्राउ गरेको हो। बाँके÷नेपालगञ्ज घर भएका ती व्यक्ति उपत्यकाभरि भएका श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेको प्रहरीको दाबी छ।
प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनी भाग्न खोजेका मात्र होइन, उल्टै प्रतिरोधमा उत्रिएपछि परिस्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको थापाले बताए। गोली उनको खुट्टामा लागेको छ र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीको विवरण अझै चकित पार्ने खालको छ। मंगलबार मध्यान्ह टुसालस्थित रिन्जी लामाको घरबाट करिब ३० तोला सुन, चाँदीका गहना र नगदसहित कुल १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरी गरिएको थियो। घटनापछि सुरु भएको निगरानी र प्राविधिक विश्लेषणबाट आरोपीको गतिविधि ट्रयाक गर्दै प्रहरी नागार्जुन पुगेको थियो।
पक्राउको क्रममा उनीबाट ६५ तोला सुन, केही चाँदी, नगद रकम र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाक्रम केवल एउटा चोरीमा सीमित नरहेको प्रहरीको भनाइ छ। भोटेबहालमा २५ तोला सुन चोरी, बौद्ध टुसालमा एक करोडभन्दा बढीको गरगहना गायब, कालिमाटी र ललितपुरका विभिन्न घरमा नगद तथा बहुमूल्य सामग्री चोरी—यी सबै घटनाको डोरो एउटै व्यक्तिसँग जोडिएको आशंका गरिएको छ।
अर्थात् उपत्यकामा केही समयदेखि सक्रिय ‘मोबाइल चोरी गिरोह’ जस्तै शैलीमा घर–घर लक्षित गर्दै सुनकै सिकार गर्ने समूह सकृय रहेको संकेत प्रहरी अनुसन्धानले दिएको छ। पक्राउको क्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएका छन्।
प्रहरी अधिकारीहरूका अनुसार आरोपीले घरहरू रेकी गरेर दिउँसो र राति फरक–फरक समयमा सुन लक्षित गर्दै चोरी गर्ने, सामग्री तुरुन्तै बेच्ने वा लुकाउने र स्थान परिवर्तन गर्ने रणनीति अपनाउँदै आएको थियो।
प्रहरीले पक्राउ परेका आरोपीमाथि संगठित चोरी, आपराधिक गतिविधि र हातहतियारसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। अनुसन्धान अझै जारी रहेकाले अन्य संलग्न व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने संकेत प्रहरी स्रोतले दिएको छ।
लोकप्रिय
ताजा अपडेट
बालेनको ‘घण्टी शो’ राजनीतिबीच झापामा रास्वपा कार्यालय तोडफोडः माला हुत्याएको प्रकरणले समर्थकको मन अमिलो
