राजविराज अस्पताल उपचार केन्द्र हो कि लासको गोदाम ? ४ महिनादेखि अस्पतालको डीफ्रिजमा कुहिँदै आधा दर्शन शव
राजविराज — सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अहिले उपचार केन्द्रभन्दा बढी बेवारिसे शव थन्क्याउने अस्थायी गोदामजस्तो देखिन थालेको छ। अस्पतालको पोस्टमार्टम कक्षमा पछिल्लो चार महिनादेखि आधा दर्जनभन्दा बढी बेवारिसे शव डीफ्रिजभित्र थन्किएका छन्, तर तिनको व्यवस्थापन गर्ने जिम्मेवार निकाय भने अझै बेखबरजस्तै छ।
मानव शरीरलाई सम्मानजनक अन्त्येष्टि दिनुपर्ने राज्य संयन्त्रकै लापरबाहीका कारण शव कुहिन थालेका छन्, दुर्गन्ध फैलिएको छ र अस्पतालको वातावरण नै असह्य बनेको छ। अस्पताल प्रशासनका अनुसार पोस्टमार्टमका लागि प्रहरीले ल्याएका ती शवको हालसम्म पहिचान खुलेको छैन। पहिचान नखुलेपछि स्थानीय तहसँग समन्वय गरी व्यवस्थापन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि न प्रहरी सक्रिय छ, न पालिका। जसका कारण अस्पतालको डीफ्रिज नै ‘स्थायी शवगृह’मा परिणत भएको छ।
मेडिकल रेकर्ड तथा मेडिको–लिगल शाखाका प्रमुख मनोज देव भन्छन्, ‘अब राख्ने ठाउँ नै छैन। नयाँ शव आयो भने कहाँ राख्ने ? पटक–पटक आग्रह गर्दा पनि कसैले सुनेको छैन।’ उनका अनुसार पोस्टमार्टम र भिसेरा परीक्षणको प्रक्रिया पूरा भइसकेका शवहरू समेत महिनौँदेखि त्यत्तिकै थन्किएका छन्। व्यवस्थापन नहुँदा शव थपिँदै गएका छन् र अस्पताल चरम दबाबमा परेको छ।
समस्या यतिमै सीमित छैन। विद्युत् आपूर्तिमा हुने गडबडीले डीफ्रिज बन्द हुँदा शव कुहिन थाल्छन्। त्यसपछि अस्पताल परिसरभरि दुर्गन्ध फैलिन्छ। बिरामी, कुरुवा र स्वास्थ्यकर्मी सबैलाई नाक थुनेर हिँड्नुपर्ने अवस्था छ। ‘उपचार गर्ने वातावरण नै बिग्रिन्छ, बिरामी र कर्मचारी दुवै मानसिक तनावमा पर्छन्,’ एक चिकित्सकले गुनासो गरे।
रेकर्डअनुसार ती शव कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिका र राजविराज नगरपालिकाका विभिन्न वडाबाट फेला परेका हुन्। कतै पुरुष, कतै महिला, कतै बालिकासमेत छन्। प्रहरीले घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि अस्पताल ल्यायो, तर त्यसपछि जिम्मेवारी कसैले लिएन। शव अस्पतालको जिम्मा लगाएर सबै पन्सिए।
कानुन भने स्पष्ट छ– ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ अनुसार जिल्लास्तरमा जिल्ला प्रहरी प्रमुखको अध्यक्षतामा शव व्यवस्थापन समिति गठन हुन्छ र स्थानीय तहसँग समन्वय गरी सम्मानजनक अन्त्येष्टि गर्नुपर्छ। तर कागजमा मात्रै सीमित त्यो समिति व्यवहारमा भने निष्क्रिय देखिन्छ। अस्पतालले प्रहरी र स्थानीय तहलाई बारम्बार पत्राचार गरे पनि ठोस पहल नभएको गुनासो छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अवधेशकुमार मिश्रका अनुसार पछिल्लोपटक प्रहरीसँग कुरा गर्दा ‘३–४ दिनभित्र व्यवस्थापन गर्छौं’ भन्ने आश्वासन दिइएको थियो, तर परिणाम देखिएको छैन। यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरी भने स्थानीय तहलाई पत्राचार गरिएको र समन्वय भइरहेको दाबी गर्छन्। तर अस्पतालको शवगृहमा थुप्रिएका लासहरूले भने त्यो ‘समन्वय’ कागजी मात्र रहेको प्रस्ट पारिरहेका छन्।
चार महिनादेखि डीफ्रिजभित्र थन्किएका ती शवहरू केवल पहिचान नभएका शरीर मात्र होइनन्, राज्य संयन्त्रको गैरजिम्मेवारी, समन्वय अभाव र मानवीय संवेदनाको मृत्युका प्रमाण पनि हुन्। उपचार खोज्दै आउने बिरामीहरू एउटै भवनभित्र कुहिँदै गरेका लाससँगै बस्न बाध्य हुनु स्वास्थ्य सुरक्षामाथिको गम्भीर खेलवाड हो।
अस्पताल उपचारका लागि हो, शव थुपार्ने गोदामका लागि होइन। तर सम्बन्धित निकायको बेवास्ताले राजविराज अस्पताल अहिले यही कटु यथार्थ भोगिरहेको छ। जबसम्म जिम्मेवार निकायहरू जाग्दैनन्, ती मौन शवहरूले यही प्रश्न दोहोर्याइरहनेछन— जिउँदोको उपचार गर्न नसक्ने होइन, मरेकोलाई पनि सम्मान दिन नसक्ने राज्य आखिर कसका लागि ?
लोकप्रिय
ताजा अपडेट
बालेनको ‘घण्टी शो’ राजनीतिबीच झापामा रास्वपा कार्यालय तोडफोडः माला हुत्याएको प्रकरणले समर्थकको मन अमिलो
