सप्तरीमा अदालतको फैसला नटेर्ने ४ जना एकैदिन पक्राउ

राजविराज— अदालतको फैसला अवज्ञा गर्दै लामो समयदेखि फरार रहँदै आएका चार जना अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले विभिन्न मुद्दामा दोषी ठहर भई जरिवाना तोकिएपछि पनि सम्पर्कविहीन बनेका प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई विहिबारै जिल्ला अदालत सप्तरीमा दाखिला गराईएको छ। प्रहरीका अनुसार राजविराज नगरपालिका–६ की मेनुका सिंह ‘चेक अनादर’ मुद्दामा दोषी ठहर भई जरिवाना तोकिएको अवस्थामा फरार थिइन्।

त्यस्तै राजविराज–५ का महेश कुमार दास ‘केही सार्वजनिक अपराध’ मुद्दामा सजाय पाएपछि सम्पर्कबाहिर थिए। तिलाठी कोईलाडी गाउँपालिका–८ का राम प्रसाद साह तेली र श्यामनन्द कुमार महतो ‘कुटपिट’ मुद्दामा दोषी ठहर भई अदालतले जरिवाना तोके पनि उनीहरू पनि फरार सूचीमा थिए।

अदालतबाट उनिहरुलाई क्रमशः एक हजार, पाँच सय, पाँच सय र पाँच सय रुपैयाँ जरिवाना तोकेको छ। प्रहरी प्रवक्ता डीएसपी डम्बर बहादुर पुरीका अनुसार अदालतका फैसला कार्यान्वयन अभियानलाई तीव्र पारिएको छ र फरार प्रतिवादीलाई खोजी गरी कानूनी दायरामा ल्याउने अभियान निरन्तर जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट