दाहिनेमा प्लास्टर, देब्रेमा ब्याण्डेजः रविको खुट्टामा चोट कि राजनीतिक नाटक?
काठमाडौँ– सामाजिक सञ्जालमा निकै दिनदेखि एउटा तस्बिरले असाधारण बहस जन्माएको छ। अस्पतालमा बस्दा दाहिने खुट्टामा प्लास्टर चढाइएको र निर्वाचन क्षेत्र जाँदा देब्रे खुट्टामा ब्याण्डेज बाँधिएको देखिने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दृश्यले समर्थक र आलोचक दुवैलाई प्रश्न गर्न बाध्य बनाएको छ। प्रश्न हो—खुट्टाको चोट वास्तविक हो कि राजनीतिक कथा?
माघ ५ गते धनुषाको तिरहुतिया गाछीमा आयोजित आमसभामा बालेन साहसँगै मञ्च सेयर गर्दा भीडमा ठोक्किएर लामिछाने घाइते भएको दाबी गरिएको थियो। तर त्यस दिनको लाइभ भिडियो, सुरक्षा व्यवस्थापन र सार्वजनिक उपस्थितिको फुटेज हेर्दा त्यस्तो गम्भीर चोट लागेको संकेत कतै देखिँदैन। सुरक्षा निकायमा पनि कुनै औपचारिक रिपोर्ट दर्ता नभएको दाबी स्रोतहरूले गरेका छन्। यदि घटनास्थलमै खुट्टा गम्भीर घाइते भएको थियो भने तत्काल प्रतिक्रिया, उपचार वा सुरक्षाकर्मीको सक्रियता देखिनु स्वाभाविक हुन्थ्यो।
झन् रोचक त के भने, कार्यक्रम सम्पन्न भएपछि लामिछाने राति अबेरसम्म जनकपुरस्थित मिथिला निवास होटलमा बसेका थिए। त्यहाँ उनले आफू घाइते भएको कुनै चर्चा नगरेको बताइन्छ। त्यसपछि राति ११ बजे पर्सा जिल्ला अदालतको पेसीका लागि वीरगञ्जतर्फ प्रस्थान गरेका थिए। यात्राको त्यो गतिशीलता र सार्वजनिक उपस्थिति हेर्दा तत्कालीन अवस्थामा गम्भीर चोट लागेको आभास हुँदैन।
तर केही दिनपछि अचानक प्लास्टर चढाएको तस्बिर सार्वजनिक हुन्छ। अझ अस्पताल वस्दा दाहिने खुट्टामा प्लास्टर चढाएको फोटो शेयर गरेका रवि निर्वाचन प्रचार प्रसारमा निस्कँदा देब्रे खुट्टामा ब्याण्डेज देखिने फरक–फरक तस्बिर बाहिरिएपछि शंका झन् चुलिन्छ। यदि पुरानो हाडसम्बन्धी समस्या वा दीर्घरोग हो भने त्यो स्पष्ट गर्न सकिन्थ्यो। तर सार्वजनिक व्याख्या अस्पष्ट छ। यही अस्पष्टताले ‘ब्याण्डेजको कथा’लाई राजनीतिक रणनीतिसँग जोडेर हेर्नेहरूको संख्या बढाएको छ।
त्यस दिनको आमसभाको अर्को पक्ष पनि महत्वपूर्ण छ। जनकपुरमा बालेनको क्रेज असाधारण रूपमा देखिएको थियो। हजारौँ मानिस उनको भाषण सुन्न भेला भएका थिए। बालेन बोलेपछि धेरै सहभागी बाहिरिएको र सामाजिक सञ्जालमा पनि बालेनकै अभिव्यक्ति हाइलाइट भएको तथ्यले लामिछाने ओझेलमा परेको विश्लेषण गरिएको छ। यदि एउटै मञ्चमा उभिँदा ध्यान अर्कोतर्फ सर्छ भने राजनीतिक रूपमा त्यो असहज क्षण हुन सक्छ।
यही पृष्ठभूमिमा ‘ब्याण्डेज’ केवल चिकित्सकीय विषय होइन, सन्देश पनि हुन सक्छ भन्ने चर्चा सुरु भएको छ। के मञ्च सेयर गर्दा ओझेलमा पर्ने जोखिमबाट बच्न दूरी बनाउने बहाना तयार गरिएको हो ? कि यो सबै संयोग मात्र हो? राजनीतिमा छवि, समय र दृश्य प्रभाव अत्यन्त महत्वपूर्ण हुन्छन्। एक हप्तापछि सार्वजनिक गरिएको प्लास्टरले संयोगभन्दा रणनीतिक संकेत बढी दिएको छ।
राजनीतिमा सहानुभूति पनि शक्ति हो। चोटपटकको समाचारले सहानुभूति जगाउन सक्छ, आलोचनाबाट ध्यान मोड्न सक्छ, वा रणनीतिक दूरीको कारण दिन सक्छ। तर जब तस्बिरहरूमा असंगति देखिन्छ, प्रश्नहरू स्वतः उठ्छन्। पारदर्शिता नहुँदा अफवाहले ठाउँ पाउँछ।
रवि लामिछानेको खुट्टाको प्लास्टर वास्तविक स्वास्थ्य समस्या हो वा राजनीतिक व्यवस्थापनको कथा—यो स्पष्ट पार्ने जिम्मा स्वयं उनीहरूकै हो। तर यति निश्चित छ, जनकपुरको त्यो मञ्चपछि ‘ब्याण्डेज’ केवल चिकित्सकीय पट्टी रहेन, राजनीतिक बहसको केन्द्रबिन्दु बनिसकेको छ। राजनीतिमा चोटभन्दा पनि त्यसको समय र सन्देश महत्वपूर्ण हुन्छ भन्ने तथ्य फेरि एकपटक सतहमा आएको छ।
