कर्णालीका पूर्वमुख्यमन्त्री शर्मा आफ्नै गढमा लखेटिएः जनार्दन शर्मा विरुद्ध नारावाजी

काठमाडौँ– कर्णालीमा चुनावी तापक्रम उत्कर्षमा पुगेको छ। माहौल चर्किँदै जाँदा पूर्वमुख्यमन्त्री राजकुमार शर्मा आफ्नै निर्वाचन क्षेत्रमा अपमानजनक ढंगले लखेटिएका छन्। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता शर्मा त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा आयोजित संयुक्त चुनावी बैठकका क्रममा नाराबाजी र ढुङ्गामुढाको सामना गर्दै भाग्न बाध्य भएका हुन्।

प्रलोपा र नेकपा (एमाले)बीचको चुनावी तालमेलअन्तर्गत सहिद प्रतिष्ठानको सभाहलमा बैठक चलिरहेको थियो। सोही क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता र केही सहिद परिवारका सदस्यहरू आक्रोशित रूपमा सभा स्थलमा पुगेका थिए। ‘सहिदको अपमान बन्द गर’, ‘दल बदल्ने नेताहरू मुर्दाबाद’ जस्ता नाराले हल गुञ्जायमान भयो। वातावरण केही मिनेटमै तनावग्रस्त बन्यो र स्थिति नियन्त्रणबाहिर जाने संकेत देखियो।

स्थानीयका अनुसार नेकपाको सम्पर्क कार्यालयमा ताला फोडेर आँखा र सूर्य चिन्ह टाँसेर बैठक गरिएको आरोप लगाउँदै आक्रोशित समूहले ढुङ्गामुढा सुरु गरेको थियो। उनीहरूले राजकुमार शर्मा र उनका राजनीतिक सहयात्रीहरूले सहिद परिवारलाई प्रयोग गरेर पछि धोका दिएको आरोप लगाएका छन्। सत्ता र स्वार्थका लागि पार्टी परित्याग गरेको आरोपसहित पुगेका उनिहरुको आक्रोशको केन्द्रमा प्रलोपाका संरक्षक तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा पनि परे।

राजनीतिक रूपमा हेर्दा यो घटना केवल चुनावी झडप होइन, कर्णालीको कम्युनिस्ट ध्रुवीकरणको तीव्र संकेत हो। लामो समय एउटै वैचारिक धरातलमा उभिएका नेताहरू विभाजित हुँदा त्यसको मूल्य स्थानीय स्तरले चुकाइरहेको देखिन्छ। सहिद प्रतिष्ठान जस्तो भावनात्मक र ऐतिहासिक स्थलमा भएको झडपले चुनावी प्रतिस्पर्धालाई अझ तिक्त बनाएको छ।

यता प्रलोपाका युवा नेता शैलेश शर्माले घटनालाई ‘हारको मानसिकताबाट प्रेरित अराजक गतिविधि’ भन्दै कडा आलोचना गरेका छन्। उनका अनुसार पार्टीले गाउँपालिकासँग नियमानुसार हलभाडा तिरेर बैठक आयोजना गरेको थियो र एक हजार रुपैयाँ राजस्व बुझाएर कार्यक्रम सञ्चालन गरिएको थियो। उनले लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न चुनौती दिँदै सिम्रुतु बजारमा कोण सभा सम्पन्न गरिएको जानकारी दिएका छन्।

यदि सबै प्रक्रिया वैधानिक थियो भने किन आफ्नै क्षेत्रका नागरिक र पूर्वसहकर्मीहरू यति आक्रोशित भए? के यो केवल चुनावी प्रतिस्पर्धाको परिणाम हो, वा नेतृत्वप्रति गहिरिएको असन्तोषको विस्फोट? भन्ने विषय अहिले अगाडि आएको छ।

कर्णालीको राजनीति सधैं भावनात्मक मुद्दासँग गाँसिएको छ। सहिदको नाम, पार्टीको झण्डा र विचारको निष्ठा यहाँ केवल नारामा सीमित हुँदैन, जनभावनासँग प्रत्यक्ष जोडिन्छ। जब त्यही भावनालाई कुण्ठित गरिएको अनुभूति हुन्छ, त्यसको प्रतिक्रिया पनि तीव्र हुन्छ। राजकुमार शर्मामाथि भएको दुर्व्यवहार त्यसैको प्रतिफल भएको विश्लेषण गर्न सकिन्छ।

चुनाव नजिकिँदै जाँदा कर्णालीमा वैचारिक ध्रुवीकरण अझ तीव्र हुने संकेत देखिएका छन्। नेताहरूबीचको सत्ता समीकरण र गठबन्धनले तात्कालिक लाभ दिन सक्छ, तर स्थानीय तहमा जन्मिएको असन्तोषले दीर्घकालीन राजनीतिक क्षति पु¥याउन सक्छ। सिम्रुतुको घटनाले स्पष्ट सन्देश दिएको छ—कर्णालीमा अब केवल गठबन्धन र रणनीति पर्याप्त छैन, विश्वास र विश्वसनीयता पुनःस्थापित नगरे राजनीतिक धरातल चर्किनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट