बंगलादेशको परिणाम नेपालमा दोहोरिने ओलीको दाबीः चुनावी वातावरणमाथि प्रश्नचिन्ह
दमक– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम बंगलादेशको जस्तै हुने दाबी गर्दै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेका छन्। काठमाडौँबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ आउने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बंगलादेशमा देखिएको चुनावी परिणामलाई संकेत गर्दै नेपालमा पनि ‘त्यही हुने’ दोहो¥याए।
सञ्चारकर्मीले स्पष्ट रूपमा ‘नेपालमा पनि त्यही हुन्छ?’ भनेर सोध्दा ओलीको जवाफ फेरि उही थियो—‘हुने नै त्यही त हो नि।’ ओलीको यो अभिव्यक्तिले केवल चुनावी अनुमान मात्र होइन, नेपालको वर्तमान राजनीतिक समीकरणप्रति उनको असन्तुष्टि र आक्रोश पनि झल्काउँछ। बंगलादेशको निर्वाचनमा चर्चित र ‘पपुलर’ भनिएका शक्तिहरू सीमित सिटमा खुम्चिनु परेको प्रसंग उठाउँदै उनले नेपालमा पनि तथाकथित लोकप्रियताको राजनीति टिकाउ नहुने संकेत गरेका छन्।
उनको भनाइलाई एमालेका कार्यकर्ताले आत्मविश्वासको संकेतका रूपमा व्याख्या गरेका छन् भने विपक्षीहरू यसलाई असन्तुलित दाबीका रूपमा चित्रित गरिरहेका छन्। ओलीले अझै चुनावका लागि ढुक्कको वातावरण नबनेको दोहो¥याए। चुनावको वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारकै भएको उनको स्पष्ट भनाइ थियो। ‘हामी चुनावको तयारीमा छौं, तर वातावरण बनेको जस्तो देखिँदैन,’ उनले भने। यस अभिव्यक्तिले सरकारप्रति उनको अविश्वास र शंकालाई थप प्रस्ट्याएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको वक्तव्य केवल चुनावी रणनीति होइन, मतदातालाई मनोवैज्ञानिक सन्देश दिने प्रयास पनि हो। बंगलादेशको परिणामलाई उदाहरण बनाउँदै उनले नेपालमा पनि शक्ति सन्तुलन फेरिने संकेत गरेका छन्।
ओलीले आफू चुनावी अभियानमा सक्रिय रूपमा लागिरहेको बताउँदै सकेसम्म सबै मतदातासँग प्रत्यक्ष भेट्ने इच्छा व्यक्त गरे। झापा–५ अन्तर्गत कमल, गौरादह, गौरीगञ्ज हुँदै दमक केन्द्रित कार्यक्रम गर्ने तयारी रहेको जानकारी पनि उनले दिए। उनको प्राथमिकता प्रत्यक्ष जनसम्पर्क रहेको देखिन्छ, जुन अघिल्लो चुनावी शैलीकै निरन्तरता हो।
तर ओलीको दाबीले राजनीतिक बहसलाई नयाँ मोड दिएको छ। के नेपालमा साँच्चै ‘पपुलर’ भनिने शक्तिहरू खुम्चिने अवस्था आउँदैछ? अझै सबैभन्दा महत्वपूर्ण प्रश्न—चुनावको वातावरण साँच्चै असुरक्षित छ कि यो केवल राजनीतिक भाष्य हो? यी प्रश्नको उत्तर आगामी राजनीतिक घटनाक्रमले दिनेछ।
तर एउटा कुरा स्पष्ट छ—ओलीले बंगलादेशको उदाहरण तानेर नेपाली चुनावी राजनीतिमा विस्फोटक बहसको बीउ रोपेका छन्।
