सडकमै दादागिरीः पैदलयात्रीलाई मुक्का हान्ने पारस बम पक्राउ
काठमाडौँ– राजधानीको व्यस्त सडकमा दिनदहाडै एक पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा तीव्र आक्रोशसहित भाइरल बनेको भिडियोका आधारमा प्रहरीले पारस बमलाई पक्राउ गरेको हो। घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकखण्डमा भएको खुलेको छ।
भिडियोमा बा.३ च ११०३ नम्बरको गाडी रोकेर चालक गाडीबाट झरेको देखिन्छ। सामान्य अवस्थामा सडक पार गरिरहेका एक वृद्धतर्फ आक्रामक रूपमा जाँदै उनले गालीगलौज गर्दै टाउकोमा मुक्का प्रहार गरेको दृश्य स्पष्ट देखिन्छ। ‘ए जडियाहा, के भन्या ओई तैंले ?’ भन्दै उनी आक्रोशमा उत्रिएको देखिन्छ।
त्यसपछि गाडीबाटै झरेकी एक महिलाले पनि ती वृद्धमाथि चर्को स्वरमा कराएको र गाली गरेको आवाज भिडियोमा कैद छ। सार्वजनिक सडक, साझा यातायातको बस नजिकै देखिने दृश्य र सर्वसाधारणको उपस्थितिले यो घटना राजधानीकै व्यस्त क्षेत्रमा भएको पुष्टि गर्छ।
घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तातिएको थियो। धेरै प्रयोगकर्ताले खुला रूपमा आक्रोश व्यक्त गर्दै हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका थिए। ‘यो अराजकलाई जेल हालियोस’ देखि ‘सडक दादागिरीलाई कडा सन्देश दिनुपर्छ’ भन्नेसम्मका टिप्पणीले राज्य संयन्त्रप्रति दबाब सिर्जना गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश अधिकारीले बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। परिसरका प्रवक्ता पवनकुमार भट्टराईले भिडियो प्राप्त भएसँगै कार र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान अघि बढाइएको र कारबाहीको दायरामा ल्याइएको बताएका छन्। सुरुवाती चरणमा ‘खोजी भइरहेको’ भनिएको घटना केही घण्टामै पक्राउसम्म पुग्नुमा सामाजिक सञ्जालको दबाब निर्णायक बनेको देखिन्छ।
यो घटना केवल एउटा झगडा वा सडक विवाद मात्र होइन, राजधानीको सडक संस्कृतिको कुरूप चित्र हो। सवारी चालक र पैदलयात्रीबीचको सामान्य विवाद क्षणमै हिंसामा बदलिनु र त्यो पनि सार्वजनिक रूपमा निर्भीक शैलीमा हुनु, कानुनी शासनप्रतिको बेवास्ताको संकेत हो। गाडीको शक्तिको भरमा पैदलयात्रीमाथि शारीरिक आक्रमण गर्नु दण्डहीनताको मानसिकता हो कि आवेग नियन्त्रण गर्न नसक्ने प्रवृत्ति। यसबारे बहस सुरु भएको छ।
प्रहरीले अब मुद्दा दर्ता, कानुनी कारबाही र पीडितको सुरक्षाको पक्षमा कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ। सार्वजनिक स्थानमा गरिएको यस्तो कुटपिट सामान्य ‘गल्ती’ होइन, यो दण्डनीय आपराधिक कृत्य हो। यदि कडा र उदाहरणीय कारबाही भएन भने सडकमा दादागिरी गर्नेहरूलाई मौन सन्देश जाने जोखिम रहन्छ।
राजधानीको मुटुमा भएको यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ— के हामी कानूनभन्दा माथि उठेको व्यवहारलाई सामान्यीकरण गर्दैछौं ? पारस बमको पक्राउले तत्काल आक्रोशलाई शान्त पार्न सक्छ, तर सडकमा देखिएको हिंसात्मक मानसिकताको जड हटाउन राज्यले कति दृढता देखाउँछ, त्यसले नै आगामी दिनको सन्देश तय गर्नेछ।
लोकप्रिय
जितेन्द्र नारायण देवको निरन्तर युटर्नले उठायो विश्वसनीयताको प्रश्नः ‘घर फिर्ता’को श्रृंखला कहिलेसम्म ?
