पार्टीसँगको सम्बन्ध लुकाउने रणनीति कि राजनीतिक द्वैध चरित्र? सार्वजनिक जवाफदेहिताबाट किन भाग्दैछन बालेन्द्र साह?

विराटनगर– फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले फागुन ४ गतेदेखि औपचारिक प्रचारप्रसार सुरु गरे पनि सामाजिक सञ्जालमा चुनावी तापक्रम उम्मेदवारी दर्ता भएको दिन माघ ६ गतेदेखि नै चुलिएको छ।

फेसबुक, टिकटोक र युट्युबमार्फत नेताहरूले आफ्ना पार्टी, चुनाव चिह्न र एजेन्डा खुला रूपमा प्रचार गरिरहेका छन्। तर ३५ लाखभन्दा बढी फलोअर्स भएको फेसबुक पेज सञ्चालन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र साह भने आफ्नै पार्टी र चुनाव चिह्नको प्रचारमा देखिँदैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई भावी प्रधानमन्त्रीको अनुहारका रूपमा अघि सारेको छ, तर सामाजिक सञ्जालमा उनको प्रस्तुति भने राजनीतिकभन्दा बढी सांकेतिक र भावनात्मक देखिन्छ। माघ ६ गते उम्मेदवारी दर्ता गरेयता उनले आफ्नै पेजबाट न त ‘घण्टी’ चिह्नको खुला प्रचार गरेका छन्, न त प्रत्यक्ष रूपमा आफूलाई मतदान गर्न आग्रह नै गरेका छन्।

बालेननिकट स्रोतका अनुसार विरोधीहरूले ‘फेसबुके नेता’ भनेर आरोप लगाउने डरका कारण उनले फेसबुकमार्फत चुनावी प्रचार नगर्ने रणनीति अपनाएका हुन्। ‘काठमाडौंको मेयर जित्दा फेसबुकले जितायो भनियो, अब पनि त्यही दोहो¥याउन दिनु हुँदैन,’ भन्ने तर्क उनी निकटहरूबाट सुनिन्छ। तर प्रश्न उठ्छ—सार्वजनिक मञ्चमा जवाफदेहिता माग्ने नेता आफैं किन सार्वजनिक डिजिटल मञ्चबाट आफ्नो राजनीतिक एजेन्डा स्पष्ट गर्न हिच्किचाइरहेका छन?

पुस १३ गते रास्वपामा औपचारिक सहमति भएपछि उनले रवि लामिछाने सँगको सहमतिपत्रमा हस्ताक्षर गरेको तस्वीर सेयर गर्दै ‘शुभप्रभात’ लेखेका थिए। त्यसपछि उनले घण्टी चिह्न साझा गरे पनि त्यसयता पार्टीको लोगो, झण्डा वा चुनावी नाराबारे खुलेर पोस्ट गरेका छैनन्। बरु ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’, ‘हामी आउँदै छौं’, ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ’ जस्ता सांकेतिक वाक्यहरू प्रयोग गरेका छन्।

झापा–५ बाट उम्मेदवारी दर्ता गरेपछि पनि उनले फेसबुकमा पार्टीगत प्रचार नगरी केवल ‘झापा–५’ मात्र लेखे। ताप्लेजुङको पाथीभरा दर्शन, सुदूरपश्चिमको हिमाली बाटो, बाजुराको बडिमालिका, कर्णाली भ्रमण, सप्तकोशीमा बोटिङलगयतका तस्वीरहरू सार्वजनिक भए, तर तीमध्ये कतै पनि प्रत्यक्ष चुनावी अपिल देखिएन। राजनीतिक विश्लेषकहरू भन्छन—यो ‘एण्टी–क्याम्पेन क्याम्पेन’ हो, जसमा नेता आफूलाई परम्परागत राजनीतिबाट अलग देखाएर सहानुभूति र नैतिक उच्चता खोज्छन्।

तर यही मौनताको बीचमा आलोचनाका तीखा प्रश्नहरू पनि उठेका छन्। सामाजिक सञ्जालमै पत्रकार किशोर श्रेष्ठले सार्वजनिक रूपमा प्रश्न उठाएका छन—बालकोटमा गएर तबला उपहार लिने, तर सार्वजनिक बहसमा खाली कुर्सी छोडेर प्रश्नबाट टाढा बस्ने किन? पार्टीको लोगोप्रति एलर्जी किन? २०७९ असारदेखि पार्टीमा लागेका कार्यकर्तासँग दूरी किन?

सबैभन्दा गम्भीर प्रश्न पत्रकार दिनेश सिटौलाको मृत्यु प्रकरणसँग जोडिएको छ। चुनावी अभियानकै क्रममा सुदूरपश्चिम पुगेका सिटौला अछाममा अकस्मात् ढलेपछि हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौँ ल्याइए र दुई दिनपछि अन्त्येष्टि गरियो। पोस्टमार्टम नगरी दाहसंस्कार गर्न खोजिएको आरोप किन उठ्यो? प्रहरीले हस्तक्षेप नगरेको भए के हुन्थ्यो? यस्ता संवेदनशील विषयमा बालेनको मौनता झन् अर्थपूर्ण देखिन्छ।

त्यस्तै, करोडौँ मूल्यका गाडीहरूको भन्सार छली, दरबारमार्गमा ग्रेनाइट खरिद, ‘मालपानी’ समूहसँगको सम्बन्ध, सुनिल लम्सालको विदेश भ्रमण र सुनिलको रुपन्देही–१ मा उम्मेदवारी। यी सबै विषयमा सार्वजनिक रूपमा स्पष्ट जवाफ नआउनु आलोचकहरूका लागि प्रश्नको ज्वालामुखी बनेको छ।

बालेनले माघ २५ गते नेपाली टोलीको विश्वकप क्रिकेट सफलताको स्मरण गर्दै ज्ञानेन्द्र मल्लको प्रशंसा गरे, ‘क्रिकेटदेखि सदनसम्म’ शीर्षक दिए। गोरखा दरबार, पशुपतिनाथ, सहिद दिवस—धार्मिक, ऐतिहासिक र भावनात्मक प्रतीकहरूको प्रयोग उनले निरन्तर गरिरहेका छन्। तर चुनावी मैदानमा उत्रिएको नेता भएर पनि पार्टीको औपचारिक प्रचारबाट टाढा बस्नु रणनीति हो कि उत्तरदायित्वबाट पन्छिनु?

राजनीतिमा मौनता पनि सन्देश नै हुन्छ। बालेनको फेसबुक मौनता अब चुनावी रणनीति मात्र रहेन, यो पारदर्शिता र जवाफदेहिताको परीक्षा बनेको छ। जनताले ‘फेसबुके नेता’को ट्यागभन्दा बढी जवाफदेह नेतृत्व खोजिरहेका बेला, डिजिटल मञ्चमा मौन बसेर मैदानमा प्रधानमन्त्रीको आकांक्षा राख्नु कति विश्वसनीय छ भन्ने प्रश्न फागुन २१ को मतपेटिकाले उत्तर दिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट