हेलिपोर्ट भ्रष्टाचार प्रकरणसँग जोडियो प्रकाश पाठकको नामः अधिकारीको मुद्दा प्रभावित बनाउन अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की
काठमाडौँ — भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा मुद्दा खेपिरहेका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी र भीआईपीहरूलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठक बीचको सम्बन्ध अहिले अनुसन्धानको मुख्य केन्द्र बनेको छ।
भ्रष्टाचार मुद्दा दायर हुन लागेको सुराक पाएपछि अख्तियार नेतृत्वमाथि दबाब सिर्जना गर्न अधिकारीले पाठकलाई प्रयोग गरेको आशंका प्रहरी स्रोतले व्यक्त गरेको छ, जसले यो प्रकरणलाई साधारण धम्कीको घटनाभन्दा धेरै ठूलो राजनीतिक–आर्थिक आयामतर्फ धकेलेको छ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता हुने तयारी भइरहेका बेला अख्तियार प्रमुख प्रेम कुमार राईलाई लक्षित गरी धम्की दिने योजना बनाइएको हुन सक्ने संकेत देखिएको छ। प्रारम्भिक सूचनाअनुसार यस क्रममा केही आर्थिक लेनदेनसमेत भएको आशंका गरिएको छ, यद्यपि त्यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
अधिकारी अहिले उक्त भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि कारागारमा छन्। प्रहरीका अनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको सहयोगमा माघ २८ गते पक्राउ गरी नेपाल ल्याइएका पाठकले सामाजिक सञ्जालमार्फत कम्तीमा १० जना उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका थिए। यस घटनामा प्रहरीले आपराधिक लाभ, आपराधिक षड्यन्त्र तथा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको छ।
पाठकले प्रहरीसमक्ष दिएको बयानमा पनि अधिकारीसँग सम्पर्क भएको उल्लेख गरेको बताइएको छ, तर उक्त बयानको तथ्य पुष्टि गर्ने प्रक्रिया अझै जारी रहेको छ। अनुसन्धानले पाठकको गतिविधि केवल धम्कीमा सीमित नरहेको संकेत दिएको छ। प्रहरीका अनुसार उनले सामाखुसीस्थित एक डेन्टल कलेज सञ्चालकलाई धम्की दिएर पाँच लाख रुपैयाँ नगद लिएको तथ्य खुलेको छ।
औपचारिक जाहेरी नपरे पनि अनुसन्धान टोलीले यसलाई गम्भीर रूपमा लिएको छ। त्यस्तै, विभिन्न देशमा पुगेर धम्कीका माध्यमबाट दुई करोड रुपैयाँभन्दा बढी रकम असुलेको आशंका पनि अनुसन्धानको घेरामा परेको छ।
पाठक २०८० सालतिर नेपाल छाडेर विदेशमा बस्दै आएका थिए र पछिल्लो समय विभिन्न देश घुम्दै फिलिपिन्स पुगेका थिए। यसअघि उनी भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेश पठाउने गतिविधिमा पनि संलग्न रहेको विवरण प्रहरीले संकलन गरेको छ। पछिल्लो चरणमा भने उनले सामाजिक सञ्जालमार्फत प्रभावशाली व्यक्तिलाई धम्की दिँदै रकम असुल्ने ढाँचा अपनाएको अनुसन्धानबाट देखिएको छ।
काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार पाठकको मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको छ। उनका अनुसार मोबाइलबाट सम्पर्क सञ्जाल, आर्थिक लेनदेन र धम्कीका वास्तविक उद्देश्यबारे थप प्रमाण जुट्ने अपेक्षा गरिएको छ। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
पाठकविरुद्ध वैदेशिक रोजगार ठगीसम्बन्धी दुईवटा मुद्दा अझै विचाराधीन अवस्थामा रहेको पनि खुलेको छ। उनले न्युजिल्यान्ड र रसिया पठाउने भन्दै रकम ठगी गरेको आरोप छ। शैक्षिक पृष्ठभूमि हेर्दा उनले सुरुमा बिडिएस अध्ययन गरेका थिए भने पछि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए। तर पछिल्लो समय उनको गतिविधि धम्की, प्रभावशाली व्यक्तिमाथि दबाब र आर्थिक लाभको योजनातर्फ मोडिएको देखिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा उनले पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईं लगायतलाई ज्यान मार्ने धम्की दिएको देखिएको छ। यसले घटनालाई अझ संवेदनशील बनाएको छ।
अहिले अनुसन्धानको मुख्य प्रश्न यही बनेको छ—यो प्रकरण व्यक्तिगत अपराध मात्र हो, कि भ्रष्टाचार अनुसन्धानलाई प्रभावित पार्ने योजनाबद्ध प्रयास ? प्रहरी स्रोतका अनुसार डिजिटल प्रमाण, आर्थिक लेनदेन र सम्पर्क सञ्जालको विश्लेषणले आगामी दिनमा यो घटनाको वास्तविक स्वरूप उजागर गर्ने सम्भावना रहेको छ।
