सप्तरीमा एमालेको झण्डा जलाउने घण्टी समर्थक म्यादी प्रहरी नै पक्राउ
राजविराज — चुनावी माहोल तातेका बेला सप्तरीमा राजनीतिक तनाव बढाउने घटना सार्वजनिक भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत महादेवा गाउँपालिका–५ भगवतपुर चोकमा चुनावी प्रचारका लागि राखिएको नेकपा एमालेको झण्डा निकालेर आगजनी गरिएको घटनाले स्थानीय राजनीतिक वातावरण झनै संवेदनशील बनेको छ।
प्रहरीका अनुसार प्रचारका क्रममा डोरीमा झुण्ड्याइएका झण्डा हटाएर आगो लगाएको आरोपमा महादेवा गाउँपालिका–५ का २५ वर्षीय हरिनारायण मण्डललाई शुक्रबार पक्राउ गरिएको छ। मण्डल स्वयम् निर्वाचन सुरक्षामा खटिएका अस्थायी (म्यादी) प्रहरी भएको खुलासा भएपछि घटनाले थप गम्भीर रूप लिएको छ।
घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै विवाद झनै चर्किएको छ। भिडियोमा झण्डा जलाउँदै अपशब्द प्रयोग गरिएको र ‘एमाले मुर्दावाद’ भन्दै नाराबाजी गरिएको देखिन्छ। साथै ‘जय मधेश, जय घण्टी’ भन्ने नारासमेत लगाइएको दृश्य देखिएपछि राजनीतिक उद्देश्य र उक्साहटबारे प्रश्न उठ्न थालेको छ।
स्थानीय स्रोतका अनुसार झण्डासँगै प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद जियाउल रहमानको तस्वीरसमेत जलाइएको आरोप छ। यो घटनाले चुनावी प्रतिस्पर्धालाई मात्र होइन, सुरक्षा संयन्त्रको निष्पक्षतामाथि समेत बहस सुरु गराएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनाको अनुसन्धान जारी छ र पक्राउ परेका मण्डलमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीका अनुसार झण्डा जलाउने घटनामा अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने आशंका गरिएको छ र उनीहरूको खोजी भइरहेको छ।
विशेषगरी सुरक्षामा खटिएका व्यक्ति नै यस्ता विवादास्पद घटनामा मुछिनु चुनावी वातावरणका लागि गम्भीर संकेतका रूपमा हेरिएको छ।
उता, एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजी गर्दै एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको घटनामा संलग्न ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत, तुलसीपुर उपमहानगरपालिका– ४ हलवार निवासी ३० वर्षीय रमेश रानामगर र तुलसीपुर उपमहानगरपालिका– ६ गाइडर निवासी २४ वर्षीय विक्रम परियार छन्।
प्रहरीका अनुसार ७ फागुनको राति भएको उक्त घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा थप ब्यक्तिहरुको पहिचान र खोजी भईरहेको छ।
