चुनावी माहौल ओलीतिर मोडिएको संकेत पाएपछि देश दौडाहा छोडेर हतारमै झापा फर्किए बालेन

दमक — चुनावी अभियानको सुरुवातमा उत्साहजनक देखिएको माहोल अचानक बदलिन थालेको सूचना पाएपछि झापा–५ का सांसद उम्मेदवार बालेन्द्र साह (बालेन) आकस्मिक रूपमा झापा फर्किएका छन्।

चुनावी मैदानमा सुरुमा आफू अनुकूल वातावरण बनेको आकलन गर्दै उनी देशव्यापी दौडाहमा निस्किएका थिए। तर, प्रतिस्पर्धी एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आधार क्षेत्रमा प्रभाव विस्तार गरिरहेको रिपोर्ट आएपछि रणनीति फेरेर उनी झापा केन्द्रित हुन बाध्य बनेका हुन्।

अहिले झापा–५ को चुनावी प्रतिस्पर्धाले प्रतिष्ठा र शक्ति परीक्षणको रूप लिँदै गएको राजनीतिक विश्लेषकहरू बताउँछन्। यस क्षेत्रमा लामो समयदेखि बलियो प्रभाव राख्दै आएका केपी शर्मा ओलीले पछिल्लो समय घरदैलो अभियान तीव्र बनाएपछि चुनावी समीकरण फेरिन थालेको चर्चा एमालेभित्रै हुन थालेको थियो।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का स्थानीय नेताहरूका अनुसार कार्यकर्ता र मतदाताबीच असन्तुष्टि रहेको संकेत पाएपछि ओली स्वयं क्षेत्रमै सक्रिय बने, घरघर पुगेर मतदातासँग संवाद गर्ने अभियान सुरु गरे र स्थानीय स्तरका गुनासो प्रत्यक्ष सुन्न थाले। यही सक्रियताले माहोल क्रमशः बदलिँदै गएको सूचना बाहिरिएपछि बालेन पक्ष सतर्क भएको बताइन्छ।

बालेन देशका विभिन्न जिल्लामा सभा र भेटघाटमा व्यस्त रहँदा झापामा भने उनका प्रतिस्पर्धीले संगठनात्मक शक्ति प्रयोग गर्दै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाइरहेका थिए। यही बीचमा एमालेको प्रभाव विस्तार हुँदै गएको र केही स्थानमा आफ्नो पक्षको उत्साह घट्न थालेको रिपोर्ट आएपछि बालेनले देशदौडाह छोट्याएर आकस्मिक रूपमा झापा फर्कने निर्णय लिएका हुन्।

उनीनिकट स्रोतका अनुसार सुरुमा चुनावी माहोल निकै सकारात्मक देखिएको थियो, तर प्रतिस्पर्धी पक्षले घरदैलो र संगठनात्मक सक्रियता बढाएपछि परिस्थिति बदलिन थालेको संकेत पाइएको थियो।

झापा फर्किएलगत्तै बालेनले आफ्नो अभियानलाई भाषण र ठूला सभाभन्दा मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित गरेका छन्। सानो टोलीसहित घरघर पुगेर मतदाताको कुरा सुन्ने, स्थानीय समस्याबारे छलफल गर्ने र आफूलाई वैकल्पिक राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्ने रणनीति अहिले उनको प्राथमिकता बनेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय कार्यकर्ताहरूलाई पनि आफ्नै क्षेत्रमा सक्रिय रहन निर्देशन दिँदै उनले झापालाई चुनावी अभियानको मुख्य केन्द्र बनाएका छन्। यता ओली पक्षले पनि आफ्नो परम्परागत मत सुरक्षित राख्दै थप समर्थन जुटाउने अभियान जारी राखेको छ। एमाले नेतृत्वले मतदाताको असन्तुष्टि बुझेर त्यसलाई सम्बोधन गर्ने कार्यक्रम अघि बढाएको बताइन्छ।

ओलीले विभिन्न गाउँपालिका र नगरपालिकामा घरदैलो अभियान चलाउँदै कार्यकर्तालाई पुनः सक्रिय बनाउने प्रयास गरिरहेका छन्। पार्टीभित्रका रणनीतिकारहरूका अनुसार यो चुनाव केवल उम्मेदवारको प्रतिस्पर्धा मात्र नभई पुरानो राजनीतिक संरचना र नयाँ राजनीतिक शक्ति बीचको टक्करका रूपमा विकसित हुँदै गएको छ।

झापा–५ अहिले राष्ट्रिय राजनीतिमा सबैभन्दा चासोको केन्द्र बनेको छ। एकातिर स्थापित राजनीतिक अनुभव र संगठनात्मक शक्ति बोकेका ओली छन् भने अर्कोतिर वैकल्पिक राजनीति र नयाँ शैलीको दाबी गर्दै मैदानमा उत्रिएका बालेन। दुवै पक्षले आफ्नो पक्षमा माहोल बनाउने प्रयास तीव्र बनाएसँगै चुनावी प्रतिस्पर्धा झन् रोचक र तनावपूर्ण हुँदै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट