अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी निवासमा गोलीवारी, प्रहरीले गोली हानेर ढाल्यो एक हतियारधारी
काठमाडौँ– अमेरिकामा सुरक्षा चुक र राजनीतिक तनावबारे बहस चलिरहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास परिसरमा गोलीवारी भएको छ। निवासभित्र पस्न खोज्ने एक सशस्त्र हतियारधारी व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी मारेको छ।
अमेरिकी राष्ट्रप्रति ट्रम्पको निवास परिसरमै भएको यो गोली काण्डले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको छ। अत्यन्त कडा सुरक्षा घेराभित्र पर्ने स्थानमा भएको यो घटनाले विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्रको राष्ट्रपतिको सुरक्षाबारे पुनः गम्भीर प्रश्न उठाएको छ।
अधिकारीहरूका अनुसार घटना फ्लोरिडामा रहेको ट्रम्पको प्रसिद्ध निवास मार–आ–लागो परिसरमा भएको हो, जहाँ राष्ट्रपति निवासमा प्रवेश गर्ने प्रयास गर्ने एक व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र स्थानीय सुरक्षा निकायले रोक्न खोज्दा परिस्थिति तनावपूर्ण बनेको थियो।
उक्त व्यक्ति हतियारसहित परिसरमा देखिएपछि सुरक्षाकर्मीहरूले तत्काल उनलाई आत्मसमर्पण गर्न र हतियार फ्याँक्न आदेश दिएका थिए। सुरक्षाकर्मीको निर्देशनअनुसार उनले हातमा रहेको पेट्रोलको डिब्बा भुईँमा राखे पनि त्यसपछि शटगन चलाउन खोजेपछि तत्कालै सुरक्षाकर्मीले गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।
घटनाको समय राष्ट्रपति ट्रम्प भने वासिङ्टन डीसीमा रहेको जानकारी दिइएको छ। फ्लोरिडास्थित निवासमा उनका परिवारका सदस्यहरू भने उपस्थित थिए, तर सुरक्षाकर्मीको सक्रियता र द्रुत कारबाहीका कारण उनीहरू पूर्ण रूपमा सुरक्षित रहेको अधिकारीहरूले बताएका छन्।
घटनास्थलबाट एक शटगन र पेट्रोलको डिब्बा बरामद गरिएको छ, जसले सम्भावित ठूलो आक्रमण वा आगजनीको आशंका पनि जन्माएको छ। सुरक्षा निकायका अनुसार मारिएका व्यक्ति करिब २० वर्षका युवक हुन् र उनी उत्तरी क्यारोलिनाका बासिन्दा रहेको प्रारम्भिक विवरण खुलेको छ, तर उनको पहिचान औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र उनी कसरी कडा सुरक्षा घेराभित्र प्रवेश गर्न सफल भए भन्ने विषयमा अमेरिकी अधिकारीहरू गम्भीर रूपमा अनुसन्धानमा जुटेका छन्। बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मार–आ–लागो परिसर विश्वकै सबैभन्दा सुरक्षित निजी निवासमध्ये एक मानिन्छ।
यहाँ बाहिरी सुरक्षाको जिम्मा स्थानीय शेरिफ कार्यालयले सम्हाल्छ भने भित्री सुरक्षा सिक्रेट सर्भिसले अत्यन्त कडाइका साथ नियन्त्रण गर्छ। आगन्तुकहरूको पहिचान जाँचदेखि सवारीसाधन र झोलाको परीक्षणसम्म अत्याधुनिक सुरक्षा प्रणाली प्रयोग गरिन्छ। यति कडा व्यवस्थाबीच पनि सशस्त्र व्यक्ति परिसरभित्र पुग्नुले सुरक्षा संयन्त्रबारे गम्भीर प्रश्न खडा गरेको विश्लेषकहरू बताउँछन्।
यस घटनाले अमेरिकामा बढ्दो राजनीतिक हिंसा र सुरक्षा जोखिमबारे फेरि बहस चर्किएको छ। यसअघि पनि ट्रम्पमाथि आक्रमणको प्रयास भइसकेको थियो। सन् २०२४ जुलाई १३ मा चुनावी ¥यालीका क्रममा उनीमाथि गोली प्रहार भएको घटना अमेरिकामा ठूलो राजनीतिक बहसको विषय बनेको थियो।
त्यस घटनापछि ट्रम्प र उनको परिवारको सुरक्षामा थप कडाइ गरिएको भए पनि अहिलेको घटना पुनः सुरक्षा प्रणालीको परीक्षणजस्तै बनेको छ। घटनापछि अमेरिकी सुरक्षा निकायले ट्रम्प परिवार वरिपरि सुरक्षा घेरा अझै कडा बनाएको जनाएको छ भने संघीय स्तरमा पनि सम्भावित जोखिमबारे मूल्यांकन भइरहेको बताइएको छ।
अमेरिकामा उच्च राजनीतिक तनावको समयमा यस्तो घटना हुनु केवल सुरक्षा मामिलामात्र नभई राजनीतिक संकेतका रूपमा पनि हेरिन थालेको विश्लेषण भइरहेको छ।
