देवानगञ्जमा कर्फ्यु उलंघन गरेर प्रदर्शन सुरु भएपछि बख्तरबन्द गाडी र हतियारसहित सेना परिचालन

राजविराज– साउनको धार्मिक आस्थासँग जोडिएको एउटा बोलबम यात्रा केही घण्टामै रक्तपात, कर्फ्यु, आगजनी, सेना परिचालन र राजनीतिक विवादमा परिणत भयो। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति सुरु भएको दुई समुदायबीचको विवाद सोमबारसम्म आइपुग्दा एक जनाको ज्यान जाने, २२ जना घाइते हुने, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु लागू हुने, प्रदर्शनकारीले आगजनी र तोडफोड गर्ने तथा अन्ततः बख्तरबन्द गाडीसहित नेपाली सेना परिचालन गर्नुपर्ने अवस्थासम्म पुग्यो।

घटनाले केवल स्थानीय शान्ति–सुरक्षामाथि प्रश्न उठाएको छैन, सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था किन आयो, प्रशासनिक समन्वय कहाँ चुक्यो र साम्प्रदायिक संवेदनशीलता व्यवस्थापनमा राज्य किन असफल देखियो भन्ने गम्भीर बहस पनि जन्माएको छ।

घटनाको केन्द्रमा थियो साउने सोमबारको बोलबम यात्रा। प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे हिन्दु धर्मावलम्बीहरूको एउटा समूह सप्तकोसी तथा कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोक हुँदै अघि बढिरहेको थियो। डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएपछि सुरु भएको सामान्य भनाभन केही मिनेटमै ठेलाठेल र त्यसपछि हिंसात्मक झडपमा परिणत भयो। दुवै पक्षका थप मानिसहरू ढुंगा, चिर्पट, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर घटनास्थलमा पुगेपछि स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रहरी चौकी कप्तानगञ्जबाट पुगेको टोलीले विवाद समाधान गर्ने प्रयास गरे पनि सफल हुन सकेन। त्यसपछि इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, साहेबगञ्ज तथा सशस्त्र प्रहरीको टोली परिचालन गरियो। सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा हुन थालेपछि नेपाल प्रहरीले प्रहरी निरीक्षकसँग रहेको पेस्तोलबाट तीन राउन्ड हवाई फायर गरेको जनाएको छ। तर त्यसले पनि स्थिति नियन्त्रणमा नआएपछि राति करिब पौने ११ बजे सशस्त्र प्रहरीको टोलीबाट गोली चलेको प्रहरीले जनाएको छ। कति राउन्ड गोली चलाइयो र कुन परिस्थितिमा गोली प्रहार गरियो भन्ने विषयमा अनुसन्धान जारी रहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले बताएका छन्।

गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहता गम्भीर घाइते भए। उपचारका लागि विराटनगर लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ। जयप्रकाश मेहता गम्भीर घाइते भएका छन् भने मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, अर्का अमितकुमार यादव र सुनीलकुमार मेहतालगायत अन्य घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल मेडिकल कलेजलगायत अस्पतालमा उपचार भइरहेको छ।

झडपमा सर्वसाधारणमात्र होइन, सुरक्षाकर्मी पनि ठूलो संख्यामा घाइते भए। हालसम्मको विवरणअनुसार नौ जना सर्वसाधारण, नेपाल प्रहरीका आठ जना तथा सशस्त्र प्रहरीका पाँच जना गरी २२ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईको टाउकोमा पाँच टाँका लगाइएको छ भने अन्य प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ। सशस्त्र प्रहरीतर्फका घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गर्‍यो। हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्र र देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्ज बजारलाई कर्फ्यु क्षेत्र घोषणा गरियो। आदेशअनुसार ती क्षेत्रमा कुनै पनि व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने व्यवस्था गरिएको छ। उल्लंघन गरेमा स्थानीय प्रशासन ऐनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।

सीडीओ वासुदेव घिमिरेले प्रत्येक क्षेत्रको चार किल्ला निर्धारण गर्दै सुरक्षा घेरा बनाइएको जानकारी दिए। हरिनगरा, भुटाहा, घुस्की, कप्तानगञ्ज र देवानगञ्ज बजारका पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमाना छुट्टाछुट्टै तोकिएको छ ताकि सुरक्षाकर्मीलाई नियन्त्रण र निगरानी गर्न सहज होस्।

तर कर्फ्यु आदेशले पनि स्थिति तत्काल नियन्त्रणमा आएन। सोमबार बिहानदेखि कफ्र्यु उल्लंघन गर्दै करिब एक हजार प्रदर्शनकारी सडकमा उत्रिए। कप्तानगञ्ज चोकमा टायर बालियो, नाराबाजी भयो र त्यसपछि पाँचवटा पसलमा तोडफोड तथा आगजनी गरियो। एउटा औषधि पसल, मोटरसाइकल मर्मत केन्द्र तथा तीनवटा किराना पसलमा क्षति पुगेको प्रशासनले जनाएको छ। प्रदर्शन फैलिँदै जाँदा अर्को समुदायका मानिसहरू पनि भेला हुन थालेपछि साम्प्रदायिक तनाव थप बढ्ने जोखिम देखियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा उपस्थिति हुँदाहुँदै पनि अवस्था नियन्त्रण गर्न कठिन भएपछि प्रशासनले नेपाली सेना परिचालन गर्ने निर्णय गर्‍यो। बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेना कप्तानगञ्ज पुगेर फिल्डमा खटिएपछि मात्रै प्रदर्शनकारी तितरबितर हुन थालेको प्रशासनको दाबी छ। त्यसपछि अवस्था क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको बताइएको छ। यद्यपि, सेना पुग्नुअघि नै आगजनी र तोडफोडबाट स्थानीय व्यवसायीहरूलाई ठूलो क्षति पुगेको प्रशासनको प्रारम्भिक आकलन छ।

सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोली पनि सुनसरी पठाइयो। नेपाल प्रहरीतर्फ २११ जना र सशस्त्र प्रहरीतर्फ १६५ जना अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, दंगा नियन्त्रण गण, प्रदेश प्रहरी गण रानी, इटहरी, दुहबी, लौकही, हरिनगरा, नरसिंह, शिसुवा धरमपुरलगायत विभिन्न युनिटबाट बल थपिएको हो।

घटनाले राजनीतिक प्रतिक्रिया पनि चर्कायो। सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापा घटनास्थल पुगेर सुरक्षा अधिकारीहरूसँग छलफल गरे। उनले नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै नरहेको दाबी गर्दै घटनालाई ‘अत्यन्तै गम्भीर र खेदजनक’ भने। उनका अनुसार गोली प्रहार गर्नु प्रशासनको अन्तिम विकल्प हुनुपर्ने हो, तर यहाँ त्यो आवश्यकता नै देखिँदैन।

सांसद थापाले घटनास्थल वरपर अझै घाइते वा लुकेर बसेका मानिस हुन सक्ने भन्दै पुनः खोजी गर्न आग्रह गरे। उनले प्रशासन र सुरक्षा निकायबीच पर्याप्त समन्वय नभएको आरोप पनि लगाए। आफ्नो भनाइमा उनले सीडीओसँग सम्पर्क गर्दा जानकारी नपाएको र जिल्ला प्रहरी प्रमुखसँग सम्पर्क हुन नसकेको उल्लेख गर्दै यस्तो अवस्थामा समन्वयकारी नेतृत्व देखिनुपर्ने बताएका छन्।

थापाले धार्मिक संवेदनशीलता जोडिएको विषय भएकाले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे। उनले घाइतेहरूको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने, आवश्यक परे काठमाडौंसम्म उपचारको व्यवस्था मिलाउन पहल गर्ने र घटनाको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत राखेका छन्।

यसबीच जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर थप जनधनको क्षति हुन नदिन सुरक्षा व्यवस्था अझ कडा बनाउने निर्णय गरेको छ। सीडीओ घिमिरेले अवस्था पुनः नियन्त्रणबाहिर गए संयुक्त रूपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षा कारबाही अघि बढाउने चेतावनी दिएका छन्। उनका अनुसार उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही गरिनेछ।

घटनाको प्रभाव देवानगञ्जमा मात्रै सीमित रहेन। कप्तानगञ्जको घटनाको विरोधमा सुनसरीको लौकही र फूलचोक क्षेत्रमा पनि टायर बालेर प्रदर्शन गरियो। पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भयो। यात्रुहरू लामो समय सडकमा अलपत्र परे भने सुरक्षाकर्मीले सम्झाइबुझाइ गर्दै यातायात सञ्चालन गराउने प्रयास गरे पनि पूर्ण रूपमा सफल हुन सकेनन्।

हाल स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सुरक्षा निकायबीच छुट्टाछुट्टै संवाद जारी रहेको छ। दुवै समुदायका मानिसहरूलाई अलग राखेर तनाव कम गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ। तर घटनाले एउटा गम्भीर प्रश्न छाडेको छ—धार्मिक संवेदनशीलता, भीड व्यवस्थापन र सामुदायिक विवादलाई समयमै संवादमार्फत समाधान गर्न नसक्दा राज्य किन बारम्बार गोली, कर्फ्यु र सेना परिचालनको विकल्पमा पुगिरहेको छ? देवानगञ्जको यो घटनाले त्यस प्रश्नलाई फेरि राष्ट्रिय बहसको केन्द्रमा ल्याइदिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट