सीके राउतलाई लगातार झट्काः उम्मेदवारले नै पार्टी छोड्ने श्रृंखलाले जनमत पार्टीको संगठन र चुनावी गणितमै भूकम्प

राजविराज– चुनावी माहोल तातिँदै जाँदा सीके राउत नेतृत्वको जनमत पार्टी लगातार झट्कामा परिरहेको छ। उम्मेदवारदेखि स्थानीय तहका प्रभावशाली नेतासम्म पार्टी छाड्ने क्रम सुरु भएपछि चुनावी समीकरणमै हलचल मच्चिएको छ।

सिरहामा भएको राजनीतिक घटनाक्रमले जनमत पार्टीका लागि अर्को ठूलो धक्का थप्यो। समानुपातिकतर्फका उम्मेदवार तथा कर्जन्हा नगरपालिका–८ का अध्यक्ष हरेराम दनुवारले औपचारिक रूपमा पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरे।

मंगलबार आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सिरहा क्षेत्र नम्बर ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजयशंकर नायक, नेता रामचन्द्र ठाकुर र प्रकाश अधिकारीलगायतको उपस्थितिमा दनुवारलाई पार्टीमा स्वागत गरिएको थियो।

कार्यक्रममा बोल्दै दनुवारले सिरहा–४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी गराउने लक्ष्यसहित आफूले नयाँ राजनीतिक निर्णय लिएको स्पष्ट पारे। विकास, स्थायित्व र व्यापक राजनीतिक सहकार्यलाई प्राथमिकतामा राख्दै पार्टी परिवर्तन गर्नु परेको उनको भनाइ थियो।

स्थानीय तहमा निर्वाचित तथा उम्मेदवारले नै चुनावको मुखमा पार्टी छाड्नु केवल व्यक्तिगत निर्णय मात्र नभई क्षेत्रीय राजनीतिक सन्तुलनमा असर पार्ने कदमका रूपमा हेरिएको छ।

यसअघि, रौतहटमा पनि जनमत पार्टीभित्रको असन्तोष विस्फोट भएको थियो। रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका २८ वर्षीय सोनु कुशवाहाले चुनावकै बीचमा पार्टीबाट राजीनामा दिँदै सार्वजनिक रूपमा पार्टी परित्यागको घोषणा गरे। उनले पार्टीभित्र बढ्दो व्यक्तिवाद, परिवारवाद र नेतृत्वको एकलौटी निर्णय प्रक्रियाप्रति तीव्र असन्तोष व्यक्त गर्दै आफू परिवर्तनका लागि मैदानमा उत्रिएको भए पनि जनताको आवाज सुन्ने वातावरण नै नभएको भन्दै पार्टी छाड्न बाध्य भएको बताए।

उनका अनुसार पार्टी नेतृत्व आफैं र आफ्नै परिवारको चुनावी क्षेत्रमा मात्र केन्द्रित भएको र अन्य क्षेत्रका नेता–कार्यकर्तासँग समन्वय नगरेको कारण संगठन कमजोर बन्दै गएको छ। सोनुको राजीनामापछि रौतहट–२ मा मात्रै होइन, आसपासका स्थानीय तहका केही नेताहरूले समेत सामूहिक रूपमा पार्टी छाड्ने निर्णय सार्वजनिक गरेका छन्। त्यसैको निरन्तरता अन्तर्गत दनुवारको राजिनामा आएको हो।

उनीहरूले स्थानीय जनभावनालाई बेवास्ता गरिएको, विकासका स्पष्ट योजना नदेखिएको र निर्णय प्रक्रियामा स्थानीय नेतृत्वलाई पाखा लगाइएको आरोप लगाएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा भएको यी घटनाक्रमले पार्टीभित्रको असन्तोष, नेतृत्व शैली र संगठनात्मक संकटलाई सार्वजनिक रूपमा उजागर गरेको छ।

यसले जनमत पार्टीभित्रको असन्तुष्टि केवल व्यक्तिगत तहमा सीमित नरही संरचनागत संकटमा परिणत भएको संकेत दिएको छ। चुनाव नजिकिँदै गर्दा उम्मेदवारकै पार्टी त्यागले मतदातामाझ पनि अन्योलको स्थिति सिर्जना भएको छ। यस्तो अवस्थामा मुख्य दलका उम्मेदवारले नै पार्टी छोड्नु चुनावी समीकरण बदल्ने कारक बन्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

सिरहा र रौतहटमा देखिएको यी घटनाक्रमले समग्र रूपमा जनमत पार्टीभित्र नेतृत्वमाथिको प्रश्नलाई थप गहिरो बनाएको छ। उम्मेदवार र प्रभावशाली नेताहरू नै बाहिरिन थालेपछि चुनावी परिणाम मात्र होइन, पार्टीको संगठनात्मक भविष्यबारे पनि बहस सुरु भएको छ। लगातार देखिएको असन्तुष्टि र पार्टी त्यागको श्रृंखलाले आगामी निर्वाचनमा जनमत पार्टीको शक्ति परीक्षण झन् कठिन बन्ने संकेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट