नक्कली कागजात, सरकारी छाप र नोटका बन्डल देखाएर करोडौँ ठगी योजनाः झापमा एक नेपालीसहित भारतीय गिरोह पक्राउ

दमक– नेपाल–भारत सीमावर्ती क्षेत्रमा सक्रिय रहेको एक संगठित गिरोहको ठूलो ठगी योजना झापामा पर्दाफास भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले सरकारी छाप, दस्तखत र नक्कली कागजात प्रयोग गरी संगठित ठगी गर्ने योजनामा संलग्न सात जनालाई पक्राउ गरेपछि यो घटना सतहमा आएको हो।

पक्राउ परेकामध्ये छ जना भारतीय नागरिक रहेका छन् भने एक जना नेपाली नागरिक छन्। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगालका अरिन्दम धर, दीपा भौमिक, सुमन सरकार, नुर कलाम शेख, अबेद अली होसैन, फारुक अज्मी तथा झापा कमल गाउँपालिका–६ का देवेन्द्र सापकोटा रहेका छन्।

उनीहरूलाई फागुन १२ गते बेलुका करिब ६ बजेतिर भद्रपुर–चन्द्रगढी विमानस्थल नजिकैको घोडामारा सडकखण्डबाट नियन्त्रणमा लिइएको थियो। भारतीय नम्बर प्लेटका डब्लुबी ०६ यु ३००६ नम्बरको सुजुकी बलेनो र डब्लुबी ०६ एक्स ०३०० नम्बरको टोयोटा फच्र्युनर चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल ले शंकास्पद गतिविधि देखेपछि जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट नक्कली कागजात फेला परेपछि थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको थियो।

प्रहरी अनुसन्धानले खुलाएको विवरण अनुसार अभियुक्तहरूको साथबाट नेपाल सरकारको निसान छाप प्रयोग गरिएका नक्कली दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, भन्सारसम्बन्धी कागजात, तारिख पर्चा, नक्कली प्रहरी परिचयपत्र, विभिन्न भारतीय परिचयपत्र र मोबाइलहरू बरामद भएका छन्। यसले गिरोह निकै योजनाबद्ध ढंगले सरकारी कागजातसमेत नक्कल गरेर ठगीको जाल बुन्दै आएको स्पष्ट देखिएको छ।

अनुसन्धान अझै गहिरिँदै जाँदा गिरोहले मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित एक गोप्य स्थानमा ठूलो मात्रामा सामग्री लुकाइराखेको तथ्य खुलेको थियो। त्यसपछि प्रहरीले सो स्थानमा छापा मार्दा २१ वटा टिनका बाक्सा र २ सय ३७ बन्डल नोट आकारका सादा कागज बरामद गरेको छ। मेचीनगरमा लुकाइराखिएका ती बन्डलहरूमा माथि–तल सक्कली नोट राखी बीचमा सादा कागज हालेर ठूलो रकम भएको जस्तो देखिने गरी तयार गरिएको थियो। प्रहरीका अनुसार यो सामग्री प्रयोग गरेर धनी व्यवसायीहरूलाई भ्रममा पार्ने र करोडौँ रकम असुल्ने योजना बनाइएको थियो।

प्रारम्भिक अनुसन्धानले देखाएको अर्को महत्वपूर्ण तथ्य भनेको गिरोहले आफ्नै देशका नागरिकलाई लक्षित गरेर ठगीको योजना बनाएको हो। उनीहरूले नेपालमा आफूहरूले ठूलो व्यापारिक लगानी गरेर मनग्य नाफा कमाएको तर कानुनी अड्चनका कारण उक्त रकम नेपालका सरकारी निकायले जफत गरेको दाबी गर्ने योजना बनाएका थिए। त्यसपछि उक्त रकम भारत लैजान ‘पेनाल्टी’ स्वरूप जरिवाना तिर्नुपर्ने भन्दै चिनजान भएका वा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई भिडियो सन्देश पठाएर पैसा माग्ने योजना तयार गरिएको थियो।

प्रहरी प्रवक्ता तथा डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गिरोहले यसपटक भारतको कलकत्ताका एक व्यवसायीलाई निशाना बनाएर १२ करोड भारतीय रुपैयाँ असुल्ने योजना बनाएको थियो। त्यसका लागि उनीहरूले नोटको बन्डल, सरकारी पत्र र अन्य कागजात प्रयोग गरेर विश्वसनीय देखिने भिडियो तथा फोटो तयार गरेका थिए। प्रहरीको भनाइ अनुसार करिब डेढ महिना अघि मेचीनगरस्थित एक होटलमा कोठा लिएर ती बक्सा र नोट आकारका बन्डलहरूको फोटो तथा भिडियो बनाइएको थियो, जसलाई प्रयोग गरेर सम्भावित पीडितहरूलाई प्रभाव पार्ने योजना थियो।

अनुसन्धानले गिरोहको अर्को महत्वाकांक्षी योजना पनि उजागर गरेको छ। उनीहरूले ठगी गरेर संकलन गरेको रकम नेपालका विभिन्न क्यासिनोमा लगानी गर्ने योजना बनाएका थिए। पक्राउ परेका अरिन्दम धर काठमाडौंस्थित एक क्यासिनोमा लगानी गरिसकेको व्यक्ति रहेको प्रहरीले जनाएको छ। यसले सीमावर्ती क्षेत्रमा अन्तर्राष्ट्रिय प्रकृतिको आर्थिक अपराध फैलाउने प्रयास भइरहेको संकेत पनि दिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत लिखतसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक तथ्यहरूले यो गिरोह सीमावर्ती क्षेत्रलाई आधार बनाएर ठूलो स्तरको आर्थिक अपराध सञ्चालन गर्ने तयारीमा रहेको देखिएकाले थप अनुसन्धान पनि तीव्र बनाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट