उदयपुरमा राती बस र मोटरसाइकल ठोक्किँदा २८ वर्षीय युवकको मृत्यु
बेल्टार– उदयपुरको बेलका नगरपालिका–३ सातपत्रे स्थित भित्री सडकखण्डमा सोमबार राति बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राति करिब पौने ९ बजे झण्डा चोकबाट भागलपुरतर्फ गइरहेको प्र. १–०२–००२ ख १५८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकल ठोक्किँदा बेलका नगरपालिका–३ कै २८ वर्षीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। डीएसपी निरञ्जन थापाका अनुसार दुर्घटनामा परेका दुवै सवारी साधन नियन्त्रणमा लिइएको छ भने बस चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–२ चतराका २८ वर्षीय शिखर राना मगरलाई समेत नियन्त्रणमा लिइएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेर थप अनुसन्धान अघि बढाइएको छ।
दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
