अस्पतालको सुझाव पेटिका खोल्न नसक्ने सीके राउतको ‘स्पेस युग’को सपना

राजविराज — २०७९ को निर्वाचनपछि सप्तरीमा परिवर्तन र सुधारको ठूलो वाचा गर्दै आएको राजनीति अहिले प्रश्नको कठघरामा छ। प्रतिनिधि सभा सदस्य बनेपछि सीके राउत र उनका सहयात्री प्रदेशसभा सदस्यहरू सतिशकुमार सिंह र महेशप्रसाद यादवले सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखेको एउटा सानो ‘सुझाव पेटिका’ त्यसबेला धेरैका लागि ठूलो आशाको प्रतीक बनेको थियो।

अस्पताल परिसरमै तीनै जनाको मोबाइल नम्बर राखिएको बोर्ड गाडिएको थियो, जसमा लेखिएको थियो—यदि यहाँ उपचार हुन सकेन भने कारण लेखेर पुर्जीको फोटोकपीसहित सुझाव पेटिकामा हाल्नुहोस्, सुधारका लागि हामी पहल गर्नेछौं।

त्यो दृश्यले धेरै नागरिकमा एउटा विश्वास जन्माएको थियो—अब सामान्य बिरामी पर्दा विराटनगर, धरान, काठमाडौँ वा भारतको दरभंगा र दिल्ली धाउनु पर्ने अवस्था अन्त्य होला। रेफरल सेन्टरको उपमा पाएको अस्पताल सुधार हुने आशा पलाएको थियो। तर समय बित्दै जाँदा त्यो आशा क्रमशः निराशामा रूपान्तरण हुन थाल्यो। अस्पतालमा नयाँ भवन त थपियो, तर, स्वास्थ्य सेवाको स्तरमा भने कुनै सुधार भएन। अहिले पनि अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा नदिएको गुनासो ब्यापक छ।

त्यसको सबैभन्दा पीडादायी उदाहरण केही दिनअघि घटेको घटना बन्यो। विष्णुपुर गाउँपालिकाकी २३ वर्षीया सुत्केरी सुजानदेवी सदाले उपचारकै क्रममा ज्यान गुमाईन। गत शनिबार राति सफलतापूर्वक अप्रेसन गरेर बच्चा जन्माएकी उनी अर्को बिहान पोस्टअपरेटिभ वार्डमै मृत अवस्थामा भेटिइन्। परिवारका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइए पनि अचानक मृत्युले अस्पतालको लापरवाहीबारे गम्भीर प्रश्न उठाएको छ।

मृतककी ठूलीआमा बेचनी सदाले खुलेरै अस्पतालको लापरवाहीका कारण सुजनाको ज्यान गएको आरोप लगाएकी छन्। यो घटनाले फेरि एकपटक त्यही प्रश्न उठाएको छ—सुझाव पेटिकाबाट सुरु भएको सुधारको वाचा कहाँ हरायो?

यसबीच राजनीतिक समीकरणले भने ठूलो मोड लियो। चुनावपछि राउत निकट नेताहरू संघीय सरकारमा मन्त्री बने, सतिशकुमार सिंह मधेश प्रदेशका मुख्यमन्त्री बने, र लामो समयसम्म प्रदेश सरकारको नेतृत्व पनि राउतकै पार्टीले गर्यो। अर्थात् सत्ता, प्रभाव र निर्णय प्रक्रियामा पहुँचको कमी थिएन। तर अस्पताल सुधार, स्वास्थ्य सेवा व्यवस्थापन र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन भने देखिएन।

यो घट्ना उदाहरण मात्रै हो। २०७९ को निर्वाचनताका राउतले गरेका दर्जनौं वाचा पुरा भएनन्। कुनै योजना अधुरै छन्, कतिपय योजना कागजमा मात्रै छन्। सामाजिक सञ्जाल विशेषगरी फेसबुकमार्फत आफूलाई सप्तरीको ‘उद्धारक’का रूपमा प्रस्तुत गरिरहने राउतको राजनीतिक छवि र जमिनमा देखिने यथार्थबीच ठूलो अन्तर रहेको भन्दै विरोधीहरू मात्रै होइन, केही समर्थकहरू समेत निराश देखिन थालेका छन्।

घोषणापत्रका चम्किला शब्द, फेसवुकमा आफनै प्रचार र ‘म धेरै पढेको, बैज्ञानिक’ भनेर आत्मप्रचार तथा जनताले दैनिक भोगिरहेको यथार्थबीचको दूरी अहिले चुनावी बहसको केन्द्रबिन्दु बनेको छ।

यही पृष्ठभूमिमा फेरि नयाँ चुनाव नजिकिएको छ। फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै राउतले नयाँ प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्। आफ्नो जीवनकथाबाट सुरु भएको उनको दस्तावेजमा उनले विदेशको सुख–सुविधा छोडेर जनताको अधिकारका लागि संघर्ष गरेको, जेलनेल भोगेको, आमरण अनशन बसेको र शान्तिपूर्ण आन्दोलनमार्फत मधेश र जनताको आवाज उठाएको विवरण उल्लेख गरेका छन्। तर आलोचकहरू भन्छन—संघर्षको इतिहासले भविष्यको परिणाम सुनिश्चित गर्दैन, परिणाम त कामले प्रमाणित गर्छ। समय र अवसर पाउँदा सिन्को नभाँच्ने नेताबाट फेरी पनि के को आशा ?

घोषणापत्रका बुँदाहरू पढ्दा सप्तरीको भविष्य अत्यन्त महत्वाकांक्षी देखिन्छ। शान्ति–सुरक्षा, जनता–राज, अधुरा योजना सम्पन्न गर्ने वाचा, शिक्षा–स्वास्थ्यको हब बनाउने योजना, हजारौं युवालाई रोजगारी दिने परियोजना, औद्योगिक कोरिडोर, विशेष आर्थिक क्षेत्र, कृषि क्रान्ति, पर्यटन प्रवद्र्धनदेखि ‘स्पेस र एआईको युग’मा मधेशलाई लैजानेसम्मका दाबी गरिएको छ। तर आलोचकहरूको भनाइमा यी घोषणाहरू यथार्थभन्दा धेरै टाढा देखिन्छन्।

विशेष गरी आधारभूत सेवाहरु स्वास्थ्य, शिक्षा, स्पतालको उपचार, स्थानीय पूर्वाधार र प्रशासनिक व्यवस्थापनमै रुमलिनु परेको समाजमा ठुला र आदर्शवादी नाराको अर्थ दखिँदैन। विहान वेलुका हातमुख जोड्नका लागि कतार–मलेशिया र भारत धाउनु पर्ने युवाहरुका लागि स्पेस युगको अर्थ नहुने स्थानीयको भनाई छ।

स्थानीय बासिन्दाहरूको धारणा छ—यदि राउतले साँच्चै विकास निर्माणका काम गरेका हुन भने ती योजना निर्वाचन क्षेत्रमा किन देखिँदैन, त्यसको परिणाम किन जनताले महसुस गर्न सकेनन? किन अस्पताल सुधारको सानो पहल पनि प्रभावकारी हुन सकेन? किन अझै सामान्य बिरामीले अस्पतालमा ज्यान गुमाउनु परिरहेको छ। किन ठूलो सहर वा विदेशसम्म जानुपर्ने अवस्था छ? यी प्रश्नहरू अहिले चुनावी बहसको केन्द्रमा छन्।

राजनीतिक विश्लेषकहरू भन्छन्, घोषणापत्रले ठूलो सपना देखाउनु स्वाभाविक हो, तर विगतको कार्यसम्पादनले त्यसको विश्वसनीयता निर्धारण गर्छ। सप्तरीको राजनीतिमा अहिले त्यही विश्वसनीयताको परीक्षा भइरहेको छ। राउतले फेरि एकपटक परिवर्तनको नारा दिएका छन्, तर जनताले अब नाराभन्दा परिणाम हेर्न थालेका छन्।

यसपटकको चुनाव केवल मत माग्ने प्रक्रिया मात्रै होइन, विगतका वाचा र वर्तमान यथार्थबीचको अन्तिम मूल्यांकन पनि बन्ने देखिन्छ। नागरिकको प्रश्न स्पष्ट छ—सुझाव पेटिकाबाट सुरु भएको सुधारको वाचा किन अस्पतालमै तुहियो ? यदि त्यही वाचा पूरा हुन सकेन भने नयाँ घोषणापत्रका ठूलो सपनाहरूमा जनताले किन विश्वास गर्ने?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट