गजेन्द्र अस्पतालमा सुत्केरीको रहस्यमय मृत्युः ‘सामान्य’ भनिएकी युवती बिहानै मृत फेला परिन

राजविराज– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको रहस्यमय मृत्यु भएपछि परिवारले लापरबाहीको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। मातृत्वको आशा बोकेर अस्पताल पुगेकी युवतीको मृत्यु भएपछि उपचार प्रक्रिया, अस्पताल व्यवस्थापन र स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न पनि उठेको छ।

विष्णुपुर गाउँपालिका की २३ वर्षीया सुजानदेवी सदाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो। परिवारका अनुसार गर्भावस्थामा अचानक पीडा सुरु भएपछि उनलाई शुक्रबार अस्पताल ल्याइएको थियो। प्रारम्भिक जाँचपछि चिकित्सकहरूले गर्भमा रहेको बच्चाले दिसा खाएको अर्थात् मेकोनियम एस्पिरेसनको जोखिम देखिएको भन्दै तत्काल शल्यक्रिया गर्नुपर्ने बताएका थिए। बच्चा र आमाको ज्यान जोगाउन भन्दै परिवारले रातारात अप्रेसनका लागि सहमति दिएको थियो।

अस्पताल स्रोतका अनुसार शनिबार राति अप्रेसन सम्पन्न भएको थियो र अप्रेसनपछि सुजानलाई पोस्टअपरेटिभ वार्डमा सारिएको थियो। त्यसबेला उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। तर केही घण्टामै परिस्थिति नाटकीय रूपमा बदलियो। आइतबार बिहान वार्डमै उनी मृत अवस्थामा भेटिएपछि अस्पतालभित्र के भयो भन्ने विषयमा गम्भीर शंका उत्पन्न भएको छ।

मृतककी ठुलीआमा बेचनी सदाले घटनाको विवरण सुनाउँदै बिहान करिब तीन बजेतिर सुजानले अचानक बान्ता गर्न थालेको र त्यसबेला चिकित्सक वा स्वास्थ्यकर्मी खोज्दा वार्डमा कोही नदेखिएको दाबी गरेकी छन्। परिवारका सदस्यहरूका अनुसार त्यतिबेला उपचारको लागि तुरुन्तै सहयोग नपाउँदा अवस्था बिग्रिएको हुन सक्ने आशंका गरिएको छ।

यसैबीच मृतककी आमाले अझ गम्भीर आरोप लगाएकी छन्। उनका अनुसार घटना भएपछि स्वास्थ्यकर्मीहरू आएर परिवारलाई दबाब दिँदै कागजातमा छाप लगाउन बाध्य पारी वार्डबाट बाहिर निकालिएको थियो। परिवारको दाबी छ—यदि उपचारका क्रममा आवश्यक निगरानी र सावधानी अपनाइएको भए सुजानको ज्यान जोगिन सक्थ्यो। यही कारणले उनीहरूले घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गरेका छन्।

तर अस्पताल प्रशासनले भने परिवारको आरोप अस्वीकार गरेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा अप्रेसन गर्ने विशेषज्ञ डा. दिलीप साहका अनुसार अप्रेसन सफलतापूर्वक सम्पन्न भएको थियो र त्यसमा कुनै चिकित्सकीय त्रुटि भएको छैन। उनले सुजानको मृत्यु बान्ता हुँदा अन्न श्वासनलीमा पुगेपछि भएको एस्पिरेसनका कारण भएको दाबी गरेका छन्। साथै, वार्डमा स्वास्थ्यकर्मी अनुपस्थित रहेको आरोप पनि उनले अस्वीकार गर्दै नर्सहरू त्यहीँ उपस्थित रहेको बताएका छन्।

घटनापछि अस्पताल परिसर र स्थानीय समुदायमा आक्रोश बढ्दै गएको छ। एकातिर परिवारले अस्पतालको लापरबाहीका कारण ज्यान गएको आरोप लगाइरहेका छन् भने अर्कोतिर अस्पताल प्रशासनले चिकित्सकीय जटिलता देखाउँदै आफूहरू निर्दोष रहेको बताइरहेको छ।

यही विरोधाभासले अर्को प्रश्न जन्माएको छ— अप्रेसन सफल भएको भनिएको केही घण्टामै एक युवतीको ज्यान किन गयो? वार्डमा निगरानी कति प्रभावकारी थियो? यो घटना केवल एउटा अस्पतालको विवाद मात्र नभई ग्रामीण क्षेत्रका गर्भवती महिलाले स्वास्थ्य सेवामा कति सुरक्षित महसुस गर्न सक्छन् भन्ने गम्भीर बहसको विषय बनेको छ।

निष्पक्ष छानबिन बिना सत्य बाहिर नआउने भन्दै स्थानीयले पनि घटनालाई गम्भीर रूपमा लिनुपर्ने दबाब बढाइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट