जेनजी आन्दोलनका विवादित पात्र चुनावी मैदानमाः राज्यका भवन जलाउनेहरू नै उम्मेदवार

काठमाडौँ– जेनजी आन्दोलनको आवरणमा भएको हिंसात्मक गतिविधिले एक समय राजधानी काठमाडौँलाई नै त्रास र अनिश्चितताको घेराभित्र पार्‍यो। राज्यका प्रमुख संस्थामाथि आक्रमण, सरकारी संरचनामा आगजनी र भीडको अराजक प्रदर्शनका दृश्यहरू देशले अझै भुलेको छैन।

तर अहिले त्यही आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतजस्ता संवेदनशील संरचनामाथि आगो झोसिएको घटनासँग जोडिएका व्यक्तिहरू नै चुनावी मैदानमा उम्मेदवार बनेर जनताको घरदैलोमा मत मागिरहेका छन्। अझ चासोको विषय त के छ भने उनीहरूलाई उम्मेदवार बनाएको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी, जसका नेताहरु नयाँ राजनीति र नैतिकताको नारा दिँदै उदाएका छन्।

आन्दोलनका क्रममा प्रदर्शनकारीलाई पानी वितरण गर्ने व्यक्ति भनेर चिनिएका सुदन गुरुङ अहिले गोरखा–१ बाट उम्मेदवार बनेका छन्। गुरुङले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर प्रदर्शनकारीहरूलाई पानी बाँडेको बताएका छन्, तर आन्दोलनको तीव्र मोडमा पुगेपछि विद्रोहलाई संगठित र आक्रामक दिशामा लैजान उनले भूमिका खेलेको आरोप उनीमाथि लाग्दै आएको छ। आन्दोलनको नियन्त्रण र नेतृत्व कसले सम्हाल्यो भन्ने विवाद अझै टुंगो नलाग्दै उनी चुनावी मैदानमा देखिनुले राजनीतिक बहसलाई थप तीव्र बनाएको छ।

सिंहदरबार जलाउँछु भनेर फेसवुकमा स्ट्याटस लेख्ने, जेनजी आन्दोलनको नेतृत्व गर्ने र आन्दोलनका क्रममा आगो लाग्दा दमकल नपठाएको आरोप खेपिरहेका तत्कालिन काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह भावी प्रधानमन्त्रीका रुपमा झापा–५ बाट उम्मेदवार छन्।

जेनजी आन्दोलनपछि बालेनले हिम्मत गरेनन् भने रविलाई जेल वाहिर निकाल्नुपर्छ भन्दै फेसवुकमा स्ट्याटस लेख्ने राजिव खत्री भक्तपुर–२ र ‘हामी पुगिसक्यौं’ भन्दै कमेण्ट गर्ने ज्वाला संग्रौला समानुपातिकबाट सांसद वन्ने तयारीमा छिन्।

त्यस्तै, मोरङ–२ बाट उम्मेदवार बनेका कृष्णकुमार कार्कीको नाम त आन्दोलनका सबैभन्दा विवादास्पद दृश्यहरूसँग प्रत्यक्ष रूपमा जोडिएको छ। सामाजिक सञ्जालमा फैलिएको भिडियो र तस्वीरमा उनी बानेश्वरस्थित संसद् भवन वरिपरि आगजनी भइरहेको समयमा उपस्थित देखिएका थिए। उनले आफैंले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त दृश्य सार्वजनिक गरेको तथ्य बाहिरिएपछि थप प्रश्न उठेको हो।

वैदेशिक रोजगारीबाट केही दिनअघि मात्र नेपाल फर्किएका कार्कीले आन्दोलनको उग्र चरणमा संसद् भवनको कुर्सी आफूले जलाएको स्वीकार गर्दै भवनमा लागेको आगो अन्य व्यक्तिहरूले लगाएको दाबी गरेका छन्। यद्यपि उनले दलका नेताहरूका घरमा भएको तोडफोड र आगजनीमा आफू सहभागी रहेको कुरा सामाजिक सञ्जालमै उल्लेख गरेका कारण विवाद अझ गहिरिएको छ। बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रानीपोखरी हुँदै सिंहदरबार क्षेत्रसम्म फैलिएको हिंसात्मक घटनाक्रममा उनी सक्रिय रहेको स्वीकारोक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्तमा नैतिकताको प्रश्न उठ्न थालेको छ।

मोरङ–३ का उम्मेदवार गणेश कार्की पनि आन्दोलनका क्रममा संसद् भवन जलेको घटनामा खुसी व्यक्त गरेको आरोपले चर्चामा आएका व्यक्ति हुन्। अहिले चुनावी प्रचारमा जाँदा कतिपय मतदाताले उनीसँग सोझै प्रश्न गर्दै ‘सिंहदरबार जलाउने व्यक्ति तपाईं होइन?’ भनेर चुनौती दिइरहेको दृश्य सामाजिक सञ्जालमा देखिन थालेको छ। रास्वपाको स्थापनाकालदेखि सक्रिय रहेका कार्कीमाथि लागेको आरोपले पार्टीभित्रै असहजता सिर्जना गरेको चर्चा राजनीतिक वृत्तमा छ।

त्यसैगरी जेनजी आन्दोलनको विध्वंसात्मक दृश्यसँग जोडिएका अर्को पात्र प्रकाश रजौरियालाई पनि पार्टीले उम्मेदवार बनाएको छ। कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका उनले आन्दोलनका क्रममा संसद् भवनमा आगजनी भएपछि ‘हाम्रो मिसन पूरा भयो’ भन्ने सन्देशसहित भिडियो आफ्नै फेसबुकमा सार्वजनिक गरेका थिए। पछि प्रहरीले अनुसन्धान थालेपछि उक्त भिडियो हटाइएको भए पनि त्यो घटना अहिले पनि राजनीतिक बहसको केन्द्रमा छ।

यही घटनाक्रमसँग जोडिएका अर्का व्यक्ति युवा अधिवक्ता सुलभ खरेल हुन्, जो अहिले रूपन्देही–२ बाट उम्मेदवार बनेका छन्। सर्वोच्च अदालतमा आगलागी भएको घटनापछि सामाजिक सञ्जालमा उनले गरेको टिप्पणीका कारण उनी कानुनी वृत्तमै विवादमा परेका थिए। एक बहसका क्रममा संवैधानिक इजलासमा उपस्थित हुँदा तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे सोधपुछ गरेका थिए।

अदालतको मर्यादा र कानुन व्यवसायीको आचरणसम्बन्धी प्रश्न उठेपछि इजलासमै उनी बेहोस भएको घटना चर्चामा आएको थियो।

‘सांसद भवन जल्न लाग्दैछ है’ भनेर अग्रिम सूचना दिने र युवाहरुलाई आगजनी र तोडफोडका लागि भ्काउने आशिका तामाङ धादिङ–१ बाट उम्मेदवार छिन्। संसद भवन जल्न लागेको कुरा उनलाई अगाडि नै कसरी थाहा भयो भनेर प्रश्नहरु उठेका छन्। जसको जवाफ अहिलेसम्म नागरिकले पाएका छैनन्।

यसैबीच सिंहदरबारमा आगजनी भएको दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका महेन्द्र गौतममाथि मुद्दा नचलाउने निर्णय पनि उल्टिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पर्याप्त भिडियो प्रमाण नभएको भन्दै उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

तर पाटन उच्च सरकारी वकिल कार्यालयले उक्त निर्णय बदर गर्दै मुद्दा चलाउन बाटो खोलेको छ। उक्त फाइल पुनः जिल्ला तहमा पठाइएको पुष्टि भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा गौतमले सिंहदरबारको गेट तोडी भित्र पसेर गृह मन्त्रालयदेखि विभिन्न कार्यालयमा आगो लगाएको दाबी गरेको दृश्य बाहिरिएपछि कानुनी प्रक्रिया फेरि सक्रिय भएको हो।

भदौ २४ गते भएको जेनजी आन्दोलनको हिंसात्मक चरणमा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनजस्ता राज्यका प्रमुख संरचनामा आगजनी भएको थियो। त्यसपछि प्रहरीले तस्बिर र भिडियोका आधारमा धेरैलाई पक्राउ गरी अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाएको भए पनि सरकारी निकायमार्फत कतिपय अभियोजन प्रक्रियामा दबाब परेको आरोप पनि बाहिरिँदै आएको छ।

अब भने अवस्था उल्टिएको छ। एक समय राज्यविरुद्ध आक्रामक प्रदर्शनमा देखिएका व्यक्तिहरू नै लोकतान्त्रिक प्रक्रियाको हिस्सा बनेर मत माग्न घरदैलो पुगेका छन्। यसले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ— के आन्दोलनको उग्रता राजनीतिक अवसरमा रूपान्तरण हुँदैछ, वा यो लोकतन्त्रकै विडम्बना हो? चुनावी मैदानमा देखिएको यो परिदृश्यले राज्य, राजनीति र आन्दोलनबीचको सम्बन्धलाई गम्भीर रूपमा पुनः बहसको केन्द्रमा ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट