सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक किशोर गम्भीर
लहान — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक मा आइतबार राति भएको सडक दुर्घटनामा दुई युवकको ज्यान गएको छ भने एक किशोर गम्भीर घाइते भएका छन्।
पूर्व जाँदै गरेको स.५प. ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जना गम्भीर रूपमा घाइते भएका थिए।
दुर्घटनापछि स्थानीय र प्रहरीले उनीहरूलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पु¥याए पनि धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायलाई बचाउन चिकित्सक असफल भए। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि निगरानीमा राखिएको जानकारी प्रहरीले दिएको छ। तीनै जना एउटै मोटरसाइकलमा सवार थिए।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीका अनुसार दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। स्थानीयका अनुसार उक्त सडक खण्डमा राति सवारीको गति तीव्र हुने र सावधानी नअपनाउँदा यस्ता दुर्घटना बारम्बार दोहोरिने गरेको छ।
