बिहान ७ नबज्दै किन मतदान केन्द्रमा पुगे अमेरिकी कार्यवाहक राजदूत ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि देशभर जारी आमनिर्वाचनमा अमेरिकी दुतावासको अप्रत्यासित चासो देखिएको छ। मतदान प्रक्रिया औपचारिक रूपमा बिहान ७ बजेदेखि सुरु हुने व्यवस्था भए पनि काठमाडौँको बालुवाटारस्थित एक मतदान केन्द्रमा अमेरिकी कूटनीतिक टोली भने निर्धारित समयभन्दा केहीअघि नै पुगेको थियो।

काठमाडौंस्थित दुतावासकाका कार्यवाहक राजदूत चार्ज डे अफेयर्स स्कोट अर्वम बिहान ७ बज्नुअघि नै बालुवाटार क्षेत्रमा पुगेका थिए। उनी दूतावासका केही कर्मचारी तथा सुरक्षा टोलीसहित प्रधानमन्त्री निवास नजिकै रहेको मतदान केन्द्रमा पुगेर मतदान प्रक्रियाको अवलोकन गरेका हुन्।

अर्बमले अवलोकन गरेको मतदान केन्द्र महेन्द्र नेशनल सेकेण्डरी स्कुल परिसरमा सञ्चालन गरिएको छ। उक्त विद्यालय परिसर नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयको ठीक सामुन्ने र प्रधानमन्त्री निवास नजिकै पर्ने संवेदनशील क्षेत्र मानिन्छ। बिहानैदेखि सुरक्षाकर्मीको कडा निगरानीबीच त्यहाँ मतदान प्रक्रिया सुरु भएको छ।

कूटनीतिक स्रोतका अनुसार नेपालमा लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरण मानिने आमनिर्वाचनको मतदान प्रक्रिया अवलोकन गर्न विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू विभिन्न मतदान केन्द्रमा पुग्ने चलन छ। सोही परम्पराअनुसार अमेरिकी दूतावासका कार्यवाहक प्रमुख अर्बम पनि मतदान प्रक्रिया प्रत्यक्ष अवलोकन गर्न बिहानै मतदान केन्द्र पुगेका थिए।

उनले मतदान सुरु हुनुअघि नै सुरक्षाको अवस्था, मतदानको तयारी र व्यवस्थापनको अवस्थाबारे चासो राखेको बताइएको छ। देशभर प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतदान बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म जारी रहने निर्वाचन कार्यतालिका छ।

निर्वाचन आयोगले देशभरका मतदान केन्द्रमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान प्रक्रिया सञ्चालन भइरहेको जनाएको छ। राजधानीका संवेदनशील क्षेत्रहरूमा भने सुरक्षाकर्मीको उपस्थिति विशेष रूपमा बढाइएको छ।

कूटनीतिक प्रतिनिधिहरूको यस्तो अवलोकनलाई प्रायः अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक प्रक्रियाप्रतिको चासो र समर्थनका रूपमा पनि हेरिने गरिएको छ। यद्यपि बिहानै मतदान सुरु हुनुअघि नै विदेशी कूटनीतिक प्रतिनिधि मतदान केन्द्रमा पुग्नुले केहीबेर सर्वसाधारणबीच उत्सुकता र चर्चा पनि उत्पन्न गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट