महानायकसँग रास्वपा रिसायोः ‘नयाँ शक्ति भनाउँदा’ भन्ने टिप्पणीपछि आक्रोश

काठमाडौँ— नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता तथा ‘महानायक’ भनेर चिनिने राजेश हमाल विवादमा तानिएका छन्। प्रायः विवादबाट टाढा रहने सेलिब्रिटीका रूपमा परिचित हमालले निर्वाचनको पूर्वसन्ध्यानमा दिएको सार्वजनिक अभिव्यक्तिका कारण विवादमा परेका हुन।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो सन्देशले उनलाई एकाएक राजनीतिक वृत्तमा बहस र विवादको केन्द्रमा तानेको हो। हमालले सामाजिक सञ्जालमार्फत जारी गरेको भिडियो सन्देशमा आगामी निर्वाचन आफ्ना लागि अत्यन्त संवेदनशील र चुनौतीपूर्ण रहेको बताएका थिए।

मतदान गर्ने बेलामा आफ्ना अगाडि गम्भीर निर्णयको अवस्था रहेको संकेत गर्दै उनले नेपालका पुराना राजनीतिक दलहरू र नयाँ शक्ति दाबी गर्ने दलहरू दुवैप्रति असन्तुष्टि झल्किने टिप्पणी गरेका थिए। यही अभिव्यक्तिले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकहरूबीच तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ।

हमालले आफ्नो सन्देशमा नेपालको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भनेका थिए–‘अत्यन्त चुनौतीपूर्ण र संवेदनशील’ अवस्था बनेको बताएका थिए। उनले मतदाता सामु दुई प्रकारका विकल्प रहेको भन्दै पुराना दलहरूको छवि धमिलिएको र नयाँ शक्ति भनाउँदा राजनीतिक शक्तिहरूले अपेक्षित राजनीतिक परिपक्वता र दूरदर्शिता अझ स्पष्ट रूपमा प्रस्तुत गर्न नसकेको धारणा व्यक्त गरेका थिए।

उनका अनुसार यस्तो परिस्थितिमा विवेकपूर्ण निर्णय लिनु प्रत्येक सचेत मतदाताका लागि कठिन परीक्षा जस्तै बनेको छ। उनले भिडियो सन्देशमा भनेका छन्–नेपाल अहिले जटिल भूराजनीतिक अवस्थामा रहेको छ र यदि मुलुकमा राजनीतिक स्थिरता तथा राष्ट्रिय एकता स्थापित हुन सकेन भने भविष्यमा देशको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै खतरा उत्पन्न हुन सक्ने सम्भावना छ।

त्यसैगरी हमालले आफ्नो भिडियो सन्देशमा भदौ २३ र २४ गतेका घटनाहरूलाई पनि उल्लेख गरेका छन्, जसले चुनावी परिदृश्यलाई प्रभावित गरेको उनले संकेत गरेका छन्। उनले ती दिन भएका घटनाहरूको वास्तविकता अझै स्पष्ट रूपमा जनतासामु नआएको भन्दै प्रश्न उठाएका छन्। उनका अनुसार भदौ २३ गते भएको हिंसात्मक घटना र त्यसको भोलिपल्ट भएको राष्ट्रिय सम्पदामाथिको आक्रमणबीच कुनै सम्बन्ध थियो वा थिएन भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ। उनले ती घटनाहरूको जवाफदेहिता र सत्यतथ्य अझै सार्वजनिक बहसको विषय बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

हमालको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच तीव्र बहस सुरु भएको छ। केहीले उनको भनाइलाई एक जिम्मेवार नागरिकको चिन्ता र राजनीतिक विश्लेषणका रूपमा व्याख्या गरेका छन् भने अर्कोतर्फ केहीले यसलाई नयाँ राजनीतिक शक्तिप्रति असहज दृष्टिकोणको रूपमा हेरेका छन्।

खास गरी, हमालले प्रयोग गरेको ‘नयाँ शक्ति भनाउँदा’ भन्ने अभिव्यक्ति विवादको मुख्य कारण बनेको छ। सामाजिक सञ्जालमा धेरैले उक्त टिप्पणीलाई नयाँ राजनीतिक शक्तिहरूलाई होच्याउने शैलीको रूपमा व्याख्या गरेका छन्। रास्वपाका समर्थकहरूले हमालले प्रत्यक्ष रूपमा आफ्नो पार्टीलाई लक्षित गर्दै अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै कडा प्रतिक्रिया दिएका छन्।

उनीहरूले सामाजिक सञ्जालमार्फत हमालप्रति असन्तुष्टि व्यक्त गर्दै उनको अभिव्यक्तिलाई अनुचित र पूर्वाग्रहपूर्ण भएको बताएका छन्। हमाल नेपाली चलचित्र क्षेत्रमा दशकौँदेखि प्रभाव जमाएका कलाकार हुन। उनी कतिपय राजनीतिक सन्दर्भहरूमा बोल्छन्। विशेषगरी पछिल्लो समय सामाजिक–राजनीतिक परिवर्तनको बहस चर्किँदा उनको सम्भावित राजनीतिक प्रवेशबारे पनि अड्कलबाजीहरू हुँदै आएका छन्। एक चरणमा ‘जेनजी सरकार’ गठनको बहस चलिरहेका बेला उनको नाम सम्भावित परराष्ट्रमन्त्रीको रूपमा पनि चर्चामा आएको थियो।

यद्यपि त्यो चर्चा व्यवहारमा परिणत हुन सकेन र हमाल अहिले पनि औपचारिक रूपमा राजनीतिबाहिर नै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट