झापामा किन अवतरण भएन बालेन चढेको हेलिकप्टर? यस्तो छ सचिवालय र प्रहरीको परस्परविरोधी दाबी

काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ सवार हेलिकप्टर झापामा अवतरण हुन नसकेको घटनाले सामाजिक सञ्जालमा विवाद जन्माएको छ।

हेलिकप्टर किन झापामा अवतरण नगरी पुनः काठमाडौं फर्कियो भन्ने विषयमा बालेनको सचिवालय र झापा प्रहरीबीच पूर्णतः फरक–फरक दाबी सार्वजनिक भएपछि घटनाले थप रहस्य र राजनीतिक चर्चा सिर्जना गरेको छ।

बालेनको सचिवालयका सदस्य सुरेन्द्र बजगाईँले सुरक्षा निकायको आग्रहका कारण हेलिकप्टर झापामा अवतरण नगरिएको दाबी गरेका छन्। उनका अनुसार बालेन झापा पुगेमा स्थानीय वातावरण प्रभावित हुन सक्ने भन्दै सुरक्षा निकायले नै अवतरण नगर्न सुझाव दिएको थियो।

‘तपाईं आउनुभयो भने वातावरण बिथोलिन सक्छ भन्ने सुरक्षा निकायको संकेत आएपछि हेलिकप्टर अवतरण नगराई फर्काउने निर्णय गरिएको हो,’ बजगाईँले भनेका छन्। उनका अनुसार सम्भावित विवाद र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हेलिकप्टर पुनः काठमाडौं फर्काइएको थियो।

तर झापा प्रहरीकी एसपी बसुन्धरा खड्काले भने उक्त दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेकी छन्। प्रहरीका अनुसार झापामा हेलिकप्टर अवतरण नगर्न कुनै पनि प्रकारको अनुरोध वा निर्देशन सुरक्षा निकायबाट गरिएको थिएन। ‘उहाँहरूलाई त्यस्तो लागेको हुन सक्छ, तर हामीले हेलिकप्टर ल्यान्ड नगर्नूस् भनेर केही भनेका छैनौँ,’ एसपी खड्काले भनिन्, ‘यहाँको वातावरण सामान्य र शान्तिपूर्ण छ। हेलिकप्टर अवतरण भयो भने पनि हामीले सुरक्षा दिन नसक्ने भन्ने अवस्था होइन।’

यसरी एउटै घटनाबारे बालेनको सचिवालय र झापा प्रहरीबाट आएका परस्परविरोधी अभिव्यक्तिले घटना थप चर्चाको विषय वनेको छ। निर्वाचनको संवेदनशील समयमा यस्तो विरोधाभासी दाबी सार्वजनिक भएपछि वास्तविक कारण के हो भन्ने विषयमा राजनीतिक वृत्त र सार्वजनिक बहसमा प्रश्नहरू उठ्न थालेका छन्।

उक्त हेलिकप्टर बिहीवार बिहान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाका लागि उडेको थियो। विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार हेलिकप्टर बिहान ९ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको थियो। तर झापामा अवतरण नगरी करिब एक घण्टापछि पुनः काठमाडौं फर्किएको थियो।

विमानस्थल अभिलेखअनुसार सो हेलिकप्टर बिहान १० बजेर ९ मिनेटमा पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरेको थियो। निर्वाचन चलिरहेका बेला बालेनको झापा यात्रा किन स्थगित भयो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। सुरक्षा कारण, राजनीतिक संवेदनशीलता वा अन्य कुनै व्यवस्थापकीय कारणमध्ये वास्तविक कारण के हो भन्नेबारे आधिकारिक र स्पष्ट विवरण नआउँदा घटनाले थप रहस्य र बहसलाई जन्म दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट