सप्तरी कारागारभित्रै मतदान केन्द्रः ६६ कैदीबन्दीले खसाले मत
राजविराज — सप्तरी कारागारमा रहेका ६६ कैदीबन्दीले मतदान गरेका छन्। उनिहरुका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो। बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया करिब चार घण्टाभित्रै सम्पन्न भएको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रशासनका अनुसार बिहान ११ बजेसम्म ६६ जना कैदीबन्दीले मतदान गरेका थिए भने निर्वाचन प्रक्रियामा संलग्न दुई जना कर्मचारीले पनि आफ्नो मत खसालेका छन्। मतदान गर्ने कर्मचारीमा एक जना मतदान अधिकृत र एक जना अहेब (स्वास्थ्यकर्मी) रहेका थिए। मतदान सम्पन्न भएपछि प्रयोग गरिएको मतपेटिका विधिवत रूपमा सिल गरी सुरक्षित राखिएको सप्तरी कारागारका प्रमुख रुपक मण्डलले जानकारी दिए।
उनका अनुसार मतदान सकिएपछि मतपेटिकालाई सुरक्षा व्यवस्थासहित राखिएको छ र साँझ ५ बजेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइने तयारी गरिएको छ। ‘मतदान सम्पन्न भइसकेको छ। मतपेटिका सिल गरेर सुरक्षित रूपमा राखिएको छ, निर्धारित समयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ,’ कारागार प्रमुख मण्डलले भने।
सप्तरी कारागारभित्र हाल महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक गरी कुल ३९१ जना कैदीबन्दी रहेका छन्। तर तीमध्ये सबैलाई मतदानको अधिकार प्रयोग गर्ने अवसर भने उपलब्ध हुन नसकेको जनाईएको छ।
निर्वाचन आयोगबाट कारागारका लागि उपलब्ध गराइएको मतदाता नामावलीमा ६९ जना कैदीबन्दीको मात्र नाम समावेश भएको थियो। तीमध्ये पनि एक जनाको अन्यत्र सरुवा भइसकेको र दुई जना कैदीबन्दी रिहा भइसकेका कारण अन्ततः ६६ जनाले मात्रै मतदान गर्न पाएको कारागार प्रशासनले स्पष्ट पारेको छ।
कारागारभित्र गरिएको मतदानलाई निर्वाचन व्यवस्थापनका दृष्टिले विशेष प्रक्रिया मानिन्छ। सीमित मतदाताको सूचीका आधारमा सुरक्षा र प्रशासनिक व्यवस्थापन मिलाउँदै मतदान सञ्चालन गरिएको हो। कारागारभित्रका कैदीबन्दीलाई पनि संवैधानिक अधिकारअनुसार मताधिकार प्रयोग गर्ने अवसर प्रदान गरिनु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष मानिन्छ।
