बाबुको विरासतमा संसद् पुग्ने बबी यादवको प्रयासमा मतदाताले लगाए ब्रेकः सप्तरी–४ मा रास्वपा विजयी

राजविराज — बाबुको राजनीतिक विरासत सम्हाल्दै संसद् प्रवेश गर्ने प्रयासमा रहेकी बबीसिंह यादव अन्ततः पराजित भएकी छिन्। उनी सप्तरी ४ मा जसपा नेपालका तर्फबाट उम्मेदवार वनेकी थिईन।

मतपरिणामअनुसार सो क्षेत्रमा रास्वपाका उम्मेदवार सिताराम साह ३६ हजार ४१२ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री तेजुलाल चौधरीले १३ हजार १०३ मत पाएका छन्। बबीसिंह भने १० हजार २८० मत प्राप्त गरी तेस्रो भएकी छिन्।

बबी सिंह पूर्वमन्त्री तथा लामो समयदेखि सप्तरी राजनीतिमा प्रभाव राख्दै आएका मृगेन्द्रप्रसाद सिंह यादवकी छोरी हुन। स्थानीय राजनीतिक वृत्तमा यो उम्मेदवारीलाई बाबुको राजनीतिक विरासतलाई संघीय संसदसम्म विस्तार गर्ने प्रयासका रूपमा व्याख्या गरिएको थियो। तर परिणाम उनले सोचे जस्तो आएन।

पराजयपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक प्रक्रियामा जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेको बताएकी छन्। उनले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनताको अधिकार, सम्मान र विकासका लागि आफ्नो प्रतिबद्धता निरन्तर रहने उल्लेख गरेकी छन्। उनले निर्वाचित उम्मेदवारलाई बधाई दिँदै जनताको अपेक्षाअनुसार क्षेत्रको विकास, सुशासन र जनहितका काम अघि बढाउने विश्वास व्यक्त गरेकी छन्।

यद्यपि सप्तरीको राजनीतिमा यो पराजय केवल एउटा निर्वाचन परिणाममा सीमित नभई लामो समयदेखि चलिरहेको परिवार केन्द्रित राजनीतिक प्रभावको बहससँग पनि जोडिएको छ। बोदे बर्साइन नगरपालिका–५ बाट राजनीतिक यात्रा सुरु गरेका मृगेन्द्रप्रसाद सिंह यादव तीन दशकभन्दा बढी समयदेखि विभिन्न राजनीतिक व्यवस्थामा सत्ताको केन्द्रमा रहँदै आएका नेता हुन्। पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य, सहायक सिँचाइ मन्त्री तथा जलस्रोत समितिका सभापति बनेका उनी बहुदलीय व्यवस्थापछि पनि संसद् र मन्त्री पदसम्म पुगे। दल परिवर्तनका दृष्टिले पनि उनको राजनीतिक यात्रा लामो र जटिल छ। सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक र राजपा हुँदै अहिले उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा छन्। दल परिवर्तन भए पनि सत्तासँगको उनको सम्बन्ध निरन्तर कायम रहँदै आएको आलोचकहरूको भनाइ छ।

यस राजनीतिक प्रभावको विस्तार पछिल्लो समय परिवारमै केन्द्रित हुँदै गएको आरोप पनि लाग्दै आएको छ। मृगेन्द्रका भाइ अनिरुद्ध प्रसाद सिंह यादव प्रदेशसभामा निर्वाचित भइसकेका छन्। २०७९ को निर्वाचनमा टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै जसपाकै आधिकारिक उम्मेदवारलाई पराजित गरेका थिए। पछि उनी पुनः पार्टीमा फर्किएका थिए।

उनको राजनीतिक यात्रा पनि विवादमुक्त भने छैन। २०६४ सालमा माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्या प्रकरणमा किटानी जाहेरी परेका उनी लामो समय फरार सूचीमा रहेपछि पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा पठाइएपछि उनी प्रदेशसभा सदस्य पदबाट निलम्बित भए पनि पछि उच्च अदालत जनकपुरको आदेशमा धरौटीमा रिहा भएका थिए।

स्थानीय तहमा पनि यो परिवारको प्रभाव बलियो छ। अनिरुद्धका छोरा आतेशकुमार सिंह यादव बोदेबर्साइन नगरपालिकाका मेयर हुन् र उनी दोहो¥याएर निर्वाचित भएका छन्। यसरी संघीय संसद्, प्रदेशसभा र स्थानीय सरकारसम्म एउटै परिवारका सदस्यहरूको निरन्तर उपस्थिति देखिनुले सप्तरीको राजनीतिमा परिवारवादको बहसलाई झनै चर्काएको थियो।

तर, पछिल्लो निर्वाचन परिणामले भने एउटा स्पष्ट सन्देश दिएको छ। लामो समयदेखि एउटै परिवार वरिपरि केन्द्रित हुँदै आएको राजनीतिक प्रभावलाई मतदाताले चुनौती दिन थालेको संकेत देखिएको छ। लोकतन्त्रमा परिवारका सदस्यहरूको राजनीतिक सहभागिता स्वाभाविक मानिए पनि सत्ता र प्रतिनिधित्व लगातार एउटै परिवारमै केन्द्रित हुँदा त्यसले लोकतान्त्रिक प्रतिस्पर्धाको आधार कमजोर बनाउने तर्क राजनीतिक विश्लेषकहरूले गर्दै आएका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट