सप्तरी–१ मा रास्वपाको एकतर्फी परिणामः ‘केबलकार’ चलाउने उम्मेदवारको पत्तासाफ, कांग्रेस सभापतिको लज्जास्पद हार
राजविराज– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित रूपमा फराकिलो जित हात पारेको छ। रास्वपाकी उम्मेदवार पुष्पाकुमारी चौधरीले प्रतिस्पर्धी सबै उम्मेदवारलाई धेरै पछाडि पार्दै ३८ हजार १ सय ९५ मतसहित विजयी प्राप्त गरिन।
यो जितसँगै यस क्षेत्रको परम्परागत राजनीतिक समीकरण नै उल्टिएको छ। कञ्चनरुप नगरपालिका–११ की ३६ वर्षीया चौधरीले दोस्रो स्थानमा रहेका स्वाभिमान पार्टीका उम्मेदवार सुमितकुमारलाई ३० हजार ३ सय ४८ मतान्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन्। सुमितकुमारले ७ हजार ८ सय ४७ मत मात्र प्राप्त गरेका छन्। मतान्तरको हिसाबले हेर्दा यो परिणाम सप्तरी–१ को राजनीतिक इतिहासमै सबैभन्दा एकतर्फी परिणाममध्ये एक मानिएको छ।
यस निर्वाचन परिणामले स्थापित दलहरूलाई गम्भीर झट्का दिएको छ। नेकपा एमालेका उम्मेदवार सुमनराज प्याकुरेल ७ हजार ६ सय ५२ मतसहित तेस्रो स्थानमा सीमित भए भने नेपाली कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापति रामदेव साह (तेली) ६ हजार ९ सय ९४ मतसहित चौथो स्थानमा खुम्चिए।
यता, जनमत पार्टीका अध्यक्ष सीके राउतको आफनै दाजु तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य जयकान्त राउतले ४ हजार ८ सय ३३ मत मात्र प्राप्त गर्दै अपेक्षाभन्दा निकै कमजोर प्रदर्शन गरे। मधेश केन्द्रित राजनीतिक एजेन्डा र महत्वाकांक्षी चुनावी घोषणापत्रका साथ चुनावी मैदानमा उत्रिएका राउतको मत परिणामले राउतको प्रभावबारे पनि प्रश्न उठाएको छ।
निर्वाचनअघि जयकान्त राउतले सार्वजनिक गरेको घोषणापत्रले निकै चर्चा पाएको थियो। घोषणापत्रमा कोशी नियन्त्रणदेखि स्मार्ट सिटी निर्माण, कृषि क्रान्ति, अन्तर्राष्ट्रिय स्तरको खेलमैदान, रोजगारी सृजना तथा सप्तरीलाई क्षेत्रीय विकासको केन्द्र बनाउने जस्ता महत्वाकांक्षी योजनाहरू समेटिएका थिए। तर ती योजनामध्ये विशेषगरी सप्तरीमा केबलकार निर्माणको प्रस्ताव राजनीतिक र सामाजिक बहसको विषय बनेको थियो।
तराईको समथर भूभागमा केबलकार निर्माणको प्रस्तावलाई धेरैले अव्यावहारिक र चुनावी आकर्षण मात्र भएको टिप्पणी गरेका थिए। प्राविधिक रूपमा सम्भव भए पनि आर्थिक र उपयोगिताको दृष्टिले यस्तो परियोजना औचित्यहीन हुने तर्क व्यापक रूपमा उठेको थियो। विशेषज्ञहरूका अनुसार केबलकार सामान्यतया पहाडी वा दुर्गम क्षेत्रमा यातायात तथा पर्यटनका लागि प्रयोग गरिन्छ, जहाँ सडक पहुँच कठिन हुन्छ। तर सप्तरी जस्तो समथर भूभागमा सडक यातायात सहज र सस्तो विकल्प भएकाले केबलकारको आवश्यकता औचित्यपूर्ण देखिँदैन।
कुल १ लाख १९ हजार ४३ मतदाता रहेको सप्तरी–१ मा यसपटक ७७ हजार ९ सय ६९ जनाले मतदान गरेका थिए। तीमध्ये ठूलो हिस्सा रास्वपाको पक्षमा केन्द्रित भएपछि यहाँको चुनावी परिणाम एकतर्फी बनेको हो।
यो पनि,
लोकप्रिय
ताजा अपडेट
सरकार गठनको तयारी नहुँदै प्रधानमन्त्रीका लागि रास्वपाभित्र लफडाको संकेतः शीर्ष नेतृत्वको बोली फेरियो
