पराजयपछि एमाले नेता प्याकुरेलको आत्मसमिक्षाः ‘हामी कहाँ चुक्यौँ’ समीक्षा गरौं
राजविराज– प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि नेकपा एमालेका नेता तथा सप्तरी–१ का उम्मेदवार सुमन प्याकुरेलले पार्टीभित्र गम्भीर आत्मसमिक्षाको आवश्यकता औंल्याएका छन्। राष्ट्रिय सभाका पूर्व सदस्य समेत रहेका प्याकुरेलले पार्टी र राज्य सञ्चालनका क्रममा कहाँ–कहाँ त्रुटि भयो भन्ने विषयमा गहिरो समीक्षा गर्नुपर्ने बताएका हुन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्याकुरेलले एमालेले सरकार सञ्चालन र पार्टी नेतृत्वका क्रममा थुप्रै उपलब्धि हासिल गरे पनि मतदाताको अपेक्षा अनुसार परिणाम आउन नसक्नुको कारण खोज्न आवश्यक भएको बताएका छन्।
उनले एमाले नेतृत्वमा भएका भौतिक पूर्वाधार विकास, सामाजिक सुरक्षा भत्ता जस्ता जनपक्षीय कार्यक्रम र राष्ट्रियताप्रतिको दृढ अडानका बाबजुद पार्टीले कहाँ कमजोरी गर्यो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन्।
प्याकुरेलले देशभक्त र कम्युनिष्ट शक्तिहरूविरुद्ध भएको राजनीतिक षड्यन्त्रलाई चिर्न किन असफल भइयो भन्ने विषयमा पनि कठोर आत्मसमिक्षा अपरिहार्य भएको बताएका छन्। उनका अनुसार राजनीतिक संघर्षको यात्रामा यस्ता उतारचढाव नयाँ होइनन्।
विगतमा पनि एमालेले यस्ता अनेकौं चुनौतीपूर्ण परिस्थितिहरू भोग्दै आएको र हरेक पटक धुलो टकटक्याएर अझ सशक्त रूपमा उठेको इतिहास रहेको उनले स्मरण गराएका छन्।
उनले पार्टी कार्यकर्ता र समर्थकहरूलाई राष्ट्रियता, जनजीविका र समृद्धिप्रतिको प्रतिबद्धता कायम रहुञ्जेल एमाले फेरि सशक्त रूपमा उठ्ने विश्वास व्यक्त गरेका छन्। प्याकुरेलले आत्मसमिक्षा र आफ्ना कमजोरीप्रति इमानदार आत्मालोचना गर्नु नै कम्युनिष्ट आन्दोलनको मूल शिक्षा हो र यही बाटोबाट पार्टीले नयाँ शक्ति र ऊर्जा प्राप्त गर्न सक्छ भन्दै सन्देश प्रवाह गरेका छन्।
उनले कार्यकर्ताहरूलाई भावनात्मक प्रतिक्रिया होइन, तथ्य र अनुभवका आधारमा सूक्ष्म समीक्षा गर्न आह्वान गरेका छन्। देशको राष्ट्रियता रक्षा र समृद्धिको लक्ष्य पूरा गर्न एमालेको विकल्प नरहेको दाबी गर्दै उनले पार्टीभित्र एकता, आत्मविश्वास र स्पष्ट रणनीतिका साथ पुनः संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
