जेनजी आन्दोलनका बेला झुम्का कारागारबाट फरार बलात्कार मुद्दाका कैदी सप्तरीमा पक्राउ
राजविराज– भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले करिब छ महिनापछि पक्राउ गरेको छ। बलात्कार मुद्दामा १० वर्ष कैद सजाय भोगिरहेका समिउल्लाह मिया नामका कैदीलाई सप्तरीमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आन्दोलनको क्रममा झुम्का कारागारबाट केही कैदीबन्दी फरार भएका थिए। तीमध्ये बलात्कार मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय काटिरहेका सप्तरीको कञ्चनरुप नगरपालिका–६ घोघनपुरका ४४ वर्षीय डोरला भन्ने समिउल्लाह मिया लामो समयदेखि फरार थिए।
सोही क्रममा कञ्चनपुर नगरपालिका–७ बलुवा टोलबाट इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब साढे ७ बजे उनलाई पक्राउ गरेको हो। मियालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मंगलबार पुनः झुम्का कारागार पठाइएको छ।
