झाँक्रीलाई ‘बेवकुफ मन्त्री’को कटाक्ष : पहिला सुनपानीले मुख कुल्ला गर, अनि छुचो बोली सुधार
काठमाडौँ– प्रतिनिधिसभा सदस्य महावीर पुनले नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। हालै झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनबारे आत्मस्वीकारोक्ति गरेपछि पुनले सामाजिक सञ्जालमार्फत व्यंग्य गर्दै उनलाई ‘पहिला सुनपानीले मुख कुल्ला गरेर बोली सुधार्न’ सुझाव दिएका हुन्।
राष्ट्रिय सभा सदस्यसमेत रहेकी झाँक्रीले एक पोडकास्ट कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर मतपरिणाम ल्याउनुमा आफ्नै भूमिकासमेत रहेको स्वीकार गरेकी थिइन्। उनले पार्टीलाई कमजोर बनाउन आफूहरूबाट पनि योगदान पुगेको भन्दै त्यसको राजनीतिक मूल्य चुकाउनुपर्ने स्थिति आएको उल्लेख गरेकी थिइन्।
‘पार्टीलाई कमजोर बनाउन त हामीले पनि भूमिका खेल्यौँ, त्यो भूमिका खेलेवापतको सजाय स्वीकार गर्नैपर्छ,’ उनले भनेकी थिइन्, ‘त्यो प्रत्यक्ष होस् वा परोक्ष, कर्नरिङ होस् वा अन्य कुनै तरिका, हामीले बिगार्यौँ। अब त्यसलाई सुधार्न त सकिँदैन, तर आफूहरू सुध्रिन सक्छौँ।’
झाँक्रीको यही अभिव्यक्तिलाई आधार बनाउँदै रास्वपाको समर्थनमा चुनाव जितेका पुनले सामाजिक सञ्जालमा उनको भिडियो साझा गर्दै कडा व्यंग्य गरेका हुन्। उनले झाँक्रीलाई लक्षित गर्दै पार्टीलाई ‘कमजोर मात्र होइन, ध्वस्त बनाउने काम’ भएको आरोपसमेत लगाए। आफ्नो टिप्पणीमा उनले एमालेकै अन्य नेताहरूलाई समेत घुमाउरो ढंगले कटाक्ष गरेका छन्। पुनले लेखेका छन्, ‘यी नानीले अहिले ठिक कुरा गरिन्। पार्टीलाई अलिकति मात्र कमजोर होइन कि ध्वस्त नै बनायौ तिमीहरू जस्ताले। चार नम्बरमा तिमी, तीन नम्बरमा सूर्य, दुई नम्बरमा महेश र एक नम्बरमा त तिम्रै बा परे।’
पुनको उक्त टिप्पणीलाई एमालेका प्रभावशाली नेताहरू सूर्य थापा र महेश बस्नेततर्फ संकेत गरिएको रूपमा व्याख्या गरिएको छ। पुन र झाँक्रीबीचको यो सार्वजनिक कटाक्ष नयाँ भने होइन। प्रतिनिधिसभा निर्वाचनअघि झाँक्रीले पुनलाई लक्षित गर्दै ‘बेवकुफ मन्त्री’ भन्दै टिप्पणी गरेकी थिइन्, जसले राजनीतिक वृत्तमा चर्चा पाएको थियो। त्यसयता यी दुईबीच सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप र कटाक्षको शृंखला समय–समयमा देखिँदै आएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन परिणामपछि दलभित्र आत्मसमिक्षाको बहस चलिरहेका बेला नेताहरूबीचको यस्तो सार्वजनिक वाकयुद्धले राजनीतिक संवादको स्तरमाथि प्रश्न उठाउने गरेको छ। एकातर्फ पार्टीभित्र कमजोरी स्वीकार गर्ने प्रवृत्ति देखिए पनि अर्कोतर्फ त्यसलाई लिएर भइरहेको व्यक्तिगत कटाक्ष र आरोप–प्रत्यारोपले राजनीतिक वातावरण थप तातिएको टिप्पणी गरिएको छ।
यता पुनको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। समर्थक र आलोचक दुवै पक्षबाट विभिन्न प्रतिक्रिया आइरहेका छन्। केहीले यसलाई तीखो राजनीतिक व्यंग्यका रूपमा लिएका छन् भने कतिपयले नेताहरूबीचको यस्तो भाषाशैलीले सार्वजनिक राजनीतिक संस्कृतिलाई कमजोर बनाउने तर्क गरेका छन्।
