विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीका सइ मीनबहादुर बोहोराको मृत्यु
विराटनगर — मोरङको विराटनगरमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सइ) को मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्।
विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा बिहान करिब साढे ७ बजे स ७ प ९१५२ नम्बरको मोटरसाईकल दुर्घटनामा ४० वर्षीय मिनबहादुर बोहोरा गम्भीर घाइते भएका थिए। उनी हाल कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत थिए। उनको दरवन्दी भने झापाको हिरासत व्यवस्थापन शाखामा रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लेखराज लामिछानेका अनुसार बोहोराले चलाएको मोटरसाइकल राजवंशी चोकबाट भित्री सडक हुँदै नोबेल अस्पतालतर्फ जाँदै गर्दा अचानक अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि नोबेल अस्पताल लगिएको थियो।
अस्पतालमा चिकित्सकले उपचार सुरु गरे पनि गम्भीर चोटका कारण बिहान करिब ९ बजे उनको मृत्यु भएको डीएसपी लामिछानेले जानकारी दिए। दुर्घटनापछि प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र हाल नोबेल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारी अनुसार घाइते बस्नेत मृतक बोहोराका आफन्त हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
