समानुपातिक सांसदको लफडाले श्रम संस्कृति पार्टीमा तरंगः रोइलो गर्ने सबैलाई पार्टीबाटै निकाल्ने हर्कको चेतावनी
काठमाडौँ— हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३ प्रतिशत थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेको हर्क साम्पाङ नेतृत्वको श्रम स्वतन्त्र पार्टी भित्र समानुपातिक सांसद चयनलाई लिएर चर्को विवाद सुरु भएको छ।
पार्टीले समानुपातिकतर्फ चार सिट सुरक्षित गरेपछि को सांसद बन्ने भन्ने विषयमा आन्तरिक दबाब र गुटबन्दी सतहमा आउन थालेको हो। यही विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष साम्पाङले सार्वजनिक रूपमा कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी पङ्क्तिलाई स्पष्ट सन्देश दिँदै समानुपातिक सांसदको विषयमा अनावश्यक दबाब र रोइलो नगर्न चेतावनी दिएका छन्।
उनले लेखेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु। हद भयो।’ अध्यक्षको यो अभिव्यक्तिले पार्टीभित्र बढ्दो असन्तुष्टि र दबाबलाई प्रष्ट रूपमा उजागर गरेको छ।
हालै सम्पन्न निर्वाचनमा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको थियो। उक्त मतसहित पार्टीले चार सिट सुरक्षित गरेको छ भने प्रत्यक्षतर्फ तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। यसरी प्रत्यक्ष र समानुपातिक जोड्दा पार्टीको कुल प्रतिनिधिसभा सदस्य संख्या सात पुगेको छ।
संवैधानिक व्यवस्थाअनुसार सात सदस्यीय संसदीय दलमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकाले पार्टीले समानुपातिक सूचीबाट कम्तीमा दुई जना महिलालाई सांसद बनाउनुपर्ने अवस्था छ। यससँगै जातीय तथा समुदायगत क्लस्टरसमेत मिलाउनुपर्ने बाध्यता रहेकाले समानुपातिक सूची चयन झन् जटिल बनेको छ।
निर्वाचन आयोगमा पार्टीले ११० जनाको बन्दसूची बुझाएको थियो। तर अहिले सूचीमा रहेका उम्मेदवारबीच सांसद बन्ने प्रतिस्पर्धा चर्किँदै गएको छ। यही क्रममा महिला क्लस्टरमा १६ नम्बरमा रहेकी समला राईले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आफूलाई सांसद नबनाइए राम्रो नहुने चेतावनी दिएकी छन्।
धरानमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूभन्दा बढी संघर्ष गरेको व्यक्ति भए आफू पछि हट्न तयार रहेको बताइन्। तर जनजाति क्लस्टरमा आफूलाई नै प्राथमिकता दिनुपर्ने उनको अडान छ। ‘मभन्दा संघर्ष गरेर आएको कोही छ भने म छाडिदिन्छु, तर जनजातिमा अरु गयो भने राम्रो हुँदैन। अध्यक्ष हर्क साम्पाङले यो कुरा बुझ्नुपर्छ,’ उनले भनेकी छन्।
राईले आफू लामो समयदेखि पार्टीमा सक्रिय भएर योगदान दिएको दाबी गर्दै अहिले अचानक आएका नयाँ व्यक्तिहरूले अवसर कब्जा गर्न खोजेको आरोप पनि लगाएकी छन्। उनका अनुसार पार्टीभित्र अहिले पदको लोभमा हतार–हतार अगाडि बढ्न खोज्ने प्रवृत्ति बढेको छ, जसले श्रम संस्कृति पार्टीलाई पुराना दलहरू जस्तै गुटबन्दीको बाटोमा धकेल्न सक्ने खतरा रहेको उनले चेतावनी दिइन्।
उनले आफूले अध्यक्षसँग यस विषयमा प्रत्यक्ष रूपमा कुरा गरिसकेको बताउँदै आफ्नो योगदानलाई बेवास्ता गरिए त्यसले पार्टीभित्र ठूलो असन्तुष्टि जन्माउन सक्ने संकेत समेत दिएकी छन्। ‘म जस्तो इमानदार मान्छेलाई गाली खुवाउने हो उहाँले? उहाँलाई यो ठाउँसम्म पु¥याउन समलाको भूमिका कति छ? यो समलालाई हेप्ने हो?’ भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।
श्रम संस्कृति पार्टीको समानुपातिक महिला क्लस्टर सूचीमा पहिलो नम्बरमा मन्दिरा मुक्तान, दोस्रोमा मिनादेवी सिंघक र तेस्रोमा आशा लामा छन्। सामान्यतः बन्दसूचीमा माथिल्लो क्रममा रहेका उम्मेदवारलाई प्राथमिकता दिइने अभ्यास रहे पनि दलले आवश्यक परे सूचीको क्रम परिवर्तन गरेर पनि सांसद चयन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।
यही व्यवस्थाका कारण अहिले पार्टीभित्र विभिन्न समूह र व्यक्तिहरूले दबाब बढाइरहेका छन्। समानुपातिक सांसद चयनको अन्तिम निर्णय पार्टी नेतृत्वकै हातमा रहने भएकाले अध्यक्ष साम्पाङमाथि आन्तरिक दबाब बढ्दै गएको देखिन्छ। यही दबाबको बीचमा आएको अध्यक्षको कडा चेतावनीले श्रम संस्कृति पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई अझै सतहमा ल्याएको छ।

लोकप्रिय
ताजा अपडेट
सांसद भएर पनि सुध्रिएनन् खगेन्द्र सुनारः ‘मास्टरलाई उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्छ’ भनेपछि आलोचना
