नयाँ राजनीतिको पुरानै चालाः मानव साङ्लोमा हिँड्न थालेकी बिना गुरुङको ‘चटक’ चर्चामा

काठमाडौँ— ‘जान्नेलाई छान्ने’ नारा लगाएर मतदातामाझ आफूलाई पुराना राजनीतिक संस्कारको विकल्पका रूपमा प्रस्तुत गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूको शैलीमाथि अहिले सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ। चुनावी परिणाम सार्वजनिक भएको केही समय नबित्दै पार्टीका केही प्रतिनिधिहरू पुराना दलका नेताजस्तै घेराबन्दी र प्रदर्शनात्मक गतिविधिमा देखिन थालेपछि आलोचना चुलिएको हो।

यसै सन्दर्भमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बिना गुरुङको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा उनी एउटा कार्यक्रममा पुग्दा चार जना युवाले बनाएको मानव साङ्लोको बीचमा हिँड्दै समर्थकहरूतर्फ हात हल्लाइरहेको देखिन्छ। कार्यक्रमस्थलमा पुगेकी गुरुङलाई युवाहरूले घेरा बनाएर अघि बढाइरहेको दृश्यले ‘नयाँ राजनीति’ को दाबी गर्ने दलका प्रतिनिधिहरू पनि पुरानै शैलीतर्फ फर्किन थालेका हुन् कि भन्ने प्रश्न उठाएको छ।

मतदाताले वैकल्पिक राजनीति र सादगीपूर्ण नेतृत्वको अपेक्षासहित रास्वपालाई समर्थन गरेको भए पनि चुनाव जितेको दुई साता नबित्दै सार्वजनिक कार्यक्रममा यस्तो घेराबन्दी शैली देखिन थालेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तीव्र प्रतिक्रिया जनाइरहेका छन्। धेरैले यसलाई अनावश्यक प्रदर्शन र राजनीतिक चटकको रूपमा व्याख्या गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ता रविन्स विक्रम डाँगी क्षेत्रीले भिडियोमाथि प्रतिक्रिया दिँदै पुराना दलभन्दा पनि नयाँ दलका नेतामा बढी चहलपहल देखिन थालेको टिप्पणी गरेका छन्। उनका अनुसार पुराना दलका नेताहरू वरिपरि ‘झोले’ भनेर चिनिने कार्यकर्ता देखिन्थे, तर अहिले नयाँ दलका नेताको वरिपरि देखिएको घेराबन्दीलाई के भनेर सम्बोधन गर्ने भन्ने प्रश्न उठेको छ।

अर्का प्रयोगकर्ता किरण लिभ ईटले भने यो शैलीलाई राजनीतिक प्रदर्शनभन्दा बढी ‘नाटक’ भएको टिप्पणी गरेका छन्। उनका अनुसार नयाँ राजनीतिक शक्तिले जनताको विश्वास जित्ने हो भने व्यवहार र प्रस्तुति दुवैमा संयमता र सादगी देखिनुपर्छ, तर पछिल्लो दृश्यले त्यसको विपरीत संकेत दिएको उनले उल्लेख गरेका छन्।

सागर खड्का क्षेत्रीले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नयाँ नेतृत्वले चटक देखाउने हो भने कम्तीमा पनि सुहाउने खालको हुनुपर्ने टिप्पणी गरेका छन्। उनका अनुसार नयाँ राजनीति भन्ने दाबी गर्नेहरूले सार्वजनिक व्यवहारमा पुरानै शैली दोहोर्याउन थाले भने त्यसले मतदातामा निराशा बढाउन सक्छ।

रास्वपाले निर्वाचनअघि आफूलाई पुराना राजनीतिक संस्कारको विकल्पका रूपमा प्रस्तुत गर्दै पारदर्शिता, सादगी र जवाफदेहिताको वाचा गरेको थियो। तर चुनाव जितेको छोटो समयमै देखिन थालेका यस्ता दृश्यहरूले पार्टीका प्रतिनिधिहरू व्यवहारमा कति फरक देखिन्छन् भन्ने प्रश्न उठाउन थालेको छ।

विशेषगरी नयाँ राजनीतिक शक्ति भन्दै आएको दलका सांसदहरू सार्वजनिक कार्यक्रममा घेराबन्दी, प्रदर्शन र चटकमा देखिन थालेपछि आलोचकहरूले ‘नयाँ अनुहार तर पुरानै शैली’ को टिप्पणी गर्न थालेका छन्।

@sheershakhabarnews.com

नयाँ राजनीतिको पुरानै चालाः मानव साङ्लोमा हिँड्न थालेकी बिना गुरुङको ‘चटक’ चर्चामा

♬ original sound – Sheersha Khabar – Sheersha Khabar


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट