दिदी सुजाताले खोलिन बालेनले बेंगलुरुबाट इन्जिनियरिङ गर्नुको रहस्य
राजविराज— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेनद्र साह (बालेन) को राजनीतिक उभारसँगै उनको व्यक्तिगत जीवन, बाल्यकाल र सोचबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि चासो बढिरहेको छ।
पछिल्लो समय नेपालको राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा स्थापित हुँदै गएका बालेनबारे उनका पारिवारिक सदस्यहरूले पनि रोचक अनुभवहरू सार्वजनिक गर्न थालेका छन्। यही क्रममा बेलायतको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीको हिन्दी सेवाले बालेनकी दिदी सुजाता साहसँग विशेष कुराकानी गरेको छ। उक्त कुराकानीमा सुजाताले भाइ बालेनको बाल्यकाल, अध्ययन, संगीतप्रतिको रुचि र उनको व्यक्तित्वबारे अनुभव सुनाएकी छिन्।
सुजाताका अनुसार बालेन उनीभन्दा करिब चार वर्ष कान्छा हुन् र बाल्यकालदेखि नै उनी असाधारण रूपमा गम्भीर र परिपक्व स्वभावका थिए। उनी सम्झन्छिन्, ‘उ हुर्कँदै गरेको मैले नजिकबाट देखेकी छु। बाल्यकालमै उसको व्यवहार र सोच अरू बालबालिकाभन्दा फरक थियो। कहिलेकाहीँ त ऊ सानै उमेरमा पनि ‘ज्ञानी मानिस’ जस्तो लाग्थ्यो। उसका कुरा, विचार र जवाफ दिने शैली ठूला मान्छेजस्तै हुन्थे। घरपरिवारका सदस्यहरू उसको कुरा सुनेर अचम्म मान्थे र हाँस्थे पनि।’
उनका अनुसार बालेन अत्यन्तै परिपक्क स्वभावका थिए। उनी कुनै निर्णय हतारमा लिने खालका नभई सोचविचार गरेर मात्रै कदम चाल्ने व्यक्ति थिए। बाल्यकालदेखि नै उनी अनुशासित र लक्ष्यप्रति स्पष्ट देखिन्थे।
सुजाताले भाइसँगको सम्बन्धबारे पनि भावनात्मक रूपमा उल्लेख गरिन्। चुनावी अभियानका क्रममा उनले बालेनलाई धेरै फोन गरेर डिस्टर्ब नगर्ने प्रयास गरेको बताइन्। ‘म धेरैजसो म्यासेज पठाउँथेँ। भोटिङको दिन भने मैले फोन गरेर कुरा गरेँ। दिदीको रूपमा मेरो सधैँ एउटै चिन्ता हुन्छ—उसले आफ्नो स्वास्थ्यको कति ख्याल राखिरहेको छ,’ उनले भनिन्।
बालेनको अध्ययन र करियरको अर्को महत्वपूर्ण चरण भारतमा बितेको थियो। सुजाताका अनुसार सन् २०१५ मा नेपालमा गएको विनाशकारी भुकम्पपछि बालेनको सोच र योजनामा नयाँ आयाम थपिएको थियो। त्यसबेला उनी नेपालमा सिभिल इन्जिनियरका रूपमा काम गरिरहेका थिए।
उनी भन्छिन्, ‘भूकम्पपछि देशको अवस्था निकै गम्भीर थियो। त्यतिबेला मेरो श्रीमानले मलाई भारतको बेङलुरु बोलाउनुभएको थियो तर म परिवार छोडेर आउन चाहन्नथेँ। त्यसपछि बालेन नै मलाई र मेरो बच्चालाई छोड्न यहाँ आयो।’
बेंगलुरु पुगेपछि बालेनलाई त्यहाँको वातावरण र शैक्षिक माहोल मन परेको उनले बताइन्। त्यसपछि उनले त्यहीँ उच्च अध्ययन गर्ने निर्णय लिए। बालेनले भारतको नित्ते मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी बाट ‘स्ट्रक्चरल इन्जिनियरिङ’ विषयमा स्नातकोत्तर अध्ययन गरेका थिए।
सुजाताका अनुसार स्ट्रक्चरल इन्जिनियरिङ रोज्नु पनि बालेनको दीर्घकालीन सोचसँग जोडिएको थियो। ‘नेपाल भूकम्पीय जोखिममा रहेको देश हो। संरचनाहरू कसरी बलिया बनाउने र क्षति कसरी कम गर्ने भन्ने उसको सोच थियो। त्यसैले उसले यही विषय रोज्यो,’ उनले भनिन्।
राजनीतिमा प्रवेश गर्नु अघि बालेनको अर्को पहिचान र्याप संगीत थियो। नेपाली युवामाझ लोकप्रिय र्यापरका रूपमा स्थापित भएका बालेनले सामाजिक विषयवस्तु समेटिएका गीतमार्फत आफ्नो असन्तुष्टि र विचार अभिव्यक्त गर्दै आएका थिए। सुजाताका अनुसार बालेनको संगीतप्रतिको झुकाव पारिवारिक वातावरणबाटै आएको हो।
‘हाम्रा बुवा आयुर्वेद चिकित्सक हुनुहुन्थ्यो तर उहाँ उत्कृष्ट कवि पनि हुनुहुन्थ्यो। संस्कृतका श्लोकहरू उहाँलाई कण्ठस्थ थिए। सम्भवतः त्यही प्रभाव बालेनमा पनि परेको हो,’ उनले भनिन्।
उनका अनुसार बालेनले कक्षा ९ मै र्याप लेख्न र गाउन सुरु गरेका थिए। नेपाली समाजमा र्यापलाई कहिलेकाहीँ नकारात्मक रूपमा हेरिने भए पनि बालेनका गीतहरू भने फरक प्रकृतिका थिए। ‘उसका र्यापहरूमा गालीगलौज होइन, सामाजिक पीडा र आक्रोश सभ्य शब्दमा व्यक्त हुन्थ्यो। सडक बालबालिका जस्ता विषयमा पनि उसले गीत बनाएको छ,’ सुजाताले भनिन्।
सुजाताले बालेनको र्यापर छविले उनको राजनीतिक यात्रामा पनि सकारात्मक प्रभाव पारेको विश्वास व्यक्त गरिन्। उनका अनुसार बालेन सधैँ अन्याय, भ्रष्टाचार र नकारात्मक प्रवृत्तिविरुद्ध बोल्ने स्वभावका थिए र त्यो कुरा उनले आफ्नो कला मार्फत व्यक्त गर्थे।
‘उसले जीवनमा प्रत्येक चरण क्रमशः पार गर्दै अघि बढ्यो—पहिले र्यापर, त्यसपछि इन्जिनियर, त्यसपछि मेयर,’ उनले भनिन्। उनका अनुसार जब बालेन काठमाडौं महानगरपालिकाको मेयर बने र उनले सांस्कृतिक सम्पदाको संरक्षण तथा शहर व्यवस्थापनमा सक्रिय भूमिका खेले, तब धेरैलाई उनीप्रति विश्वास बढेको थियो। ‘मलाई त्यतिबेलै लाग्यो कि देशलाई अहिलेको अवस्थाबाट बाहिर निकाल्न उसले महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ सुजाताले भनिन्।
भारत र नेपालबीचको सम्बन्धबारे बोल्दै उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई कसैले तोड्न नसक्ने बताइन्। उनका अनुसार बालेनलाई परम्परागत राजनीतिज्ञभन्दा फरक स्वभावको व्यक्ति हुन। ‘म उसलाई राजनीतिज्ञभन्दा पनि एउटा सच्चा मानिसको रूपमा हेर्छु, जसले आफ्ना मानिसहरूको जिम्मेवारी लिन्छ,’ उनले भनिन्।
उनले नेपालको वर्तमान अवस्थाबारे पनि चिन्ता व्यक्त गरिन्। उनका अनुसार धेरै प्रतिभाशाली नेपाली युवा विदेश पलायन भइरहेका छन्, जसका कारण देशको भविष्य कमजोर बन्दै गएको छ। उनले बालेनको उदयले युवाहरूलाई जिम्मेवारीबोध गराउने काम गरेको उल्लेख गरिन्।
‘नेपालका धेरै क्षमतावान् युवा बाहिर छन्। देश बिस्तारै खाली हुँदै गएको जस्तो लाग्छ। बालेनले युवाहरूलाई यो देश हाम्रो पनि जिम्मेवारी हो भन्ने कुरा महसुस गराउँदैछन्,’ उनले भनिन्। उनका अनुसार यदि अहिलेको पुस्ता जागरूक भयो भने मात्र आगामी पुस्ताले राम्रो जीवन पाउने सम्भावना बढ्नेछ। यही कारणले बालेनको यात्राले धेरै युवालाई राजनीतिमा चासो लिन प्रेरित गरेको उनी बताउँछिन्।
