अन्तरजातीय विवाहको दुःखद अन्त्यः झुन्डिएको अवस्थामा भेटिईन युवती, योजनाबद्ध हत्याको आरोप
जनकपुर— धनुषामा पाँच वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेर नयाँ जीवन सुरु गरेकी एक युवतीको रहस्यमय मृत्यु भएको छ। गणेशमान चारनाथ नगरपालिका–४ मा २५ वर्षीया विभाकुमारी महतो आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी छिन्।
विभाकुमारी मंगलबार दिउँसो मृत फेला परेकी हुन। प्रारम्भिक रूपमा उनले आत्महत्या गरेको देखिएको छ तर, मृतकका माइती पक्षले हत्या भन्दै आपत्ति जनाएका छन्। मुकेश धनखोटी यादवसँग प्रेम सम्बन्धमा रहेकी विभाले पाँच वर्षअघि भागेर विवाह गरेकी थिईन।
वैवाहिक जीवन बाहिरबाट सामान्य देखिए पनि भित्री रूपमा तनाव र पीडाले भरिएको आरोप परिवारजनले लगाएका छन्। मृतकका दाजु मनिषकुमार महतोका अनुसार विवाहपछि लामो समयसम्म सन्तान नहुँदा विभामाथि निरन्तर मानसिक र शारीरिक यातना दिँईदै आएको थियो।
बहिनीलाई पटक–पटक यातना दिइएको दाबी गर्दै उनले त्यही दवाव र उत्पीडनका कारण उनको ज्यान गएको आरोप लगाएका छन्। मृतकको शरीरमा नीलडाम देखिएको भन्दै परिवारले घटनालाई योजनाबद्ध हत्या हुन सक्ने आशंका व्यक्त गरेको छ।
घटनापछि आक्रोशित माइती पक्षले तत्काल प्रहरीमा पुगेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका छन्। सोही जाहेरीका आधारमा प्रहरीले मृतकका पति मुकेश धनखोटी यादवलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले घटनाको प्रकृति गम्भीर भएकाले विस्तृत अनुसन्धान भइरहेको र सबै कोणबाट छानबिन गरिने बताएका छन्।
