सप्तरीमा १४ वर्षीया बालिका रहस्यमय रूपमा बेपत्ताः गर्भवती बनाएर लुकाइएको आशंका
राजविराज— सप्तरीको सुरुङ्गा नगरपालिका–३ बाट १४ वर्षीया एक बालिका एक सातादेखि रहस्यमय रूपमा बेपत्ता भएकी छिन्। बालिकालाई गर्भवती बनाएर योजनाबद्ध रूपमा लुकाइएको हुनसक्ने आरोपसहित प्रहरीमा उजुरी दर्ता भइसकेको छ। तर, उनको अवस्था अझै अज्ञात रहनुले घटनालाई झनै संवेदनशील बनाएको छ।
ती बालिका बाल्यकालमै अभिभावकविहीन बनेकी थिइन—तीन वर्षको उमेरमा बाबुको र छ वर्षको उमेरमा आमाको मृत्यु भएपछि उनी विगत आठ वर्षदेखि स्थानीय रिता यादवको घरमा बस्दै आएकी थिइन्। सुरक्षाको नाममा राखिएकी बालिका वास्तवमा घरेलु श्रमिकका रूपमा प्रयोग भएकी थिईन। उनलाई विद्यालयमा भर्ना गरिदिने र भविष्य सुनिश्चित गरिने मौखिक आश्वासन दिइएको थियो। तर, व्यवहारमा भने उनले निरन्तर घरायसी काम गर्दै जीवन बिताइरहेकी थिइन्।
फागुन ३० गतेदेखि बालिका अचानक सम्पर्कविहीन भएपछि आफन्तहरूमा शंका उत्पन्न भयो। खोजी गर्दै जाँदा बालिका बस्ने घरमा न उनी भेटिइन्, न त उनलाई राख्ने परिवारका सदस्य नै सम्पर्कमा आए। त्यसपछि चैत ४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा औपचारिक उजुरी दर्ता गरियो, जसमा बालिकालाई गर्भवती बनाएर बेपत्ता पारिएको गम्भीर आरोप उल्लेख गरिएको छ।
बालिकाकी आफन्त रितादेवी सदाले भनेकी छिन्, ‘बालिकालाई गर्भवती बनाएपछि लुकाइएको सूचना आएको छ, त्यसैले दोषीमाथि कडा कारबाही होस्।’ उनले बालिकालाई काममा राख्ने घरका मालिक र उनका छोराविरुद्ध उजुरी दिएको बताएकी छन्। उनको आशंका छ—बालिकालाई लुकाइछिपाई अन्यत्र लगेर गर्भपतनसमेत गराइएको हुन सक्छ।
सुरुङ्गा नगरपालिका बालश्रममुक्त क्षेत्र घोषणा गरिएको स्थानीय तह हो। तर, बालिकालाई घरेलु कामदारको रुपमा राखिएको घटनाले बालश्रम र संस्थागत बेवास्ताको पनि खुलासा भएको छ। त्यसमाथि सरकारी कर्मचारीकै घरमा बालिका घरेलु कामदारका रूपमा प्रयोग भएको तथ्यले स्थानीय प्रशासनको दाबीमाथि गम्भीर प्रश्न उठाएको छ।
नगरप्रमुख गीता चौधरीले बालिका उक्त घरमा बसेको जानकारी आफूलाई भए पनि बेपत्ता घटनाबारे स्पष्ट विवरण संकलन भइरहेको बताएका छिन्। यता, प्रहरी अनुसन्धान पनि विवादमुक्त छैन। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार प्रारम्भिक अनुसन्धानले बालिकालाई उनका दिदीहरूले लगेको संकेत गरेको छ, तर ती दिदीहरू समेत सम्पर्कविहीन छन्।
‘बालिका, उनलाई राख्ने परिवार र आफन्त सबैको खोजी भइरहेको छ’ पुरीले बताएका छन्। तर पीडित पक्षले भने प्रहरीको सुस्तताप्रति असन्तुष्टि जनाउँदै आएको छ। घटनाले सामाजिक आक्रोशसमेत जन्माएको छ।
स्थानीयवासी र अधिकारकर्मीहरूले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै बालिकाको तत्काल खोजी र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। दलित अधिकारकर्मी सलिता सदाले चेतावनी दिँदै भनिन्, ‘यदि छिटो अनुसन्धान भएन भने हामी चुप लागेर बस्दैनौं।’
