संस्कृतमै शपथ लिँदै राप्रपाकी सांसद खुश्बु ओली

काठमाडौँ — प्रतिनिधि सभामा नयाँ अनुहारका रूपमा प्रवेश गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक सांसद खुश्बु ओलीले पद तथा गोपनीयताको शपथ संस्कृत भाषामा लिने निर्णय गर्दै गरेकी छिन्।

संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिका अनुसार उनले ‘देवभाषा’ संस्कृतलाई शपथको माध्यमका रूपमा रोजेकी हुन्, जुन निर्णयलाई उनले केवल भाषिक छनोट नभई सांस्कृतिक पहिचानको पुनस्र्थापनासँग जोडेर व्याख्या गरेकी छन्। राजनीतिक वृत्तमा यो विषय नयाँ बहसको विषय भएको छ।

झापाबाट प्रतिनिधित्व गर्ने ओलीले आधुनिक शिक्षाको तीव्र प्रभावसँगै नेपालको मौलिकता र प्राचीन ज्ञान परम्परा क्रमशः ओझेलमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै आफूले संस्कृत रोजेको स्पष्ट पारेकी छन्। विद्यालय तहमा अध्ययन गरेको संस्कृत अझै आफ्नो स्मृतिमा जीवित रहेको उल्लेख गर्दै उनले नेपालको सभ्यता, दर्शन र ज्ञान प्रणालीको मूल आधार नै संस्कृत भएको दाबी गरेकी छन्।

उनका अनुसार संस्कृतमा शपथ लिनु व्यक्तिगत आस्था मात्र नभई राष्ट्रिय पहिचानप्रतिको प्रतिबद्धताको प्रतीक हो। संस्कृतको अन्तर्राष्ट्रिय महत्वसमेत औंल्याउँदै उनले अमेरिका र जर्मनी जस्ता विकसित राष्ट्रहरूले समेत यस भाषामा अनुसन्धान र अध्ययनलाई प्राथमिकता दिइरहेको सन्दर्भ प्रस्तुत गरेकी छन्।

यस्तो अवस्थामा आफ्नै धरोहरप्रति उदासीन हुनु विडम्बनापूर्ण रहेको उनको तर्क छ। उनले विद्यालय तहमा पुनः संस्कृत शिक्षालाई सशक्त रूपमा पुनस्र्थापना गर्न राज्यले नीतिगत पहल गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

संघीय संसद् सचिवालयका अनुसार नेपाली बाहेकका भाषामा शपथ लिन चाहने सांसदहरूलाई दिइएको समयसीमाभित्र खुश्बु ओलीसहित करिब दुई दर्जन सांसदहरूले आफ्नो रोजाइको भाषा चयन गरिसकेका छन्।

यसपटकको शपथ ग्रहण समारोह बहुभाषिक हुने निश्चित जस्तै देखिएको छ, जहाँ संस्कृतसँगै नेपाल भाषा (नेवारी), मैथिली, डोटेली, थारु, तामाङ र बान्तावा भाषाहरूको उपस्थिति रहनेछ। यसले संसद्भित्र भाषिक विविधताको झल्को प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सचिवालयका अनुसार मातृभाषामा शपथ लिन इच्छुक सांसदहरूले शपथको बेहोरा आफ्नै भाषामा अनुवाद गरी आधिकारिक प्रतिलिपि बुझाइसकेका छन्। नवनिर्वाचित सांसदहरूलाई चैत १२ गते प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट