महावीर पुन र पद्मा अर्यालबीच सार्वजनिक भनाभन, फेसबूक पोष्टबाट भड्किएको बहसले ततायो राजनीति

काठमाडौँ— एक साधारण फेसबूक पोस्टले सुरु गरेको विवाद यतिबेला राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ। नेकपा एमालेकी नेतृ पद्मा अर्याल र सांसद् महावीर पुनबीच सामाजिक सञ्जालमै भएको तीखा शब्दयुद्धले राजनीतिक वृत्त तातो बनाएको छ।

सूचना प्रविधि र सामाजिक उत्तरदायित्व जस्तो संवेदनशील विषयसँग जोडिएको यो विवादले ‘जिम्मेवार अभिव्यक्ति’ र ‘भ्रामक सूचनाको प्रयोग’बारे गम्भीर प्रश्नहरू उठाएको छ। घटनाको सुरुआत महावीर पुनले सामाजिक सञ्जालमा गरेको एउटा पोस्टबाट भएको हो, जसमा उनले पद्मा अर्याललाई लक्षित गर्दै कडा र आक्रामक टिप्पणी गरेका थिए।

‘स्वतन्त्र मिडिया’ नामक फेसवुक पेजको स्कृनसर्ट शेयर गर्दै त्यसैका आधारमा पुनले अर्यालमाथि औला उठाएका छन्। उक्त फेसवुक पेजमा लेखिएको छ–‘सदनमा रास्वपाका नेतालाई कसरी तह लगाउनु पर्छ भन्ने हामीलाई थाहा छः एमाले सांसद पद्मा अर्याल।’

पुनको उक्त अभिव्यक्तिमा पुराना नेताहरूको कार्यशैली, उनीहरूको सोच र नयाँ पुस्ताप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाउँदै अर्यालप्रति व्यक्तिगत रूपमा कटाक्ष गरिएको देखिन्छ। उनले ‘पुराना सोचका नेताहरूलाई नयाँ पुस्ताले तह लगाइसकेको’ दाबी गर्दै अर्याललाई अहंकारी नबन्न चेतावनी दिएका थिए।

यो टिप्पणी सार्वजनिक भएपछि पद्मा अर्यालले त्यसको कडा प्रतिवाद गर्दै सामाजिक सञ्जालमार्फत नै आफ्नो धारणा सार्वजनिक गरिन्। उनले महावीर पुनजस्तो सूचना प्रविधि क्षेत्रका विज्ञसँग सहकार्य गर्ने अपेक्षा राखेको भए पनि पछिल्लो पोस्टले आफूलाई निराश बनाएको उल्लेख गरिन्। अर्यालले पुनले कुनै ‘पार्टीको मुखपत्रजस्तो फेसबूक पेज’मा राखिएको मनगढन्ते र विषाक्त सामग्रीलाई आधार बनाएर आफूविरुद्ध अनर्गल टिप्पणी गरेको आरोप लगाइन्।

उनका अनुसार आफूले नयाँ नेताहरूलाई ‘तह लगाउने’ भन्ने अभिव्यक्ति कतै पनि नदिएको दाबी गर्दै यस्तो सामग्री नियोजित रूपमा तयार गरिएको र त्यसलाई सत्यताको मूल्यांकन नगरी प्रचार गर्नु गैरजिम्मेवार व्यवहार भएको स्पष्ट पारेकी छिन्। उनले यस्तो अभिव्यक्तिले अनावश्यक द्वन्द्व सिर्जना गर्ने र समाजमा द्वेष फैलाउने खतरा रहेको उल्लेख गर्दै जिम्मेवार व्यक्तिहरूले तथ्य पुष्टि नगरी सार्वजनिक धारणा बनाउन नहुनेमा जोड दिएकी छिन्।

अर्यालले राजनीतिक र वैचारिक मतभेद स्वाभाविक भए पनि त्यसलाई आधार बनाएर गरिने व्यक्तिगत आक्रमण अस्वीकार्य हुने बताउँदै अहिलेको संवेदनशील समयमा समाजलाई विभाजित गर्ने किसिमका अभिव्यक्तिबाट टाढा रहन सबैलाई आग्रह गरेकी छिन्। उनले अन्ततः सत्यको मूल्यांकन हुने र भ्रामक सामग्रीविरुद्ध सबै सचेत हुने विश्वास व्यक्त गरेकी छन्।

यसबीच महावीर पुनको टिप्पणीले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया जन्माएको छ। केहीले पुनको अभिव्यक्तिलाई ‘सिधा र निडर’ भनेका छन् भने धेरैले त्यसलाई ‘अत्यधिक व्यक्तिगत र असभ्य’ ठहर गरेका छन्। अर्कोतर्फ, अर्यालको जवाफलाई ‘संयमित तर कडा’ प्रतिक्रिया भनेर व्याख्या गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट