लागुऔषधको नशाले ‘दानव’ बनेका किशोरद्वारा कैंचीले हानेर वृद्धाको निर्मम हत्या

रुपन्देही — शान्त र सामान्य देखिने गाउँले जीवनभित्र लागू औषधका कारण वन्दै गरेको भयावह अवस्था रुपन्देहीमा देखिएको छ। शुद्धोधन गाउँपालिका–१, सिसईका ६० वर्षीया रेनु पटवारको हत्या भएपछि यो घट्ना सतहमा आएको हो।

रेनु, आफ्नो सानो किराना पसलमार्फत जीवन गुजार्दै आएकी थिइन्। उनैको आफ्नै पसलभित्र १५ वर्षीय किशोरले निर्मम हत्या गरेका छन्। २ चैतको राती, करिब ११ बजे गाउँ चकमन्न थियो। रेनु आफ्नै पसलमा विश्राम गरिरहेकी थिईन। त्यही बेला एक किशोर ‘चुरोट किन्ने’ भन्दै आईपुगे। रेनुले किशोरलाई दुई खिल्ली चुरोट दिइन्। तर पैसा माग्नेबित्तिकै स्थिति बदलियो। सामान्य भनाभन चर्किँदै जाँदा विवादले हिंसात्मक रूप लियो र त्यसको परिणाम भयो— रेनुको हत्या।

प्रहरी अनुसन्धान अनुसार किशोरले सोही पसलमा रहेको कैँची प्रयोग गरी रेनुको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध प्रहार गरेका थिए। रेनु घटनास्थलमै ढलिन, रगतको आहल बन्यो। त्यहीँ उनको ज्यान गयो। आक्रमणपछि किशोर त्यहीँ कैँची छोडेर फरार भए।

घटनाबारे भोलिपल्ट बिहान मात्रै स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय बुटवल र रन्यौराबाट संयुक्त टोली घटनास्थल पुगेको थियो। मुचुल्का उठाएर अनुसन्धान अघि बढाइयो।

सोही क्रममा चैत ७ गते किशोर पक्राउ परे। हाल रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले वताए। प्रहरीका अनुसार पक्राउ परेका किशोर लागुऔषध सेवनकर्ता रहेको खुलेको छ।

प्रारम्भिक बयानमा उनले ‘ब्राउन सुगर’ सेवन गरेको र लागुऔषध किन्न पैसाको अभाव भएपछि चोरी गर्ने उद्देश्यले पसल पुगेको स्वीकारेका छन्। रेनुले देखेपछि विवाद भएको र आवेगमा हत्या गरेको उनको बयान छ।

डीएसपी श्रीवास्तवका अनुसार घटनापछि किशोर आफ्नै घर फर्किएका थिए। उनी नुहाईधुवाई गरी सामान्य रूपमा सुतेको अनुसन्धानबाट खुलेको छ। यसले घटनापछिको मानसिक अवस्था र अपराधप्रतिको संवेदनशीलताको अभावबारे गम्भीर प्रश्न खडा गरेको छ।

यो घटना केवल एउटा आपराधिक काण्ड वा वृद्धाको हत्या मात्र होइन, समाजको गहिरो संकटको संकेत हो। लागुऔषधको लतमा फसेको एक किशोर कसरी क्षणभरमै हिंस्रक बन्छ भन्ने यथार्थले अभिभावक, समुदाय र राज्य सबैलाई झस्काएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट