‘राजा आउ देश बचाउ’ लेख्ने व्यक्ति नै बालेनका राजनीतिक सल्लाहकार! पुरानो स्टाटस भाइरल
काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का राजनीतिक सल्लाहकार अशिम शाहको छ वर्ष पुरानो फेसवुक स्टाटस अहिले भाईरल भएको छ। राजसंस्था पुनस्र्थापनाको पक्षमा स्पष्ट अभिव्यक्ति दिएको उक्त स्टाटस अहिले भाइरल बनेपछि उनको राजनीतिक धारणा र वर्तमान भूमिकाबीचको विरोधाभासमाथि तीव्र प्रश्न उठ्न थालेका छन्।
२०७७ पुस ५ गते लेखिएको उक्त स्टाटसमा शाहले ‘सुधारिने मौका अब राजालाई दिनुपर्छ, राजा आउ देश बचाउ’ भन्ने सन्देश सार्वजनिक गरेका थिए। त्यो समय नेपालको राजनीतिमा तीव्र उतारचढाव चलिरहेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए, उक्त कदमले संवैधानिक बहस चर्किएको थियो र अन्ततः सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउँदै संसद पुनःस्थापना गराएको थियो।
त्यतिबेला सक्रिय राजनीतिक भूमिकामा नरहेका अशिम शाह पछि भने नयाँ राजनीतिक ध्रुवीकरणको केन्द्रमा देखिए। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना हुँदा सुरुदेखि नै जोडिएका उनी पार्टीको रणनीतिक समन्वयमा सक्रिय रहे। विशेषतः वर्तमान प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछाने बीचको सहकार्य स्थापित गराउन उनको भूमिकालाई महत्वपूर्ण मानिन्छ।
यही पृष्ठभूमिमा अहिले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको जिम्मेवारी सम्हालिरहेका व्यक्तिको पुरानो राजावादी अभिव्यक्ति सार्वजनिक भएपछि आलोचना चुलिएको छ। लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गरिरहेको सरकारमा उच्च तहको सल्लाहकारले विगतमा राजसंस्था पुनस्र्थापनाको माग गरेको विषयलाई लिएर राजनीतिक तथा सामाजिक सञ्जालमा प्रश्नहरूको वर्षा भइरहेको छ।
शाह स्वयंले उक्त स्टाटसबारे सार्वजनिक रूपमा कुनै स्पष्टिकरण दिएका छैनन्, तर उनको पुरानो धारणा र वर्तमान भूमिकाबीचको अन्तरलाई लिएर सत्ता समीकरणभित्रै पनि असहजता देखिन थालेको विश्लेषण भइरहेको छ। आलोचकहरूले यसलाई केवल व्यक्तिगत अभिव्यक्ति मात्र नभई नीति–निर्माण तहमा प्रभाव पार्न सक्ने संवेदनशील विषयका रूपमा हेरेका छन्।
यस घटनाले नेपाली राजनीतिमा व्यक्तिको अतीत र वर्तमानबीचको सम्बन्ध कति महत्वपूर्ण हुन्छ भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ। विशेषगरी सत्ताको केन्द्रमा रहेका व्यक्तिहरूका विगतका धारणा, सार्वजनिक अभिव्यक्ति र तिनको राजनीतिक विश्वसनीयतामाथि पर्ने प्रभावबारे अब अझ गहिरो समीक्षा हुने संकेत देखिएको छ।

