स्मृतिलाई ‘महँगो’ पर्‍यो गृहमन्त्रीको आलोचनाः अन्तर्वार्ताको बहानामा बोलाएर पक्राउ, ‘चुप वस्न’ चेतावनी

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङको आलोचना गरेका कारण अन्तर्वार्ताको बहानामा बोलाएर जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिनालाई आज विहान प्रहरीले पक्राउ गरेर छोडेको खुलासा भएको छ।

सामाजिक सञ्जालमार्फत निरन्तर आलोचना गर्दै आएकी तिमिल्सिनालाई प्रहरीले झुक्याएर नियन्त्रणमा लिएको र पछि चेतावनीसहित रिहा गरेको दाबी बाहिर आएको छ। स्रोतका अनुसार तिमिल्सिनालाई बिहान अपरिचित नम्बरबाट अन्तर्वार्ताका लागि भन्दै अनामनगर बोलाइएको थियो।

तर उनी त्यहाँ पुगेपछि सादा पोशाकमा खटिएका प्रहरीले ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिई भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसर पु¥याएका थिए। उनलाई करिब एक घण्टा सोधपुछ गरिएको र त्यसक्रममा गृहमन्त्रीको आलोचना नगर्न चेतावनी दिइएको स्रोतको दाबी छ।

यो कदमलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयासका रूपमा व्याख्या गरिएकोे छ। केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गर्दा यस्ता घटना नदेखिएको तर अहिले नयाँ सरकार बनेपछि आलोचनाप्रति असहिष्णुता बढेको संकेत देखिएको कतिपयले प्रतिक्रिया जनाएका छन्।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार गठन भएसँगै आलोचनामाथि दबाब बढेको आरोप उनीहरूले लगाएका छन्। यसरी, अन्तर्वार्ताको बहानामा बोलाएर नियन्त्रणमा लिनु, औपचारिक प्रक्रिया बिना चेतावनी दिनु र त्यसपछि रिहा गर्नु जस्ता घटनाक्रमले विधि र प्रक्रिया पालनाको विषयमा समेत गम्भीर बहस सिर्जना गरेको छ।

यद्यपि प्रहरीले यस घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। तर तिमिल्सिनाको दाबी र उनको संगठनको प्रतिक्रिया सार्वजनिक भएसँगै यो विषय अभिव्यक्ति स्वतन्त्रता र कानुनी प्रक्रियाको पारदर्शितासँग जोडिएको गम्भीर मुद्दाका रूपमा उभिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट