रोल्पामा ५ कक्षा पढ्ने १२ वर्षीया बालिकालाई ब*लात्कार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौँ— रोल्पाको लुङग्रीमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेपछि प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।
लुङग्री स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ। चैत १७ गते भएको भनिएको उक्त घटनापछि बालिकाका आफन्तहरूले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रारम्भिक विवरणअनुसार शिक्षक खड्काले बालिकालाई विभिन्न प्रलोभन देखाएर एकान्तमा बोलाई बलात्कार गरेको आरोप छ।
घटना सार्वजनिक भएसँगै स्थानीयवासी, अभिभावक र सरोकारवाला निकायहरूमा तीव्र आक्रोश देखिएको छ। बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी बोकेका व्यक्तिमाथि नै यस्तो आरोप लाग्नु केवल व्यक्तिगत अपराध मात्र नभई संस्थागत असफलताको संकेत भएको भन्दै कडा प्रतिक्रिया आएको छ।
दोषीमाथि कठोर कारबाही हुनुपर्ने, पीडितलाई न्यायसहित मनोसामाजिक सहयोग र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग निरन्तर उठिरहेको छ।
