सप्तरीमा संरक्षणमा रहेकी बालिकामाथि यौन शोषण, गर्भपतन गराउन अपहरण

राजविराज — संरक्षणको नाममा राखिएकी सप्तरीको सुरुङ्गा नगरपालिका–३ की १४ वर्षीया दलित बालिकामाथि भएको यौन शोषण र त्यसलाई ढाकछोप गर्न गरिएको प्रयासले गम्भीर आपराधिक स्वरूप लिएको छ।

बुवाआमा गुमाएकी ती बालिकालाई स्थानीय रीता यादवले संरक्षणको जिम्मेवारी लिएकी थिइन्। तर, बालिकालाई विगत आठ वर्षदेखि सोही घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिएको थियो। चैत ३ गते बालिका अचानक बेपत्ता भएपछि आफन्तहरूले खोजी सुरु गरेका थिए। बालिकाका दिदीहरू पनि सम्पर्कविहीन भएपछि शंका बढ्दै गयो र अन्ततः इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गरियो।

उजुरीपछि गरिएको प्रारम्भिक अनुसन्धानमा रीता यादवका श्रीमान् महेश्वर यादवले बालिकामाथि विगत केही महिनादेखि निरन्तर बलात्कार गरेको र आफन्त धर्म यादवको सहयोगमा गर्भपतन गराउन उनलाई बेपत्ता पारेको तथ्य खुलेको थियो। साथै, घटनालाई लुकाउन बालिकाका दिदीहरूलाई समेत नियन्त्रणमा राखिएको पाइएको छ।

बालिकाका दिदीहरूलाई भारतको बिहार राज्यस्थित जोकहीमा बन्धक बनाएर राखिएको थियो। करिब डेढ सातापछि उनीहरू त्यहाँबाट उम्किन सफल भएपछि प्रहरीको सम्पर्कमा पुगेका थिए। उनीहरूको बयानका आधारमा प्रहरी टोली घटनास्थल पुगेको र बालिकाको उद्धार गरिएको हो।

दिदीहरूको भनाइअनुसार महेश्वर यादवले ‘बहिनी बिरामी छ’ भन्दै फोन गरेर सिरहाको लहान बोलाएका थिए। लहानस्थित एक क्लिनिकमा पुग्दा बालिकाको गर्भपतन गराइसकिएको अवस्था पाइएको उनीहरूले बताएका छन्। पीडित बालिकाले आफूलाई ३–४ महिनादेखि यौन शोषण गरिएको र त्यसकै कारण गर्भ बसेको जानकारी दिएकी थिइन्।

लहानबाट फर्किन खोज्दा महेश्वरले धम्की दिँदै तीनै जना दिदीबहिनीलाई जबरजस्ती बिहार पु¥याएर बन्धक बनाएको खुलेको छ। त्यहाँ पनि घटनाबारे कसैलाई जानकारी नदिन पटक–पटक डर देखाइएको थियो। पछि बहिनीलाई त्यहीँ राखेर दुई दिदीलाई मात्र फर्किन दिइएको थियो।

घर फर्किएपछि उनीहरूले प्रहरीमा दिएको बयानपछि प्रहरी टोली उनीहरूसँगै जोकही पुगेर बालिकाको उद्धार गरेको हो। गत शुक्रबार उद्धार गरिएकी बालिकालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ। अस्पताल स्रोतका अनुसार उनको यसअघि नै गर्भपतन गराइसकिएको पुष्टि भएको छ।

हाल बालिकालाई सेफ हाउसमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। उनका अनुसार स्वास्थ्य परीक्षण रिपोर्ट प्राप्त भइसकेको छ भने संलग्न आरोपितहरू फरार रहेका छन् र खोजी कार्य जारी छ।

यता, पीडित परिवार र दलित समुदायका अगुवाहरूले भने प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार प्रहरीले जाहेरीको विवरण स्पष्ट नगरी आरोपीलाई उन्मुक्ति दिन खोजिरहेको आशंका गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट