सप्तरीमा होस्टेलभित्र १४ वर्षीय बालकको शंकास्पद मृत्यु प्रकरणमा सञ्चालक र पाले पक्राउ

राजविराज — सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टेलभित्र १४ वर्षीय बालक मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रारम्भिक रूपमा आत्महत्या भनिएको यो घटनामा एकपछि अर्को ‘शंकास्पद’ पक्षहरू खुल्न थालेपछि प्रहरीले स्कुलका सञ्चालक र एक कर्मचारीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० का ४१ वर्षीय भोला मण्डल छन्। चौधरी उक्त स्कुलका सञ्चालक हुन् भने मण्डल होस्टेलमा पालेका रूपमा कार्यरत थिए। दुवै जनामाथि आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए।

घटनाको केन्द्रमा रहेका बालक खडक–९ लालपट्टीका धर्मेन्द्रकुमार साह हुन्, जो विगत सात वर्षदेखि सोही होस्टेलमा बस्दै आएका थिए। चैत ७ गते शनिबार बिहान उनी झुन्डिएको अवस्थामा फेला परेपछि स्कुल प्रशासनले उनलाई अस्पताल पु¥याएको थियो। तर, परिवारजनलाई तत्काल जानकारी नदिई ढिलो गरी खबर गरिएको तथ्य बाहिरिएपछि घटनाप्रति थप आशंका उत्पन्न भएको छ।

मृतकका परिवारले यो घटनालाई सामान्य आत्महत्या मान्न अस्वीकार गरेका छन्। बालककी आमा ममता साहले आफ्नो छोरामाथि स्कुल सञ्चालककी श्रीमती शोभासहितले कुटपिट गरेको आरोप लगाउँदै आएकी छन्। उनले घटनाको समयमा होस्टेलको सीसीटीभी समेत बन्द राखिएको दाबी गरेकी छन्।

ममताको यो दावीले घटनालाई अझै रहस्यमय बनाएको छ। परिवारका अनुसार छोराको व्यवहारमा कुनै असामान्य संकेत नदेखिएको अवस्थामा अचानक यस्तो घटना हुनु स्वाभाविक नभएको उनीहरूको भनाइ छ।

तर, घटनामा मुख्य रूपमा नाम जोडिएकी शोभा चौधरीलाई भने प्रहरीले अझै नियन्त्रणमा लिएको छैन। यस विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको भन्दै कुनै निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ। घटनास्थलको परिस्थिति, उपलब्ध प्रमाण र संलग्न व्यक्तिहरूको बयानका आधारमा सत्यतथ्य पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट