अमेरिकाबाट फेसबुकमा बलात्कार आरोपपछि बले पक्राउ, तर जटिल दखिन्छ कानुनी प्रक्रिया

काठमाडौँ– अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमाथि बलात्कार भएको आरोप सार्वजनिक गरेपछि कलाकार सागर लम्साल ‘बले’ नेपालमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त आरोपलाई आधार मानेर उनलाई पक्राउ गरेसँगै यो प्रकरणले कानुनी, प्रक्रियागत र प्रमाण संकलनका जटिल प्रश्नहरू उब्जाएको छ।

प्रहरी स्रोतका अनुसार मुलुकी अपराध संहिता अन्तर्गत नेपाल बाहिर नेपाली नागरिकमाथि अपराध भए पनि नेपालभित्रै गरेको सरह कारबाही गर्न सकिने प्रावधान रहेकाले पक्राउको कानुनी आधारमा समस्या देखिँदैन। यही प्रावधानअन्तर्गत यसअघि विदेशमा भएको अपराधमा संलग्न भई नेपाल फर्किएका अभियुक्तहरूलाई समेत पक्राउ गरी अनुसन्धान गरिएको उदाहरणहरू छन्।

तर यस प्रकरणमा अनुसन्धान प्रक्रिया भने सहज छैन। बलात्कारजस्तो गम्भीर अपराधमा अनुसन्धानका लागि पीडितको औपचारिक जाहेरी, स्वास्थ्य परीक्षण प्रतिवेदन र घटनास्थलको मुचुल्का सबैभन्दा महत्वपूर्ण आधार मानिन्छ। यहाँ तीनवटै पक्षमा जटिलता देखिएको छ।

पीडित युवती हाल अमेरिकामै रहेको र त्यहाँ उनले औपचारिक रूपमा उजुरी दिएको कुनै पुष्टि नभएको अवस्थाले स्वास्थ्य परीक्षणको सवाल जटिल बनेको छ। यदि अमेरिकामै उजुरी दर्ता भई स्वास्थ्य परीक्षण भएको भए त्यसको प्रतिवेदन महत्वपूर्ण प्रमाण बन्न सक्थ्यो। तर उजुरी नै नपरेको अवस्थामा त्यस्तो परीक्षण सम्भव नहुने देखिन्छ। यस्तो अवस्थामा पीडित नेपाल आएर मात्रै स्वास्थ्य परीक्षणसम्बन्धी प्रक्रिया अघि बढाउन सक्ने अवस्था देखिन्छ।

अर्कोतर्फ, घटनास्थलको मुचुल्का तयार गर्ने विषय अझ जटिल बनेको छ। घटना अमेरिकामा भएको र त्यहाँको प्रहरीले अनुसन्धान प्रक्रिया नै सुरु नगरेको अवस्थामा घटनास्थलको औपचारिक कागजीकरण हुन सकेको छैन। नेपाल र अमेरिका बीच अपराधसम्बन्धी प्रमाण आदान–प्रदानका लागि परस्पर कानुनी सहायता सन्धि नभएकाले नेपाल प्रहरीले प्रत्यक्ष रूपमा अमेरिकामा गएर मुचुल्का तयार गर्ने वा प्रमाण संकलन गर्ने कानुनी बाटो पनि बन्द जस्तै देखिन्छ।

प्रहरी अधिकारीहरूका अनुसार यस्ता अवस्थामा अनुसन्धान मुख्यतः पीडितको बयान, डिजिटल प्रमाण, सम्भावित साक्षी तथा परिस्थितिजन्य तथ्यमा आधारित हुन सक्छ। सामाजिक सञ्जालमा गरिएको सार्वजनिक अभिव्यक्ति प्रारम्भिक आधार बन्ने भए पनि अदालतमा प्रमाणको रूपमा स्थापित हुन थप बलियो आधार आवश्यक पर्छ।

यो घटनाले सामाजिक सञ्जालमार्फत उठाइने गम्भीर आरोपहरू र त्यसपछि सुरु हुने कानुनी प्रक्रियाबीचको दूरीलाई पनि उजागर गरेको छ। एकातर्फ पीडितले आफ्नो आवाज सार्वजनिक गरेपछि तत्काल सामाजिक दबाब सिर्जना हुन्छ भने अर्कोतर्फ कानुनी प्रक्रियाले ठोस प्रमाण, विधिसम्मत प्रक्रिया र अन्तर्राष्ट्रिय सहकार्यको माग गर्छ।

हाल प्रहरीले बलेमाथि अनुसन्धान अगाडि बढाइरहेको छ। तर यो प्रकरणको अन्तिम निचोड भने पीडितको औपचारिक सहभागिता, प्रमाण संकलनको क्षमता र कानुनी प्रक्रियाको मजबुत आधारमा निर्भर रहने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट